Comments Add Comment
सन्दर्भ : लोकतन्त्र दिवस :

आवरणमा लोकतन्त्र आयो, अनुभूतिमा आएन

‘फेक लोकतन्त्र, फेक गणतन्त्र !’

२०६२ चैत २६ देखि २०६३ वैशाख ११ गतेसम्म देशव्यापी चर्किएको आन्दोलनलाई नेपाली इतिहासमा ‘जनआन्दोलन भाग–२’ तथा केहीले ‘गणतान्त्रिक आन्दोलन’ पनि भन्ने गरेका छन् ।

आदिकालदेखि जरा गाडेको हिन्दू राजतन्त्रात्मक शासनको अन्त्य गरी लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्न जनआन्दोलन सफल भयो ।

तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी तथा सात दल सम्मिलित १९ दिनसम्म चलेको जनआन्दोलनमा दुई दर्जनभन्दा बढी शहीद भए । सयौं जना घाइते भए । आम जनतादेखि उद्यमी, शिक्षक, पत्रकार, साहित्यकार तथा पेशाकर्मीले जनआन्दोलनमा खुलेर सहभागिता जनाए ।

साहित्यकारहरू पनि बामपन्थी र प्रजातान्त्रिक मोर्चा बनाएर आन्दोलनमा होमिए । साहित्यकारहरूले कविता वाचन, नाटक प्रदर्शन, नाचगान, नारा लेखन र भाषण गर्दै आन्दोलनको माहोल तताउन थप ऊर्जा दिए । कैयौं कवि, साहित्यकार  ‘जनताका कवि’को रूपमा स्थापित भए ।

यद्यपि लोकतन्त्रले जनताको जीवनमा परिवर्तन ल्याउन नसकेको तीतो यथार्थ सबैले भोग्नुपरेको छ । साहित्यकारहरू पनि लोकतन्त्रले जनभावनाको कदर गर्न नसकेको अभिव्यक्ति दिइरहेका छन् । कतिपयले आफ्ना असन्तुष्टि सिर्जनामार्फत व्यक्त गरिरहेका र सत्तालाई सचेत गराइरहेका छन् ।

२०६२÷६३ को जनआन्दोलनमा देशका कुनाकाप्चाका अधिकांश साहित्यकारहरूको योगदान र भूमिका कम आँक्न मिल्दैन । यहाँ भने हामीले जनआन्दोलनमा सहभागी केही साहित्यकारहरूको प्रतिनिधि अनुभव र लोकतन्त्रप्रतिको धारणा प्रस्तुत गरेका छौं :

लोकतन्त्र बचाउन सधैं लड्नुपरेको छ : श्रवण मुकारुङ

जनआन्दोलनको समयमा म काठमाडौंमै थिएँ । २०६२ असारमा आर्ट काउन्सिल बबरमहलमा पहिलोपटक ‘बिसे नगर्चीको बयान’ कविता सुनाएँ । त्यसपछि त्यो वर्षभरि नै उक्त कविता सुनाइरहनुपर्‍यो । १९ दिने आन्दोलनका प्रत्येक दिन सडकमा नै भएँ । बानेश्वरमा भएको स्रष्टा आन्दोलनदेखि गुरुकुलमा भएको प्रहरी हस्तक्षेपमा प्रहरीसँग भिड्नेमा म पनि एक हुँ । त्यसबेला युवा जोश थियो, निकै सक्रिय भइयो ।

नेपालीले २००७ सालदेखि अहिलेसम्म लडिरहनुपरेको छ । यो हाम्रो दुर्दशा हो कि लोकतन्त्र स्थापना गर्न मात्र होइन, यसलाई बचाउन पनि निरन्तर संघर्ष गर्नुपरेको छ ।

-श्रवण मुकारुङ

लोकतन्त्रकै लागि नेपालीले २००७ सालदेखि अहिलेसम्म लडिरहनुपरेको छ । यो हाम्रो दुर्दशा हो कि लोकतन्त्र स्थापना गर्न मात्र होइन, यसलाई बचाउन पनि निरन्तर संघर्ष गर्नुपरेको छ ।

सामान्य अर्थमा भन्ने हो भने पनि राजनीतिक नेतृत्वले ठीकसँग काम गर्न नसक्दा लोकतन्त्र संस्थागत हुन सकेन । लोकतन्त्र कार्यान्वयन गर्ने निकायहरू पनि असफल बनेका देखिन्छन् । राज्यपक्षले लोकतान्त्रिक आचरण पालन गरेको देखिंदैन । सत्ता–स्वार्थमा फसेको राजनीतिक नेतृत्वले लोकतन्त्रको मर्म ख्याल गरेको पाइँदैन ।

पहिलो राजनीतिक भाषण गरें : मनु मञ्जिल

२०६२/६३ को जनआन्दोलनताका म इटहरीमा थिएँ । १९ दिने आन्दोलनका क्रममा म १७ दिन जुलुसमै सहभागी भएँ । त्यतिबेला केही सीप नलागेपछि हामी ढुंगामुढा, ईंटा, लाठी लिएर प्रहरी र सेनासँग लड्न थाल्यौं । सत्तासँग बम–गोली, फौज थियो, जनतासँग विद्रोही आवाज मात्रै । इटहरीका चोक–चोकमा ठूलाठूला जुलूस भए । त्यसक्रममा दुईपटक जनसभामा मैले राजनीतिक भाषण गरें । सधैं कविता सुनाउने मान्छे त्यतिबेलाको आवश्यकताले नेताझैं भाषण गर्नुपर्‍यो ।

आज गणतन्त्र स्थापना भएकै १५ वर्षभन्दा बढी भइसक्यो तर जनताको चाहनालाई राजनीतिक नेतृत्वबाट कुनै सम्बोधन भएको देखिंदैन । परिवर्तनको फाइदा सीमित वर्गले लिइरहेका छन् । गणतान्त्रिक युगमा आएर पनि नेताहरूमा सामन्ती मानसिकता हावी देखिन्छ । अरूभन्दा पनि जनताले आफ्ना छोराछोरी, आफन्त गुमाएर ल्याएको परिवर्तनमा त्यही जनता पिल्सिनुपरेको छ । यो बडो दुःखदायी कुरा हो ।

आवरणमा लोकतन्त्र, अनुभूतिमा छैन : सरिता तिवारी

माओवादी जनयुद्धलाई शुरूमा मैले आलोचनात्मक समर्थन गरें । तर युद्ध र आन्दोलन उत्कर्षमा पुग्दै गर्दा जनयुद्धलाई खुलेर समर्थन गरें । म चितवनमा बसेर आन्दोलनका १९ दिन नै सडकमा थिएँ । युवा उमेरको भएकाले पनि निकै धेरै ऊर्जा थियो ।

जनआन्दोलनपछि भएको मधेश आन्दोलनमा पनि धेरै मान्छे मारिए । तर हामी र हाम्रा अग्रजले जुन लोकतन्त्रको लागि लड्यौं त्यो अझै प्राप्त भएको छैन । अहिलेसम्म हामी अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायका लागि उत्तिकै संघर्ष गरिरहेका छौं । यसले लोकतन्त्र आवरणमा त देखिएको छ तर अनुभूतिमा ग्रहण गर्न नसकिएको तीतो यथार्थ हो । ‘लोकतन्त्र’को विकल्प छ भन्न त म सक्दिनँ तर अहिले भइरहेका घटनामाथि निर्मम समीक्षा हुन आवश्यक छ ।

लोकतन्त्रको समीक्षा गर्दा यसलाई संस्थागत गर्न हामी सबै चुकेका छौं भन्ने लाग्छ । शीर्ष नेतृत्वलाई मात्र दोष दिएर पन्छिनेभन्दा व्यक्तिगत तहबाटै लोकतन्त्र संस्थागत गर्ने दायित्व बिर्सिएका छौं ।

-सीमा आभास

जनताको जीवन पद्धतिमा लोकतन्त्र देखिनुपर्छ : नयनराज पाण्डे

जनआन्दोलन–२ मा लगभग हरेक दिनजस्तो म सडकमा थिएँ । बढीजसो साहित्यकार, लेखकहरूसँगै आन्दोलनमा हिंडे । गुरुकुलमा प्रहरी हस्तक्षेप भएको बेला पनि गएको थिएँ । यसरी आफ्नो स्थानबाट प्रदर्शनमा खुलेर सहभागी भएँ ।

यद्यपि, लोकतन्त्र स्थापना भएको डेढ दशकपछि देशलाई हेर्ने हो भने तात्विक भिन्नता केही पाइँदैन । जनताको जीवनमा प्रत्यक्ष देखिने गरी लोकतन्त्रले परिवर्तन ल्याएको देखिंदैन । यही कारण त्यो आन्दोलनमा मेरो पनि लगानी छ, मेरो पनि सहभागिता छ भनेर अपनत्व लिने मन लाग्दैन । आजको अवस्था हेर्दा आन्दोलनमा म पनि थिएँ भनेर गर्व गर्नुको तुक देख्दिनँ । जनजीवनमा परिवर्तन नदेखिएसम्म लोकतन्त्र भनेर गर्व गर्नुको अर्थ छैन ।

लोकतन्त्र संस्थागत गर्न चुक्यौं : सीमा आभास

जनआन्दोलनताका म महेन्द्र मोरङ क्याम्पस विराटनगरसँग आबद्ध थिएँ । पटक–पटक पक्राउ पर्ने क्रममा अन्तिमचोटि मलाई सार्वजनिक अपराधको मुद्दा नै लगाइयो । एक महीनापछि मुद्दा फिर्ता भयो र हामी रिहा भयौं । राजाको प्रत्यक्ष शासन तथा निर्वाचनको विरोधमा लडेकी म १९ दिने आन्दोलनको फ्रन्टलाइनमै थिएँ । कविता वाचनदेखि नारा–जुलूस लगाउनेमा सक्रिय भएँ ।

आज आएर लोकतन्त्रको समीक्षा गर्दा यसलाई संस्थागत गर्न हामी सबै चुकेका छौं भन्ने लाग्छ । शीर्ष नेतृत्वलाई मात्र दोष दिएर पन्छिनेभन्दा व्यक्तिगत तहबाटै लोकतन्त्र संस्थागत गर्ने दायित्व बिर्सिएका छौं । यसैले आफ्नो स्थानबाट लोकतान्त्रिक आचरण कायम गर्दै देश र समाजप्रति उत्तरदायी हुन आवश्यक छ ।

लोकतन्त्र भनेको विकास मात्र होइन, चेतनासँग जोडिएको कुरा हो । यसलाई सबै मिलेर बलियो बनाउनुपर्छ ।

अर्को लडाइँ शुरू गर्नुपर्छ : भूपाल राई

जनआन्दोलनको समय म काठमाडौं उपत्यकामै थिएँ । विशेष गरेर राजनीतिक मोर्चाबाटै आन्दोलनमा होमिएको थिएँ । केही दिन साहित्यकारहरूसँग चोक–चोकमा कविता पढेर हिंडे पनि म राजनीतिक हिसाबले नै लडें ।

विगतको संघर्ष हेर्दा लोकतन्त्र जनताले सोचेजस्तो सपाट किसिमको नहुने रहेछ । कसैको लागि सबैथोक भए पनि जनताका लागि यसले केही गर्न नसकेको देखिन्छ । यसो गहिरिएर सोच्यो भने, सबै कुरा झुट जस्तो पो देखिन थालेको छ । ‘फेक लोकतन्त्र, फेक गणतन्त्र !’

आखिर गणतन्त्र आयो, संघीयता आयो तर यो सबै कागजमा आयो । कागजको लागि मात्रै लडिएछ जस्तो लाग्न थालेको छ । यसैले सामाजिक न्याय र स्वतन्त्रताका लागि अझै लामो लडाइँ बाँकी छ । केही पनि प्राप्त भएको छैन भन्ने सोचेर हामीले फेरि अर्को लडाइँ शुरू गर्नुपर्छ ।

जनउत्तरदायी लोकतन्त्रको खाँचो छ : प्रगति राई

म काठमाडौंमा पढाउने काम गर्थें । आन्दोलनले गर्दा शैक्षिक संस्थादेखि बजारसम्म बन्द भयो । म पनि स्वाभाविक रूपमा अरू साथीहरूसँगै आन्दोलनमा होमिएँ । त्यसक्रममा प्रहरीसँग पटक–पटक झडपमा परेको छु । झडपका क्रममा प्रहरीसँग लुक्न भनेर एउटा बनाउँदै गरेको घरमा छिरेको, त्यहाँ त झन् डरलाग्दो कुकुर पो रहेछ ! आन्दोलनका यस्ता रमाइला क्षण पनि धेरै छन् ।

आज आन्दोलनलाई फर्केर हेर्दा राजनीतिक दलहरू नै लोकतन्त्रप्रति उत्तरदायी नभएको देखिन्छ । जे चाहना राखेर जनताले आन्दोलन गरे त्यो पूरा भएको छैन । खोजेका सबै कुरा पूरा नभए पनि लोकतन्त्रका आधारभूत मान्यताहरू त पालना हुनुपर्ने हो, त्यो पनि प्राप्त भएको छैन !

अहिले कोरोना महामारी छ, यस्तो बेला राज्यको दायित्व अहम् हुन्छ । तर राज्य, प्रतिपक्ष कोही पनि जनताप्रति उत्तरदायी बनेको देखिंदैन । जनताको जीवनस्तर दिनप्रतिदिन खस्किंदैछ । नागरिक अधिकारहरू कुण्ठित पारिंदैछन् । यसर्थ जनउत्तरदायी लोकतन्त्रका लागि हामीले फेरि संघर्ष गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment