Comments Add Comment

व्यापार घाटा १० खर्ब नाघ्यो, आयात र निर्यात दुवै वृद्धि

फाइल तस्वीर

९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको ९ औं महिनासम्म नेपालको व्यापार घाटा १० खर्ब नाघेको छ । कोरोना महामारीका बाबजुत नेपालको वैदेशिक व्यापारमा भने असर पुगेको छैन । यस अवधिमा आयात र निर्यात गत वर्षको यसै अवधिको तुलनामा बढ्दा समग्र वैदेशिक व्यापार र व्यापार घाटामा समेत उल्लेख्य वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागका अनुसार चालु आवको चैत मसान्तसम्म नेपालको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । आयातमा भएको उच्च वृद्धिले व्यापार घाटा चुलिएको हो । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशत बढी हो ।

आयातमा उच्च वृद्धि

विभागको तथ्यांक अनुसार नेपालमा वस्तु आयातमा उच्च वृद्धि भएको छ । चैतसम्म कुल ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ छ । यो गत आवको यसै अवधिको तुलनामा १३.१२ प्रतिशतले बढी हो ।

गत आवमा नेपालले ९ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । चैत महिनामा मात्र नेपालले १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो चालु आर्थिक वर्षको एकै महिनामा भएको उच्च आयात हो । फागुन मसान्तसम्म कुल ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

९ महिनामा मात्र ९४ अर्ब ७६ करोडको वस्तु निर्यात

आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । यद्यपि नेपालमा निर्यात भने आयातको तुलनामा निकै कम हुने गरेको छ । जसले व्यापार घाटा बढाउन समेत भूमिका खेलेको छ । ९ महिनाको अवधिमा नेपालले मात्र ९४ अर्ब ७६ करोड ८० अर्ब ७१ करोड रुपैयाँको निर्यात गर्न सकेको छ । यो निर्यातले नेपालको पेट्रोलियम पदार्थ आयात समेत धान्न सक्दैन । चालु आवमा वस्तु निर्यातमा गत आवको यसै अवधिको तुलनामा २०.२३ प्रतिशत बढी निर्यात भएको छ । गत आवको यसै अवधिमा वस्तु निर्यात ७८ अर्ब ८१ करोड रुपैयाँ बराबरको भएको थियो ।

कुल वैदेशिक व्यापारको आकार १२ खर्ब माथि

९ महिनाको अवधिमा कुल वैदेशिक व्यापारको आकार १२ खर्ब माथि छ । तथ्यांक अनुसार यस अवधिमा कुल १२ खर्ब ६ अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । कुल वैदेशिक व्यापारको आकार अघिल्लो आवको यसै अवधिको तुलनामा १३.६४ प्रतिशतले बढी भएको छ । अघिल्लो आवको यसै अवधिमा कुल वैदेशिक व्यापारको आकार १० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । नेपालको वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.१४ प्रतिशत र निर्यातको हिस्सा मात्र ७.८६ प्रतिशत रहेको छ ।

१ खर्ब ४८ अर्ब माथिको पेट्रोलियम पदार्थ आयात

नवौं महिनासम्म आइपुग्दा यो वर्ष नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरेको छ । यस्तो आयात १ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ बराबरको भएको छ । यो रकम नेपालले गर्ने कुल वस्तु निर्यात भन्दा निकै बढी हो । यस अवधिमा निर्माण क्षेत्रमा बढी प्रयोग हुने फलाम तथा स्टीलको आयात समेत १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा ७३ अर्ब ८६ करोड रुपैयाँ बराबको सवारी साधन र त्यसको पार्टपुर्जा आयात भएको छ । नेपालले यो अवधिमा १ सय ५३ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ ।

यस्तो रह्यो ९ महिनाको वैदेशिक व्यापार

  • आयात : ११ खर्ब ११ अर्ब ३९ करोड (१३.१२ प्रतिशत बढेको)
  • निर्यात : ९४ अर्ब ७६ करोड (२०.२३) प्रतिशत बढेको)
  • व्यापार घाटा : १० खर्ब १६ अर्ब ६२ करोड (१२.४९ प्रतिशत बढेको)
  • कुल वैदेशिक व्यापार : १२ खर्ब ६ अर्ब १६ करोड (१३.६४ प्रतिशत बढेको)
  • व्यापारमा आयातको हिस्सा : ९२.१४ प्रतिशत (०.४७ प्रतिशत घटेको)
  • व्यापारमा निर्यातको हिस्सा : ७.८६ प्रतिशत (५.८० प्रतिशत बढेको)

भारतबाट मात्र ७ खर्ब २४ अर्बको वस्तु आयात

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोही कारण व्यापार घाटा समेत सोही मुलुकसँग बढी छ ।

तथ्यांक अनुसार ८ महिनाको अवधिमा नेपालले भारतबाट ७ खर्ब २४ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसअवधिमा निर्यात भने भारतमा मात्र ६८ अर्ब ४३ करोड रुपैयाँ बराबरको भएको छ । यसले भारतसँग व्यापार घाटा ६ खर्ब ५६ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । यस अवधिमा चीनतर्फ मात्र ६८ करोडको सामान निर्यात हुँदा आयात भने १ खर्ब ६४ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको छ ।

चीनसँग १ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । अमेरिकाबाट १३ अर्ब ५२ करोडको सामान आयात हुँदा १० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अमेरिकासँग नेपालको कम व्यापार घाटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment