१२ वैशाख, काठमाडौं । विराटनगर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीमाथि शानदार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा विराटनगरले राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा रहेको धनगढीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । बलियो मानिएका दुई टोलीबीचको खेलमा विराटनगर अब्बल देखियो ।
धनगढीले किरणलाई आइकोनिक प्लेयर र ओलावाले आफिजलाई विदेशी कोटामा टिममा राखेको थियो । तर दुवै खेलाडीको प्रदर्शन सोचे अनुरुप हुन सकेन । पहिलो हाफमा एक गोल गरेको विराटनगरले दोस्रो हाफमा दुई गोल गर्यो ।
१५ औं मिनेटमा विक्रम धिमालले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा विराटनगरको सुनिल बलको फ्रिकिक धनगढीका किरण चेम्जोङले बचाएका थिए ।
५४ औं मिनेटमा नीरकुमार राईको पासमा एडालाजा सोमिडेले गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा सन्तोष तामाङले सुनिल बलको पासमा गोल गर्दै विराटनगरलाई ३–० को अग्रता दिलाए ।
धनगढीले भने खेलमा खासै राम्रो अवसर बनाउन सकेन । पहिलो हाफमा दर्शन गुरुङको फितलो प्रहार विराटनगरका गोलकिपरले बचाए । यस्तै टंक बस्नेतको प्रहार पोष्ट बाहिर गएको थियो ।
इन्जुरी समयमा ओलावाले आफिजले पेनाल्टी बक्सबाट हानेको हेडर पोष्ट नजिकैबाट बाहिरियो । जितपछि विराटनगरले ३ अंक जोडेको छ ।
प्रतिक्रिया 4