Comments Add Comment

लोकधुन: हरायो मुर्चुङ्गा

पूर्वेली लोकसंगीतका प्रसिद्ध गायक तथा संगीतकार जितेन राई मुर्चुङ्गा बजाउँदै । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

११ वैशाख, काठमाडौं । मुर्चुङ्गा । नाम सुने पनि कतिपयलाई यसबारे जानकारी नहुन सक्छ । फलाम, पित्तल लगायत धातुद्वारा निर्मित सानो, त्रिशूल आकारको मौलिक, सांस्कृतिक लोकबाजा हो– मुर्चुङ्गा ।

फलामको पातलो पाता पिटेर मुर्चुङ्गा बनाइन्छ । वरिपरि फलाम वा पित्तल प्रयोग गरिएको हुन्छ । जुन चारपाटे र धारिलो बनाइएको हुन्छ । बीचमा फलामको एउटा पातलो (जिब्री) प्रयोग गरिएको हुन्छ ।

यसलाई ओठ खोलेर तल्ला–माथिल्ला दाँतमा अड्याई औंलाको सहायताले बजाइन्छ । जसको स्वर, ताल कर्णप्रिय सुनिन्छ । सानो आकारको भएका कारण सुरक्षाका लागि यसलाई मालिङ्गोबाट बनेको खोलमा राख्ने गरिन्छ । यो बाजा विशेषगरी किराँत सभ्यतासँग जोडिएको छ । किराँतहरूले बढी बजाउने गर्छन् ।

गायक तथा संगीतकार जितेन राई सानैदेखि मुर्चुङ्गाको स्वर, ताल सुन्दै हुर्किए । पाँचथरमा जन्मिएका उनी आफूले पनि सानैदेखि मुर्चुङ्गा बजाउन सिके ।

अधिकांश पुरुषको दौराको फेर, महिलाको चौबन्दी चोलीको तुनामा मुर्चुङ्गा झुण्डिन्थे । उनका अनुसार दौरा, चौबन्दीमा झुण्डिएका मुर्चुङ्गा मेलापात, घाँसदाउरा जाँदा बजाइन्थे ।

हाटबजारमा पनि निकै बज्थ्यो, मुर्चुङ्गा । यसले उमेर, महिला–पुरुष छुट्याउँदैनथ्यो, सबै उमेर समूहका व्यक्तिहरू मुर्चुङ्गा बजाउँथे ।

मुर्चुङ्गा

मुर्चुङ्गा आरनमा बन्थ्यो । यो बनाएवापत उनीहरूलाई केही दिने प्रचलन थियो । जितेनका अनुसार त्यो समय मुर्चुङ्गा किनबेच हुँदैनथ्यो, उपहारका रूपमा दिइन्थ्यो ।

विशेषगरी, किराँतीहरूको बसोबास रहेका जिल्लाहरूमा मुर्चुङ्गा प्रचलित बाजा हो । जसमा भोजपुर, संखुवासभा, ओखलढुंगा, उदयपुर, झापा, पाँचथर, धनकुटा, इलाम, खोटाङ, सुनसरी, तेह्रथुम आदि जिल्ला पर्दछन् ।

****

हिजो प्रविधिको विकास भएको थिएन । मनोरञ्जनका साधन थिएनन् । तर, संगीत थियो । प्रकृतिबाटै संगीतको सिर्जना भएको गायक जितेनको अनुमान छ ।

संगीत चेतना, मनोविज्ञान भएको बताउँदै पुर्खाहरूले आफ्नो जीवनलाई संगीतमय तुल्याउने क्रममा सुसेल्ने, पात बजाउने गरेको जितेन अनुमान गर्छन् । समयक्रमसँगै आफ्ना भावनाहरू अभिव्यक्त गर्ने माध्यमका रूपमा किराँतहरूले मुर्चुङ्गा बनाएको उनको अनुमान छ ।

धातुबाट बन्ने हुनाले धातु युगमा यसको उत्पत्ति भएकोबारे अनुमान गर्न सकिए पनि ठ्याक्कै कहिलेदेखि मुर्चुङ्गा प्रचलनमा आयो भन्न नसकिने उनी बताउँछन् । मुर्चुङ्गा विदेशमा पनि बजाइने गरेको बताउँदै ठाउँ अनुसार आकार र नाम फरक रहेको जितेनले बताए ।

****

परम्परागत बाजा मुर्चुङ्गाको प्रयोग गीत–संगीतमा समेत राम्रो सुन्न सकिन्छ । चलचित्र ‘प्रेमपिण्ड’मा समावेश गीत ‘गैह्री खेतको शिरै हान्यो’ मा मुर्चुङ्गाको प्रयोग गरिएको छ । गीतको शुरुआततिरै मुर्चुङ्गाको मीठो धुन सुन्न सकिन्छ ।

हिजो प्रविधिको विकास भएको थिएन । मनोरञ्जनका साधन थिएनन् । तर, संगीत थियो । प्रकृतिबाटै संगीतको सिर्जना भएको थियो । मुर्चुङ्गा त्यसैको एक आयाम थियो

थुप्रै चलचित्रका तथा अन्य गीतमा मुर्चुङ्गाको प्रयोग छ । ‘धेरै गीतमा यसको प्रयोग गरिएको छ’ डेढ सय जति गीतका गीतकार, संगीतकार तथा गायक जितेन भन्छन्, ‘मैले त अधिकांश गीतमा मुर्चुङ्गाको प्रयोग गरेको छु ।’

अहिले पनि कतिपय गीतमा मुर्चुङ्गाको प्रयोग गरिन्छ । यद्यपि, अहिले कम्प्युटरमा रेकर्ड गरिएको अडियो प्रयोग गर्ने गरिएको छ । ‘सांगीतिक क्षेत्रमा मुर्चुङ्गा बजाउनेहरू भेट्टाउनै मुश्किल छ । त्यसैले अहिले स्याम्पलिङ प्रयोग हुने गरेको छ । लाइभ कमै प्रयोग गरिन्छ’, उनले सुनाए ।

संगीतकार शम्भुजित बास्कोटा नेपाली गीत–संगीतमा मुर्चुङ्गाको राम्रै प्रयोग भएको बताउँछन् ।

उनले आफ्ना धेरै गीतमा मुर्चुङ्गाको प्रयोग गरेको बताए । ‘मैले धेरै गीतमा यसको प्रयोग गरेको छु । तर प्रविधिको विकाससँगै नेपाली मुर्चुङ्गाको प्रयोग पछिल्लो समय भने घटेको छ ।’

गायक तथा संगीतकार नारायण रायमाझी पनि धेरै गीतमा मुर्चुङ्गाको प्रयोग गरेको बताउँछन् ।

‘स्टुडियोमा लाइभ रेकर्डिङ गर्ने क्रममा धेरै गीतमा मुर्चुङ्गाको प्रयोग गरेको छु । तर, हिजोआज भने मुर्चुङ्गासँगै यो बजाउनेहरू भेट्टाउन मुश्किल छ’ नारायण भन्छन्, ‘त्यसैले यसको लाइभ प्रयोग गीत–संगीतमा घट्दो छ । हिजोआज प्रयोग गर्नेहरूले पनि स्याम्पलिङ प्रयोग गर्ने गरेका छन् ।’

हरेक प्रकारका गीतमा मुर्चुङ्गाको प्रयोग गर्न सकिने जितेन बताउँछन् । ‘संगीत, सहायक संगीतको रूपमा हरेक प्रकारका गीतमा प्रयोग गर्न सकिन्छ’ उनले भने । संगीतमा एकलदेखि सामूहिक तथा अन्य बाजा–गाजासँग संयोजन गरी पनि बजाउन सकिने मुर्चुङ्गाको विशेषता हो ।

गाउँघरमा हराउँदैछ मुर्चुङ्गा

समयक्रमसँगै मनोरञ्जनका अनेक साधन आए । रेडियोको विकास भयो । टेलिभिजन आए । युट्युबमा विश्वको संगीत हातमै सुन्न सकिने भयो । मुर्चुङ्गा बजाउने बूढापाकाहरू बिते । प्रविधिको विकास र बूढापाकाहरू वितेसँगै मुर्चुङ्गा बजाउनेहरू भेटिन छाडेको जितेन बताउँछन् ।

आजभन्दा १५ वर्ष अगाडि आफूले एउटा कन्सर्टमा मुर्चुङ्गा बजाउँदा नै धेरै जना आश्चर्यमा परेको स्मरण गर्दै उनले भने, ‘त्यतिबेला नै धेरै जना आश्चर्यमा परेका थिए । धेरैलाई यो बाजाबारे जानकारी नै थिएन । अहिले त झन् यो गाउँघरतिर पनि विरलै बज्छ ।’ अहिले गाउँघरतिर पनि मुर्चुङ्गा बजाउनेहरू कमै मात्रामा भेटिने उनी बताउँछन् ।

गायक तथा संगीतकार जितेन राई

आफूले मुर्चुङ्गा गाउँबाटै मगाउँदै आएको बताउँदै हिजोआज गाउँघरमा पनि सहज पाउन नसकिने उनले बताए । बजारमा भने मुर्चुङ्गा दुर्लभ भइसकेको छ । नयाँ पुस्ता यसबारे अनभिज्ञ रहेको उनको भनाइ छ ।

उनी कला, संस्कृति नेपालीको साझा सम्पत्ति रहेको बताउँदै यस्ता बाजाहरूको संरक्षण गर्ने राज्यको दायित्व रहेको बताउँछन् । ‘संस्कृति अथाह चिज हो भन्ने राज्यलाई चेतना नै छैन । यस्ता बाजाहरूको राज्यले संरक्षण गर्नुपर्छ । नत्र अबको पुस्ताले मुर्चुङ्गा देख्नै पाउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment