Comments Add Comment

बानेश्वर र शंखपार्कमा पनि वाटर एटीएम

१३ वैशाख, काठमाडौं । काठमाडौंका थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा आएका छन् । वडा १० बानेश्वरको छक्कुपक्कु पार्क र त्यसपछि वडा ४ को शंखपार्कमा महानगरका प्रमुख र उपप्रमुखले संयुक्त रुपमा एटीएम शुभारम्भ गरे । ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का राखेर कप र पानी लिँदै पिएर उद्घाटन गरेका हुन् ।

यसअघि गएको माघ २९ गते शंखधर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भु भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगैका वाटर एटीएम स्टेशनहरु सञ्चालनमा आएका छन् ।

यो ठाउँलाई महानगरले ‘जरुंहिति’ नाम दिएको छ । महानगरले ०७६ चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटीएम) राख्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो ।

महानगरका मेयर शाक्य स्मार्ट सहरका लागि स्मार्ट सुविधा जडान गर्ने कामलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पानीको समस्या समाधान हुनुलाई ठूलो उपलब्धि मान्नुपर्ने उल्लेख गरिन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका १५ ठाउँमा यस प्रकारका प्रणाली जडान गर्दैछ । बोर्डका कार्यकारी निर्देशक सञ्जिवविक्रम राणाकाअनुसार स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापन खर्चसहित प्रणाली जडानको लागत करिब १५ लाख ८६ हजार रुपैयाँ हो । उपत्यकाका सबै प्रणाली जडान गर्दा करिब २ करोड रुपैयाँ खर्च हुनेछ ।

अहिलेको प्रणालीभित्रै १ हजार ५ सय लिटरको र त्यससँगै छेउमा ५ हजार लिटरको ट्याङ्की राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना छ ।

महानगरसँगको सम्झौताबमोजिम विभिन्न ठाउँमा जडान गरिएका वाटर एटीम स्थापना गरेर आउँदो ३ वर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ । महानगरपालिकाले एटीम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराएको छ ।

कसरी चलाउने वाटर एटीएम ?

वाटर एटीएम एउटा उपकरण हो । यसको प्रयोग गर्दा सुरुवातमा तिरेको २ रुपैयाँमा एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ । त्यसपछिका हरेक २०० मिलिलिटरको पानीको मूल्य १ रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिन्छ । यदि कसैले बोतल लिएर जाने हो ५ रुपैयाँमा १ लिटर पानी भर्न सकिन्छ ।

क) मेसिनमा १ रुपैयाँको सिक्का मात्र चल्छ ।

ख) गोजीमा सिक्का पैसा छैन भने १० वा ५ रुपैयाँको नोटको सिक्का साट्न सकिन्छ ।

ग) सिक्का साट्न वाटर भेन्डिङ मेसिन सिक्का साट्ने मेसिन राखिएको छ ।

घ) साटेको सिक्कामध्ये १ रुपैयाँको सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा खसाल्नुपर्छ । यसबाट २०० मिलिलिटर पानी अट्ने कागजको कप आउँछ ।

ङ) कपलाई लगेर धाराको तल थाप्नुपर्छ ।

च) १ रुपैयाँको सिक्कालाई धारासँगैको सिक्का हाल्ने ठाउँमा खसाल्नुपर्छ ।

छ) यसमा २०० मिलिलिटर शुद्ध पिउने पानी आउँछ ।

ज) थप पानी खान मन लागे फेरि १ रुपैयाँको सिक्का खसाउँदा २०० मिलिलिटर पानी पाउन सकिन्छ ।

झ) १ लिटर पानी लिनुपरे बोतल थापेर १ रुपैयाँका ५ वटा सिक्का खसाउँदा १ लिटर पानी प्राप्त हुन्छ ।

ञ) प्रयोग गरिसकेको कपलाई कन्टेनरमा हालिदिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment