News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरीब वर्गलाई समेट्न नसकेको टिप्पणी गरिन्।
- उनले प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै भनिन्, "बजेटले गरिबीलाई छोएन ।"
- बजेटले निरपेक्ष गरीबीको रेखामुनि रहेका २० प्रतिशत नागरिकको उत्थानमा ध्यान नदिएको उनको आरोप छ।
२८ जेठ, काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिबलाई छुन नसकेको टिप्पणी गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले उक्त टिप्पणी गरेकी हुन् ।
उनले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको चुल्होमा सधै आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खडकिएको पनि बताइन् ।
उपनेता अर्यालले सरकारको बजेटले गरिवलाई झनै गरिब बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन्, ‘बजेटले गरिबीलाई छोएन । सिंगो बजेट वक्तव्यमा गरिबी भन्ने शब्दको उचित सम्बोधन छैन । सरकार भन्छ– मध्यम वर्गको विकास गर्ने । यसमा केही भन्नु छैन । तर यसको लक्ष्य कसरी हासिल गर्न सकिन्छ ?’
उनले अगाडि थपिन्, ‘२० प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाइकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ ? जगलाई कमजोर राखेर तला थप्ने कुरा कत्तिको वैज्ञानिक हो ? यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झन् माथि लैजाने नीति लिएको देखिन्छ । त्यसैले यो हुनेखाने र हुँदा खानेबीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो । मध्यम वर्गको आकार त्यत्तिकै फराकिलो हुँदैन । यसका लागि तल्लो स्तरको आय बढ्नुपर्यो ।’
उपनेता अर्यालले सरकारले लिएको मध्यम वर्गलाई उकास्न पनि बजेटले गरिव वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने तथ्य पनि स्मरण गराइन् ।
प्रतिक्रिया 4