Comments Add Comment

सगरमाथा आरोहण मार्गमा भीड कम गर्न कोटा तोकियो

फाइल तस्वीर

८ वैशाख, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणको मौसम जारी रहँदा सरकारले आरोहणमार्गमा हुने भीडभाड कम गर्न कोटा तोकेको छ । पर्यटन विभागले सन् २०२१ को वसन्त ऋतुको आरोहण व्यवस्थित गर्न र आरोहण मार्गमा हुने जोखिम कम गर्न यस्तो व्यवस्था गरेको जानकारी दिएको छ ।

विभागका अनुसार सगरमाथा आरोहण अनुमति लिएका व्यक्तिले सगरमाथा चुचुरोमा आइसफल डाक्टरले डोरी पुर्‍याएको मितिबाट अनुकूल मौसम हेरेर आरोहण थाल्न सक्नेछन् । यसका लागि पहिलो चरणमा आरोहण अनुमति पत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले पहिलो चरणमा चुचुरो जान पाउने भएका छन् । उनीहरु फर्किसकेपछि आरोहण अनुमति पत्र नम्बर  ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोहीले चुचुरोमा जान पाउने भएका छन् । यसले सबै आरोही एकै पटक आरोहणमार्गमा लामबद्ध हुँदा हुने जाम कम गर्न सहयोग पुग्ने विभागको अपेक्षा छ ।

आरोहण अनुमति पत्र नम्बर ७२ देखि पछि अनुमति लिएका आरोहीले भने त्यसपछिको अनुकूल मौसम हेरेर आरोहणमा जानुपर्नेछ । यसरी हुने व्यवस्थापनले समेत आरोहणमा असहज परिस्थिति उत्पन्न हुने देखिएमा भने सम्बन्धित एजेन्सीले आपसी सहमति र समन्वयमा एक पटकमा १५०–१७० जनाको संख्या नबढ्ने गरी आरोहण व्यवस्थापन गर्न सक्ने भएका छन् । यसरी योजना परिवर्तन गर्दा स्थानीय आरोहण व्यवस्थापन गर्ने एजेन्सीले नै आरोहीको सुरक्षित आरोहणको प्रबन्ध गर्नुपर्ने भएको छ ।

यसअघि सन् २०१९ को आरोहण मौसममा सगरमाथासहितका हिमालमा आरोहीले लामबद्ध भएर आरोहण गर्नुपरेको थियो । यसले सुरक्षामा चुनौती थपिएको भन्दै नेपालको आलोचना समेत भएको थियो । पछिल्लो व्यवस्थापनबाट एक पटकमा बढीमा १७० जना मात्र आरोहण मार्गमा हुने हुँदा जोखिम कम हुने विश्वास विभागको छ ।

हिमाल आरोहणका दौरान अनुमति प्राप्त हिमालको आरोहण रुटमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो रुटमा रहँदा आफ्नो समूहमा मात्र रहन समेत विभागले आरोहीलाई सचेत बनाएको छ । रुटमा अनावश्यक भीडभाड नगर्न समेत पथप्रदर्शकले आरोहीलाई आग्रह गर्नुपर्ने भएको छ ।

एक हिमालबाट फर्केपछि अर्को हिमाल जान पीसीआर अनिवार्य

यसैबीच, यो वर्ष एउटै सिजनमा दुई हिमालको आरोहणमा जान चाहने पर्यटकले एक हिमालबाट फर्केपछि पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । पीसीआर परीक्षणमा नेगेटिभ रिपाेर्ट आएमा मात्र पर्यटकले अर्को हिमाल आरोहणको अनुमति पाउने छन् । आरोहणका क्रममा कुनै पनि पर्यटकको खोजी तथा उद्धार गर्नु परेमा पर्यटन विभाग र पर्यटन प्रहरी इकाईमा अनिवार्य जानकारी गराउनुपर्ने प्रावधान समेत तोकिएको छ । यसका लागि विभागले हटलाइन नम्बर समेत दिएको छ ।

सगरमाथामा ३७१ जनालाई अनुमति

पर्यटन विभागका अनुसार मंगलबारसम्म सगरमाथामा मात्र ३९ समूहका ३७१ जनाले आरोहण अनुमति लिएका छन् । यसमध्ये ८७ जना महिला छन् । यो सिजनमा कुल १६ वटा हिमाल चढ्न आरोही आएका छन् ।

१६ हिमाल चढ्न ७४ समूहका ६५९ जना पर्वतारोहीले विभिन्न हिमाल आरोहण गर्नेछन् । यस आरोहण सिजनमा सरकारले रोयल्टी मात्र ४९ करोड ४२ लाख रुपैयाँ संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment