+
+
Shares

विदेश जान ट्रान्जिट बनाएका सयौं भारतीय नागरिक नेपालमै अड्किने !

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १३:४५
फाइल तस्वीर

१३ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा नेपाल आएका विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरुलाई दिएको निर्देशनले सयौं भारतीय नागरिक काठमाडौंमा अड्किने भएका छन् । अहिले १४ दिन क्वारेन्टिनमा बस्ने गरी काठमाडौंका होटेलमा सयौं भारतीय नागरिक बसेका छन् ।

होटेल संघ नेपाल (हान)का अनुसार यसरी नेपालबाट विदेश उड्न आएका भारतीयको संख्या ३ हजारभन्दा माथि रहेको अनुमान छ । तर, सरकारले आइतबार नेपाललाई ट्रान्जिट बनाउने गरी आएका विदेशी नागरिकको कोरोना परीक्षण नगर्ने स्पष्ट पारेको छ । यसले हवाई टिकट काटेर उडानको मिति कुरिरहेका सयौं भारतीय नागरिक नेपालमै अड्किने हानका सदस्य युवराज श्रेष्ठले बताए ।

‘व्यवसायीसँग सल्लाह नै नगरी निर्णय आयो,’ उनले भने, ‘की आउनै नपाउने निर्णय गर्नुपर्ने थियो, आएर होटेलमा बसिसकेका विदेशीलाई बिचल्ली पार्ने गरी निर्णय भएको छ ।’ उता, स्वास्थ्य मन्त्रालयले भने ट्रान्जिटमा नेपाल आउने विदेशीलाई निरुत्साहित गर्दै बन्देज लगाउन नसक्दा संक्रमण फैलन जोखिम बढेको बताएको छ । व्यवसायीले भने नेपाल आइसकेकालाई सुरक्षित पठाउने र अब नेपाल आउन भने रोक लगाउने गरी निर्णय आएको भए व्यवहारिक हुने बताउँछन् ।

खाडी मुलुकहरुले भारतबाट हवाई उडान रोकेपछि भारतीय नागरिक नेपालको बाटो हुँदै विदेश गइरहेका छन् । यसरी जानेहरु भारतबाट वैदेशिक रोजगारीमा जाने नागरिक हुन् । नेपालस्थित भारतीय दूतावासले नो अब्जेक्सन लेटर दिएपछि उनीहरु विदेश जान पाउँथे । तर, जहाज उड्नु अगाडि पीसीआर रिर्पोट भने अनिवार्य गरिएको छ ।

प्याकेजमा आएका छन् भारतीय

कोरोना संक्रमणका कारण मन्दी छाएको पर्यटन बजारमा भारतीयको आगमनले केही राहत दिएको थियो । यसबीचमा पर्यटन व्यवसायीले भारतीय नागरिकलाई १४ दिन होटेल क्वारेन्टिन, भारतबाट नेपाल आउने हवाई टिकट, नेपालमा पीसीआर परीक्षण, यातायात सेवा र नेपालबाट सम्बन्धित मुलुकमा जाने हवाई टिकटसमेत राखेर प्याकेज बिक्री गरिएको थियो ।

गुनासो लिएर मन्त्रालय जाने तयारी

सरकारले नेपाल भित्र रहेका भारतीयको उचित व्यवस्थापन नगरी पीसीआरमा रोक लगाउने अव्यवहारिक निर्णय गरेको भन्दै होटेल तथा पर्यटन व्यवसायी विभागीय मन्त्रालयमा जाँदैछन् ।

‘हामी यो समस्या समाधान गर्न माग गर्दै सरकारको ढोका ढक्ढकाउँदैछौं,’ श्रेष्ठले भने, ‘सरकारले एक दिन मात्र पीसीआर रोक्दा पनि यात्रुको निर्धारित तालिका बिग्रन्छ ।’ यसले विदेश जाने लिएको टिकट रद्द हुने देखि अन्य व्यवहारिक समस्या देखिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?