Comments Add Comment

उपत्यकाका शक्तिपीठमा सामाजिक दूरी कायम राखी भक्तजनलाई दर्शन

७ वैशाख, काठमाडौँ । चैत्र शुक्ल अष्टमीमा मनाइने चैते दशैँका अवसरमा काठमाडौँ उपत्यकाका शक्तिपीठमा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम राखी भक्तजनलाई दर्शन गराइएको छ ।

कोरोना जोखिम नभएको बेलाजस्तो भक्तजन मन्दिरमा गएका छैनन् । गएका भक्तजन पनि मास्क लगाई भौतिक दूरी कायम गरेर दर्शनगर्ने बित्तिकै फर्कने गरेका छन् ।

उपत्यकाको प्रमुख शक्तिपीठ गुह्येश्वरीमा दुई वर्षअघिको चैते दशैँमा जस्तो भक्तजनको भीड नलागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गीले राससलाई जानकारी दिए। गत वर्षको चैते दशैँमा भने कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले भक्तजनलाई दर्शन गर्न दिइएको थिएन । नित्यपूजा, बलिपूजा, कालरात्रिपूजालगायत विधि भने गत वर्ष पनि पूरा गरिएको थियो ।

आएका भक्तजनलाई दूरी कायम गरी सहजरुपमा दर्शन गराएर फर्काइएको उनले सुनाए । चैत्र शुक्ल अष्टमीका अवसरमा गरिने पूजा विधि भने मन्दिरमा पूरा गरिएको छ । बेलुकी गुठी संस्थानले कालरात्रि पूजासहित पञ्चबलि दिएर तान्त्रिक विधि पूरा गर्ने समितिले जनाएको छ । यसको व्यवस्थापन संस्थानले नै गर्ने गरेको छ ।

उपत्यकाको पनि मुख्य शहर बाहिरका ग्रामीण भेगमा रहेका शक्तिपीठमा भने बढी भक्तजन दर्शनका लागि गएका छन् । गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको सुन्दरीमाई मन्दिरमा भने विगत वर्षमा जस्तै भक्तजन गएका छन् ।

अलि टाढाबाट आउने भक्तजन नआए पनि नजिकका प्राय : भक्तजन चैत्र शुक्ल पक्षको नवरात्रमा मन्दिर दर्शन गर्न आएको मन्दिर व्यवस्थापन समितिका सदस्य सुशील सिम्खडाले जानकारी दिए । रमणीय स्थलमा भएको मन्दिर भएकाले पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैगरी गोकर्णेश्वर–५ मै रहेको चामुण्डा मन्दिरमा पनि भक्तजनले भौतिक दूरी कायम गरेर दर्शन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर नगरक्षेत्र र काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध क्षेत्रमा चामुण्डा रथयात्रा गरिन्छ ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड बमोजिम रथयात्रा चलाउन मंगलबार बिहान मन्दिर व्यवस्थापन समिति, वडा कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धले बैठक गरी दिउँसो १ बजेदेखि रथयात्रा चलाउने निर्णय गरेको वडाध्यक्ष नारायणबहादुर सुवेदीले  जानकारी दिए । रथयात्रामा दूरी कायम गराउन प्रहरी र स्वयंसेवकसमेत परिचालन गरिने छ ।

शङ्खरापुर नगरपालिकामा रहेको बज्रयोगिनी मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराइएको छ ।

यसैगरी उपत्यकाका जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, कङ्केश्वरी, बिजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भाटभटेनीलगायत शक्तिपीठमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दर्शन गराइएको छ । यी शक्तिपीठमा गुठी संस्थानलगायत सरकारी निकायबाट हुने बलिसहित पूजा जारी रहने जानकारी गराइए पनि भक्तजनले भने बलिसहित पूजा गरेका छैनन् ।

उपत्यकाबाहिरका मुख्य शक्तिपीठमा पनि चैते दशैँका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ । सरकारले सोमबार मन्दिरलगायत सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी मानिस भीडभाड नगर्ने गरी मापदण्ड जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment