Comments Add Comment

कोरोना महामारीका कारण पुनः सुनसान बन्यो सौराहा

१४ वैशाख, चितवन । कोरोना संक्रमणको पहिलो लहरले थिलोथिलो बनेको चितवनको सौराहाको पर्यटन क्षेत्र पूर्ववत अवस्थामा फर्कन नपाउँदै पुनः दोस्रो लहर शुरु भएपछि व्यवसायी निराश बनेका छन् ।

पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय विस्तारै लयमा फर्किंदै  थियो । क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निराशा छाएको छ । होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुविधा सम्पन्न बनाइएको भएपनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएको छ ।

अब समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका थिए । अधिकांश होटलले ऋण बढाएर बैंकको व्याज तिरेका हुन् । उनले भने, ‘अब साउनसम्म व्यवसाय राम्रो होला भन्ने हाम्रो अपेक्षा थियो ।’ सौराहाका होटलमा धेरै व्यावसायिक कार्यक्रमका लागि बुकिङ आएका थिए । तीसँगै आन्तरिक पर्यटकका बुकिङ पनि रद्द भएका छन् ।

कोभिडका कारण दैनिक ८० देखि ८५ लाख नोक्सान सौराहामा बेहोर्नुपरेको उनी बताउँछन् । अघिल्लो वर्षको चैतदेखि होटल बन्द थिए । यसभन्दा अघिल्लो वर्षमा यतिबेला ८० देखि ८५ प्रतिशत बुकिङ हुने गर्दथ्यो । अहिले पनि ८० प्रतिशतसम्म बुकिङ पुगेकोमा एकाएक कोरोनाको दोस्रो लहर आएपछि होटल व्यवसाय प्रभावित भएको उनको भनाइ छ ।

‘हिजो आजका धेरै कार्यक्रम रद्द भएका छन्,’ उनले भने, ‘मेरै होटलमा आजबाट चार दिनसम्म हुने भनेको कार्यक्रम स्थगित भयो ।’ हाल सौराहा सु्नसान हुँदै गएको छ । अहिले सौराहामा पाँच प्रतिशत हाराहारी मात्र अकुपेन्सी रहेको छ । ‘अब मजदूरलाई के गर्ने र ऋण कसरी तिर्ने सबैको चिन्ता यही छ,’ उनले थपे ।

युनिक वाइल्ड रिसोर्टमा यही वैशाख १२ गतेदेखि पूर्वनिर्धारित एमआरका दुईवटा कार्यक्रम कोभिडको त्रासले रद्द भयो । रिसोर्टका सञ्चालक गुणराज थपलियाका अनुसार वैशाख ११ र १२ गतेका लागि तय भएको अन्तर्राष्ट्रिय क्लबको कार्यशाला पनि रद्द भएको छ । उनले एकाएक कोरोना बढेपछि होटल पूर्ण रुपमा प्रभावित भएको बताए ।

सौराहामा पछिल्लो समय वीरगञ्ज, विराटनगर, काठमाडौंलगायतका शहरबाट आएर विवाह गर्ने प्रचलन पनि बढ्दै गएको थियो । कोरोनाको कहरले यसलाई पनि असर गरेको छ ।

भारतबाटसमेत विवाहका लागि सौराहा आउने क्रम शुरु भएको थियो । जंगल क्राउनका सन्तोष गिरीले बुकिङ भएको वैवाहिक कार्यक्रम पनि स्थगित भएको बताए ।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे पहिलो चरणको कोरोनाको प्रभाव जेनतेन व्यवस्थापन गर्न नपाउँदै अप्ठ्यारो स्थिति आएको गुनासो गर्छन् । सबै होटल पूर्ववत् अवस्थामा आएसँगै फेरि कोरोना संक्रमण बढेपछि प्रभावित भएको उनको भनाइ छ । ‘सबै बुकिङ रद्द भए । हाम्रो उत्साह हराएर गयो,’ उनले भने ।

व्यवसायीका अनुसार सौराहामा ११५ होटल सञ्चालनमा रहेका छन् । ती होटलमा ६ हजारभन्दा बढी बस्न सक्ने क्षमता रहेको छ । सौराहाको पर्यटन व्यवसायमा मात्र ३३ अर्बभन्दा बढीको लगानी भएको व्यवसायी बताउँछन् । यहाँ पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने व्यवसायीहरुको भनाइ छ ।

कोरोनाको प्रभाव बढेसँगै सांस्कृतिक घर बन्द गरिएको छ । अन्य गतिविधि पनि क्रमशः प्रभावित हुँदै गएका छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जमा वन, वन्यजन्तु र चराचुरुङ्गीसँग रमाउन स्वदेशी र विदेशी पर्यटक यहाँ आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment