
१५ वैशाख, काठमाडौं । बालाजुको न्यू थापा किराना स्टोरमा सोमबार साँझ खाद्यान्न किन्ने ग्राहकको घुइँचो थियो । खाद्य सामग्री बिक्री स्टोरको लाइनमा लागेकी थिइन् सर्लाही स्थायी घर भएर सोही ठाउँमा डेरा गरी बस्ने शर्मिला पौडेल ।
झमक्क साँझ पर्दै गर्दा उनले किराना पसलबाट एक बोरा चामल, चार किलो दाल, दुई किलो गेडागुडी, एक किलो लुगा धुने डिटर्जेन्ट पाउडर र चिनी, जीरा, मसला समेत किनिन् ।
सरकारले उपत्यकामा बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । ‘तत्काल चुलोमा चाहिने कुरा अभाव नहोस् भनेर जोहो गरेकी हुँ’, शर्मिलाले अनलाइनखबरसँग भनिन् । पसल सञ्चालकले केही बेरमा चामल घरमा ल्याइदिने भने । उनी चामल बाहेकका सामान बोकेर डेरातिर लागिन् ।
काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको ओम्नी मिनी मार्टबाट एक ग्राहकले सोमबार साँझ ६ किलो डिटर्जेन्ट पाउडर किनेर लगे । निषेधाज्ञामा घरमा बस्दा सरसफाइका लागि अभाव नहोस् भनेर ती ग्राहकले त्यति धेरै डिटर्जेन्ट पाउडर किनेको मिनी मार्टका सञ्चालक सुनिल प्रजापतिले बताए ।
निषेधाज्ञाको घोषणापछि साना किराना पसल खुल्लान् कि नखुल्लान् भन्ने अन्योलकै कारण मानिसले चाहिनेभन्दा धेरै सामान खरीद गरिरहेको सञ्चालक प्रजापतिको भनाइ छ ।
‘मानिसले घरायसी प्रयोगका लागि नभई नहुने खाद्यान्न तथा सरसफाइका लागि चाहिने वस्तुहरू धेरै मात्रामा किनिरहेका छन्’, सञ्चालक प्रजापतिले भने ।
निषेधाज्ञा घोषणाको सूचनापछि मंगलबार साँझ टेकुको कनक आयल स्टोरमा पेट्रोल भर्ने उपभोक्ताको लाइन थियो । सोही लाइनमा उभिएका खुसिबु नयाँबजारका जितेन्द्र राईले आफ्नो मोटरसाइकलमा १२ लिटर पेट्रोल भरे ।
‘निषेधाज्ञामा खरीद गर्न नपाइएला क्यारे, केही पर्यो भने हिंडडुलका लागि यति तेल त भर्नैपर्यो, अलिकति पहिल्यै थियो अब त ट्यांकी पनि भरियो’, राईले भने ।
स्थानीय प्रशासनले निषेधाज्ञाको घोषणा गरेपछि उपत्यकाका उपभोक्ताले इन्धन र खाद्यान्न जोहो गर्न थालेका छन् । बुधबार पनि राजधानीका अधिकांश पेट्रोल पम्पहरूमा इन्धन भर्नेहरूको लामो लाइन लागेको छ ।
लामो समय नबिग्रिने खाद्यान्न र इन्धनको जोहो गर्न इन्धन डिपो तथा किराना पसलमा भीड बढेको बिक्रेताहरूले बताएका छन् । सोमबार मात्रै सरकारले बिहीबार (भोलि)बाट लागू हुने गरी काठमाडौं उपत्यकामा दुई साता लामो निषेधाज्ञा जारी गरेको छ ।
खाद्यान्नको बिक्री उच्च
दाल, चामल, गेडागुडी जस्ता खाद्यान्नको जोहो गर्न किराना पसलहरूमा उपभोक्ताको भीड सामान्य भन्दा धेरै भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । पहिलेको लकडाउन जस्तो बिक्री चाप नभए पनि सामान्य अवस्थामा हुने व्यापारभन्दा सोमबारयता चाप बढेको संघका महासचिव अमुलकाजी तुलाधरले बताए ।
‘अत्यधिक चाप त छैन तर सामान्य अवस्थामा भन्दा किनमेल गर्नेहरू भने बढेको खुद्रा पसलेहरूले संघमा जानकारी गराएका छन्’, महासचिव तुलाधरले भने । तत्काल नबिग्रिने दलहन, चामल, चिउरा, तेल जस्ता खाद्यान्न ग्राहकले केही दिनलाई जोहो गरेर राखेको उनले बताए ।
किराना होलसेल व्यवसायीहरूको संगठन नेपाल किराना व्यवसायी संघले पनि उपभोक्तामा खाद्यान्न जोहो गर्ने क्रम बढेको जनाएको छ । निषेधाज्ञा कतिसम्म लम्बिने हो भन्ने अनिश्चितताले उपभोक्तामा त्रास बढेको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए ।
‘किराना पसलबाट खाद्य सामग्रीको माग बढेको छ । पसलहरूमा पनि उपभोक्ताहरूको भीड देखिएको छ’, अध्यक्ष श्रेष्ठले भने । मागअनुसार खुद्रा पसललाई खाद्यान्न उपलब्ध गराउन समस्या नभएको उनले बताए । निषेधाज्ञाको घोषणासँगै अनलाइनबाट खाद्यान्न अर्डर गर्नेहरूको माग ह्वात्तै बढेको अनलाइन डेलिभरी सेवा प्रदायक मेरो किरानाले जनाएको छ ।
सामान्य अवस्थाको तुलनामा उपभोक्ताको अर्डर ७० प्रतिशतले बढेको मेरो किरानाका सञ्चालक सागरदेव भट्टले बताए । ‘खानेकुरामा दाल, चामल, पीठोको माग अत्यधिक छ । लकडाउनमा घर बसेर पकाउन र खाजाको रूपमा खान मिल्ने खालका खानेकुराको माग बढेको छ’, भट्टले भने ।
पेट्रोलियम र ग्याँसको बिक्री पनि बढी
खाद्यान्नसँगै उपभोक्ताले निषेधाज्ञाअघि इन्धनको पनि जोहो गरेको पाइएको बिक्रेताहरूले जनाएका छन् । यो साताको शुरुआतदेखि नै खाना पकाउने ग्याँसको बिक्री बढेको नेपाल एलपी ग्याँस उद्योग संघले जनाएको छ ।
सामान्य अवस्थामा देशभर दैनिक एक लाख सिलिण्डर ग्याँस बिक्री हुने गरेको भए पनि यो साताको शुरुआतदेखि त्यसमा १५ प्रतिशतले वृद्धि भएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।
पछिल्लो समयको बिक्री हेर्दा अन्तर्राष्ट्रिय आपूर्ति शृंखला बिग्रिने डरमा देशभरका उपभोक्ता देखिएको भण्डारीले बताए । हरेक दिन झण्डै १५ हजार थप सिलिण्डरको बिक्री भइरहेको विवरण संघलाई प्राप्त भएको छ ।
‘खाली सिलिण्डर भर्न संघले जारी गरेको सूचनाको प्रभावका कारण पनि अहिले बजारमा देखिएको छ’, अध्यक्ष भण्डारीले भने । यता काठमाडौं उपत्यकामा डिजल तथा पेट्रोलको खपत पनि आकाशिएको नेपाल आयल निगमले जनाएको छ । निगमको वागमती प्रादेशिक कार्यालय थानकोटका अनुसार पछिल्लो दुई चार दिनदेखि डिजल र पेट्रोलको बिक्री हरेक दिन बढ्दो क्रममा छ ।
सोमबार उपत्यकामा ६ लाख लिटर पेट्रोल र २१० लाख लिटर डिजलको बिक्री भएकोमा मंगलबार बिक्री थप बढेको र बुधबार यो क्रम यथावत् रहेको थानकोट प्रादेशिक कार्यालयका वरिष्ठ सहायक कपिल भट्टले अनलाइनखबरलाई बताए ।
आपूर्ति व्यवस्था सहज
खाद्यान्न तथा इन्धनको जोहोमा उपभोक्ता लागे पनि बिक्रेता तथा व्यवसायीहरूले भने बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरेका छन् ।
नेपाल एलपी ग्याँस उद्योग संघले बजारमा ग्याँसको आपूर्ति भारतबाट सहज भइरहेको र यहाँको माग धान्न अहिले कुनै अप्ठ्यारो नरहेको जनाएको छ । खाली सिलिण्डर भरेर राख्नु ठीक भए पनि अत्यधिक स्टोर गर्नेतर्फ नलाग्न संघले उपभोक्तालाई आग्रह गरेको छ । ‘आपूर्ति व्यवस्था सहज छ, उपभोक्ता डराउनुपर्ने कुनै कारण छैन । बरौनी रिफाइनरीबाट नियमित जस्तै ग्याँसहरू आयात भइरहेका छन्’, अध्यक्ष भण्डारीले भने ।
यता नेपाल आयल निगमले पनि डिजल तथा पेट्रोलको आयातमा कुनै अवरोध नरहेको जनाएको छ । आयात र वितरण नियमित भइरहेका कारण उपभोक्ता त्रसित हुनुपर्ने अवस्था नभएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
खाद्यान्नको आपूर्ति पनि सहज भइरहेका कारण थप मौज्दात राख्ने काम नगर्न नेपाल किराना व्यवसायी संघले उपभोक्तालाई आग्रह गरेको छ । ‘जापानमा महामारीको बेला धेरै मानिसलाई पुगोस् भनेर एक किलो किन्नेले पनि आधा किलो किन्छन्, हाम्रोमा मात्रै थुपारौं भन्ने भावना छ, यस्तो नगरौं खाद्यान्न अभाव हुन्न’, अध्यक्ष श्रेष्ठले भने ।
कोरोना संक्रमणबाट भारत निकै प्रभावित भए पनि नेपालसँगको व्यापारमा हालसम्म कुनै अवरोध नरहेको उनले बताए । चामल, दाल, तेल लगायत खाद्यान्नको आयातमा हालसम्म अवरोध रहेको जानकारी आफूहरूसँग नरहेको अध्यक्ष श्रेष्ठले बताए ।
संयुक्त अनुगमन गरिने
महामारीको बहाना बनाएर वस्तुको मौज्दात गर्ने, बढी मूल्य लिने तथा अभाव सृजना गर्ने जो–कसैलाई पनि कडा कारबाहीको दायरामा ल्याइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
उद्योग, गुणस्तर, पशु, खाद्य तथा स्वास्थ्य सेवा विभागलगायत सबै निकायलाई समेटेर संयुक्त अनुगमन हुने र कोही पनि उपभोक्ता मर्कामा परे तुरुन्त विभागमा सम्पर्क गर्न सक्ने विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।
‘निषेधाज्ञाको बहानामा उपभोक्ता ठगी क्षम्य हुने छैन, हामी हाम्रो ऐनले अपुग भए कालोबजारी मार्फत पनि कालोबजारी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउँछौं’ महानिर्देशक पौडेलले भने, ‘विभाग मार्फत हुने व्यापार सहजीकरणलाई महामारी र निषेधाज्ञाले कुनै प्रभाव पार्ने छैन ।’
प्रतिक्रिया 4