Comments Add Comment

कोलकाता चेन्नाईसँग पराजित

९ वैशाख, काठमाडौं । आन्द्रे रसेल र प्याट कमिङ्सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे पनि कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा चेन्नाईले कोलकातालाई १८ रनले पराजित गर्‍यो । तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोडेको चेन्नाई रोयल च्यालेन्जर्स बेंगलोरलाई रन रनेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । चार खेल खेल्दा तेस्रो हार व्यहोरेको कोलकाता २ अंकसहित छैटौं स्थानमा छ ।

मुम्बईस्थित वाङखडे स्टेडियममा चेन्नाईले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको कोलकताले १९.१ ओभरमा सबै विकेट गुमाएर २०२ रन मात्र बनायो ।

कोलकाताका लागि प्याट कमिङ्सले अविजित रहँदै ६६ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

एक समय ३५ रन हुँदा ५ विकेट गुमाएको कोलकताका लागि आन्द्रे रसेल र दिनेश कार्तिकले ८१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । रसेलले २२ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ५४ रन बनाएर आउट भए । त्यसपछि कमिङ्सले इनिङ्स सम्हाले । तर अर्को छेउबाट निरन्तर विकेट जाँदा उनको पनि केही चलेन ।

दिनेश कार्तिकले २४ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन जोडे । आठौं नम्बरमा ब्याटिङ गरेका कमिङ्सले ३४ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा अविजित ६६ रन जोडे ।

चेन्नाईका दीपक चाहरले ४ विकेट लिए । यस्तै लुंगी एनगिडीले ३ तथा साम कुरानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

चेन्नाईका लागि ओपनर फाप डु प्लेसिसले अविजित रहँदै ९५ रन बनाए । उनले ६० बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर रुतुराज गायकवाडले ४२ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६४ रन जोडे । मोइन अलीले २५ र कप्तान महेन्द्र सिंह धोनीले १७ रन बनाए ।

कोलकताका वरुण चक्रवर्ती, सुनील नारिन र आन्द्रे रसेलले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment