Comments Add Comment

दैनिक दुई हजार संक्रमित पुग्दैमा बेडको अभाव

वीर अस्पतालको कोभिड वार्डको फाइल तस्वीर ।

९ वैशाख, काठमाडौं । ललितपुर एकान्तकुनाका ६० वर्षी­य  कैलाश राईलाई कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिन सास फेर्न गाह्रो भयो ।

अक्सिजन लेभल घट्न थालेपछि उनले पाटन अस्पतालमा टेलिफोन गरेर आइसोलेसन बेड खाली छ वा छैन भनी सोधपुछ गरे ।  अस्पतालका कोभिड संयोजक डा. विमल पाण्डेले सबै बेड भरिएको जानकारी दिंदै भने, ‘हाम्रो पूरै १३० बेड संक्रमितले भरिएको छ, एक पटक अन्य अस्पतालमा प्रयास गर्नु न ।’

त्यसपछि उनले वीर अस्पतालका कोभिड संयोजक डा. अच्युतराज कार्कीलाई सोधे । त्यहाँबाट पनि त्यस्तै जवाफ पाए । त्यसपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड संयोजक डा. सन्तकुमार दासलाई समस्या सुनाए । डा. दासले उल्टै समस्या पोखे, ‘तीन दिनयता हाम्रोमा उपलब्ध ४५ बेड भरिएको छ, आज साँझ ७ जनालाई भर्ना गरियो, अरु १० जना त बेड नभएर निजी अस्पतालमा जानुभयो ।’

त्यसपछि झिनो आशामा टेकु अस्पतालमा फोन गरेका कैलाशले अस्पतालका निर्देशक डा. सागर राजभण्डारीबाट उस्तै गुनासो सुने, ‘टेकु अस्पतालमा ३३ वटा एचडीयू बेड (अक्सिजन मनिटरसहितको) सहित ६० वटा बेड संक्रमितको लागि छुट्याइएको थियो, हिजोबाट पूरै भरिएको छ ।’

त्यसपछि उनी ललितपुरको अल्का अस्पतालमा भर्ना भए ।

यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो, गएका तीन दिनयता उपत्यकाका कोभिड अस्पतालमा भर्ना हुन जाने बिरामीले यस्तै समस्या भोग्दै आएका छन् ।

बलम्बुस्थित एपीएफ अस्पतालमा ९२ जना संक्रमित उपचाररत छन् । जसमध्ये आईसीयूमा रहेका १६ जनामध्ये ७ जना भेन्टिलेटरमा र बाँकी ७६ जना आइसोलेसनमा छन् । आइतबारसम्ममा १४० जनासम्म संक्रमित उपचार गर्न सकिने कोभिड फोकल पर्सन डा. प्रवीण नेपाल बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार उपत्यकाका १२ वटा अस्पतालमा ३९६  जना संक्रमित आइसोलेसनमा उपचाररत छन् भने ५२ जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत छन् । अधिकांश  अस्पतालसँग अब नयाँ बिरामी भर्ना गर्न बेड उपलब्ध छैनन् ।

केही अस्पतालमा त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डमा भएको भन्दा धेरै बिरामी उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ललितपुरको पाटन अस्पतालमा ७४ जना संक्रमित उपचाररत छन् । तर पाटन अस्पतालका कोभिड संयोजक विमल पाण्डेका अनुसार आइसोलेसन, आईसीयू र भेण्टिलेटरमा गरी १३० वटा बेडमा संक्रमित उपचाररत छन् ।

मन्त्रालयको तथ्यांकमा त्रिवि शिक्षण अस्पतालमा १३ जना संक्रमितको उपचार भइरहेको छ । तर शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘अहिले १० वटा आईसीयू र ३५ वटा आइसोलेसन बेड संक्रमितको लागि छुट्याइएको छ, जुन  पूरै भरिएको छ ।’

मन्त्रालयको तथ्यांकमा टेकु अस्पतालमा ७३ जना संक्रमित भर्ना भएका छन् । तर टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी भने ११ जना भेन्टिलेटरमा, २२ जना आईसीयूमा र २५ जना आइसोलेसनमा गरेर ५८ जना संक्रमित उपचाररत रहेको बताउँछन् । उनी भन्छन्, ‘१० जना संक्रमितको डिस्चार्ज गर्न लागिरहेका छौं र ५ जना भर्ना हुने लाइनमा छन् ।’

बलम्बुस्थित एपीएफ अस्पतालमा ९२ जना संक्रमित उपचाररत छन् । जसमध्ये आईसीयूमा रहेका १६ जनामध्ये ७ जना भेन्टिलेटरमा र बाँकी ७६ जना आइसोलेसनमा छन् । आइतबारसम्ममा १४० जनासम्म संक्रमित उपचार गर्न सकिने कोभिड फोकल पर्सन डा. प्रवीण नेपाल बताउँछन् । ‘ननकोभिड बिरामी डिस्चार्ज गर्दै कोभिडका बिरामीलाई बेड प्राथमिकतामा राख्छौं’, उनी भन्छन् ।

काठमाडौंको वीर अस्पतालमा उपचाररत ३३ संक्रमितमध्ये आईसीयूमा ८ र भेन्टिलेटरमा तीन जना उपचाररत छन् । कोभिड फोकल पर्सन डा. अच्युतराज कार्कीका अनुसार वीर अस्पतालमा ६२ वटा बेड संक्रमितको लागि छुट्याइएको छ । तर महामारी कम भएका बेला अरु बेडमा ननकोभिड बिरामी राखेर उपचार गरिएकाले ती बेड अझै खाली भएका छैनन् । ‘अब हामी ननकोभिड बिरामी डिस्चार्ज गर्दै संक्रमितलाई भर्ना गर्छौं’, डा. कार्की सुनाउँछन् ।

उपत्यकामा मात्र होइन उपत्यकाका बाहिरको अवस्था पनि उस्तै छ । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पतालमा १३ वटा आईसीयू बेड र ४ वटा भेन्टिलेटर छन् ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार आईसीयू बेड खाली नभएकाले आएका संक्रमितलाई अन्य अस्पतालमा रिफर गर्नुपरेको छ । त्यस्तै भैरहवाको भीम अस्पतालमा ५ वटा आईसीयू,२० वटा एचडीयू र ४ वटा भेन्टिलेटर छन् । एउटा एचडीयूबाहेक सबैमा संक्रमित भर्ना भएका र अब आउनेलाई भर्ना लिन सक्ने अवस्था नरहेको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेल बताउँछन् ।

दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा छुट्याइएका पाँच आईसीयू बेड र २० एचडीयू बेड पनि भरिभराउ छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सार्वजानिक कार्यक्रममै जेठको अन्तिमसम्म दैनिक ११ हजार संक्रमित भेटिने बताएका छन् । तर दैनिक दुई हजार संक्रमित भेटिंदा नै अस्पतालमा बेडको हाहाकार छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा सामान्य अवस्थामा पनि ३ हजार वटा आईसीयूसहितको भेन्टिलेटर आवश्यक पर्छ । तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा नेपालमा अहिले ११ सय ८० बेड मात्रै आईसीयू छन् ।

नेपालमा आईसीयू बेडको अपुग हुन महामारी नै कुर्नु नपर्ने जनस्वास्थ्यविज्ञ तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन् । ‘दुईहजार संक्रमित पुग्दैमा बेडको हाहाकार छ, स्वास्थ्यमन्त्रीले भनेझैं ११ हजार नाघे के होला ? ‘ जनस्वास्थ्यविद् मरासिनी थप्छन्, ‘झन् भारतको जस्तो महामारी आए के होला ?’

कोभिड वार्डमा ननकोभिड बिरामी

कोरोना महामारीको प्रकोप बढ्दै गएपछि गत असोजमा काठमाडौं उपत्यकामा २ हजार एचडीयू बेड थप्न मन्त्रिपरिषदले निर्णय गरेको थियो । जसअनुसार उपत्यकाका कोभिड अस्पतालमा क्षमता अनुसार एक सय र दुई सय बेड थप्ने भनिएको थियो । त्रिवि शिक्षण अस्पतालमा कोभिड संयोजक सन्तकुमार दासका अनुसार त्यहाँ १०० वटा एचडीयू बेड बनाउने गरी तयारी गरे पनि खरीद ऐनलाई देखाउँदै उजुरी परेपछि सामान ल्याउने टेण्डर प्रकिया अवरुद्ध भएको थियो ।

‘हामीले जसोतसो ५० बेड एचडीयू थप गरेका छौं, त्यहाँ ननकोभिडका बिरामी भर्ना भएका छन्’ उनी भन्छन्, ‘नन कोभिडको बिरामी डिस्चार्ज भएपछि हामी कोभिडका बिरामी राख्छौँ, अहिले तत्कालको लागि भने बेड अभाव भएको छ । ‘

केही समयअघि संक्रमित घट्न थालेपछि शिक्षण अस्पतालमा मात्र होइन, वीर, पाटन, एपीएफलगायतका अन्य अस्पतालमा बनाइएको कोभिड वार्डमा ननकोभिडका बिरामी भर्ना गरिएको थियो । पछिल्लो एक साता संक्रमितको सङख्या ह्वात्तै बढेपछि ननकोभिड बिरामीलाई डिस्चार्ज गर्दै कोभिडका बिरामी भर्ना गर्न थालेको अस्पतालका कोभिड संयोजकहरु बताउँछन् ।

मन्त्रिपरिषदको निर्णय अनुसार वीर अस्पतालमा १०० एचडीयू बेड थपिएको थियो । ती बेडमा अहिले ननकोभिड बिरामीको उपचार भइरहेको अस्पतालका कोभिड फोकल पर्सन डा. कार्की बताउँछन् । ‘केही दिनमा कोभिड अस्पतालको नयाँ बनेको भवनमा संक्रमित राख्नको लागि तयारी गरिरहेका छौँ ।’

पाटन अस्पतालमा आइतबारदेखि थप ४० बेड कोभिड संक्रमितको लागि उपलब्ध हुने कोभिड संयोजक डा. पाण्डे बताउँछन् । ‘पहिले बिरामी नभएर ननकोभिड बिरामी भर्ना गरेका थियौँ, अब ननकोभिड डिस्चार्ज गर्दै कोभिडका बिरामी थप्छौं’ उनी थप्छन्’ केही दिनपछि संक्रमितको लागि मात्रै २५० बेड सञ्चालन गर्छौं ।’

एपीएफ अस्पतालमा पनि ननकोभिड बिरामी भर्ना भएकाले एकै पटक कोभिडको बिरामीका लागि बेड खाली गर्न नसकेको कोभिड फोकल पर्सन डा. प्रवीण नेपाल बताउँछन् । उनका अनुसार आइतबारसम्ममा १४० जना संक्रमितले उपचार पाउनेछन् ।

पाटन, वीर र शिक्षण अस्पतालका कोभिड संयोजक डाक्टरहरु आगामी दिनमा कोरोना संक्रमितको उपचारमा बेड झन् अभाव हुने बताउँछन् । ‘हामीकहाँ पछिल्लो तीन दिनयता  संक्रमितहरु आएको चाप हेर्दा दुई–चार सय बेड थपिंदैमा समस्या समाधान हुने देखिंदैन, कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोच्दैमा हैरान छौँ’ त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. दास भन्छन् ।

यो पनि पढ्नुहोस नेपालगञ्जको दृश्य : बेड पाउन पालो कुर्छन् कोरोनाका गम्भीर बिरामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment