Comments Add Comment

कुशल-आसिफ : पहिले प्रतिस्पर्धी, अहिले शानदार ओपनिङ जोडी

६ वैशाख, काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दुई खेल जित्दै फाइनल दाबेदारी बलियो बनाएको छ । नेदरल्याण्ड्स र मलेसियालाई समान ९ विकेटले पराजित गर्दा नेपालका कुशल भुर्तेल र आसिफ शेखले शानदार ब्याटिङ गरे ।

पहिलो विकेटका लागि दुवै खेलमा शतकीय साझेदारी, डेब्यु खेलमा दुवैको अर्धशतक, अनि टी–२० अन्तर्राष्ट्रियमा कुशलको लगातार दोस्रो अर्धशतक । यसअघि सुनिंदै आएको नेपालको ओपनिङ समस्या, नेपालको ब्याटिङ चलेन जस्ता विषय अहिले सामसुम भएको छ । त्यो काम कुशल र आसिफले गरेका छन् ।

शनिबार नेदरल्याण्ड्सविरुद्ध घरेलु मैदानमा पहिलो टी–२० सिरिजको खेलअघिसम्म पनि नेपालको ओपनिङ कसले गर्ने निश्चित थिएन । कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने तय थियो, उनलाई कसले साथ दिने भन्ने मात्र प्रश्न थियो ।

कुशल भुर्तेल र आसिफ शेख दुवैले यसअघि टी–२० अन्तर्राष्ट्रिय खेलेका थिएनन् । दुवै जना ज्ञानेन्द्रसँगै ओपनिङ गर्न प्रतिस्पर्धामा थिए । आसिफले घरेलु प्रतियोगितामा एपीएफबाट ओपनिङ गर्दै आएका छन् ।

त्यसप्रति सन्तुष्ट देखिएका नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले शुरुमा एक जना खेलाडी योजना भएपनि पछि परिवर्तन भएको बताए । ‘पहिला दुवै जना एक स्थानका लागि फाइट गरिरहेका थिए । दुवै खेलाडी राम्रा छन्,’ उनले भने, ‘पारस घाइते भए । अनि दुई जनाले अवसर पाए ।’

उनले यू–१९ लेभलमा नेपालको लागि अन्तर्राष्ट्रिय नेतृत्व समेत गरिसकेका छन् । यस्तै शुरुमा ‘लोअर अर्डर’मा फिनिसरको रोलमा खेल्ने कुशल पछिल्लो ३ वर्ष ओपनिङमा खेलिरहेका छन् ।

तर त्रिकोणात्मक सिरिजमा ज्ञानेन्द्रसँग कसले ओपनिङ गर्ने टुंगो थिएन । जब अघिल्लो दिन चोटका कारण पारस खड्का टिमबाट बाहिरिए, तब नेपाली टिमको ब्याटिङ अर्डर चेन्ज भयो ।

नेदरल्याण्ड्सविरुद्ध कुशल र आसिफले ओपनिङ गरे । उनीहरुले न पहिलो पटक टी–२० अन्तराष्ट्रिय खेल खेलजस्तो देखियो, न नेपालको ओपनिङ समस्या दोहोरियो । बरु लोभलाग्दो ब्याटिङ गरे । अर्धशतक हाने, पहिलो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरे ।

त्यसप्रति सन्तुष्ट देखिएका नेपाली टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले शुरुमा एक जना खेलाडी योजना भएपनि पछि परिवर्तन भएको बताए । ‘पहिला दुवै जना एक स्थानका लागि फाइट गरिरहेका थिए । दुवै खेलाडी राम्रा छन्,’ उनले भने, ‘पारस घाइते भए । अनि दुई जनाले अवसर पाए ।’

कुशल र आसिफले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेपछि नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर पूरा गरेको थियो । दोस्रो खेलमा पनि दुबैले त्यही खेल दोहोर्‍याए र मलेसियाले दिएको १०९ रनको लक्ष्य नेपालले सहजै भेट्टायो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि लगातार दुई अर्धशतक हान्ने कुशल भुर्तेल पहिलो खेलाडी बनेका छन् । ‘एकदम राम्रो फिलिङ छ, खुशी लागिरहेछ । आज रिपिट गर्दा प्रेसर केही थिएन,’ उनले भने, ‘मैले यसअघि धेरै महिनेत गरेको थिए, त्यसैलाई अहिले प्रयोग गर्दैछु ।’

दुवैले अविजित रहँदै खेल जित्न चाहेका थिए । तर खेल जित्न ८ रन आवश्यक हुँदा आसिफ आउट भए । उनले ४२ रन योगदान गरे । कुशलले ४१ बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा अविजित ६१ रन बनाए ।

कुशल र आसिफ टी–२० अन्तर्राष्ट्रियमा डेब्यूपछि लगातार दुई खेलमा शतकीय ओपनिङ साझेदारी गर्ने जोडीसमेत बने । ‘म कसरी खेल्ने, आसिफ कसरी खेल्ने भनेर हामीलाई एउटा रोल दिइएको छ टिममा,’ लगातार दुई अर्धशतक हानेपछि कुशलले भने, ‘आजको खेलमा टार्गेट पनि कम थियो । त्यस्तो केही सोच्नु परेन । हामी नटआउट आउने लक्ष्य थियो ।’

घरेलु क्रिकेटमा तीन वर्षदेखि ओपनिङ गर्दै आएका कुशलले राष्ट्रिय टिममा पनि ओपनिङ गर्न खासै समस्या नभएको बताए ।

सिरिजमा लगातार दुई खेल जित्दै नेपालले ४ अंक जोडिसकेको छ । सिरिजअघि यस्तो सोच्नुभएको थियो भन्ने प्रश्नमा वाटमोरले भने, ‘खेल्नुअघिसम्म के हुन्छ भने तपाईंलाई थाहा हुँदैन  तर खेल्नु अघि राम्रो गर्ने योजना हुन्छ,’ वाटमोरले भने, ‘दुई खेलमा अहिलेसम्म बलियो प्रदर्शन भएको छ ।’

वाटमोरले मंगलबार नेदरल्याण्ड्ससँग हुने प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा राखेका छन् । नेदरल्याण्ड्सको पूर्ण टिम नभएको तथा उता र यताको मौसम फरक रहेकाले खेलमा केही फरक देखिएको पनि बताए ।

कप्तान ज्ञानेन्द्र मल्लले बलरहरुले रोल अनुसार काम गरेको र राम्रो चेज भएको बताए । ‘विकेट हेरेर बलर चेन्ज गरेको हो । बलरलाई दिएको रोल अनुसार काम गरे । यो राम्रो चेज रह्यो,’  मल्ले खेलपछि भने, ‘आसिफ शेखले पनि नटआउट रहँदै फर्किएको भए अझ राम्रो हुने थियो ।’

ज्ञानेन्द्रले मंगलबारदेखि रंगशालामा दर्शक प्रवेश गर्न नपाउने सन्दर्भमा नेपाली समर्थकलाई धन्यवाद पनि दिए । उनले भने, ‘भोलिदेखि दर्शक देखिएला नदेखिएला तर अहिलेलाई धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment