Comments Add Comment

वीरगञ्जमा निषेधाज्ञा : नाका हुँदै घर फर्कनेको लर्को

१६ वैशाख, वीरगञ्ज । तराईको गर्मी चर्कंदो छ । त्यसैमाथि रापिलो बतास । मौसमसँगै बदलिएको परिस्थितिले होला परवेज आलमको ओठ तालु सुकेको देखिन्छ ।

भारत रक्सौलका परवेज आलमको काँधमाथि सानो छोरा छन् । ठूलो छोरा र श्रीमती पनि सँगै ।

श्रीमतीको पनि थाप्लोमा झोला छ । निषेधाज्ञाका कारण उनीहरू सपरिवार वीरगञ्जबाट रक्सौलतिर पैदल गइरहेका छन् । उनीहरुको अवस्था असिनपसिन छ ।

बिहीबार बिहान ४ बजेबाट नै पर्सामा निषेधाज्ञा शुरु भइसकेको थियो । बसपार्कसम्म आउने बसले गण्डकतिरै झारेर हिंडिदियो ।

बाइक मेकानिकको काम गर्ने आलम नारायणघाटमै सपरिवार बस्थे । चितवनमा पनि बिहीबार रातिबाट निषेधाज्ञा लागू हुँदैछ ।

‘निषेधाज्ञामा काम पनि पाइँदैन । घरमा विवाह छ । निषेधाज्ञा लम्बियो भने त आपत पर्छ,’ उनले भने, ‘मजदुरी गर्ने मान्छे के गरिखानु ? त्यसैले घर जान लागेका हौं । आउन ढिलो भएर विजोग भयो ।’

आलमको परिवारलाई मात्रै हैन, रामसुरत पण्डितलाई पनि रक्सौलतिरै पुग्ने हतारो छ । चितवनमा घर बनाउने काम गर्दै आएका उनी निषेधाज्ञामा कामविहीन बस्नुपर्ने अवस्थाबाट पोहोरै परिचित छन् । पत्रकारसँग कुरा गरिरहने फुर्सद उनलाई छैन ।

वीरगञ्जमा आजैदेखि निषेधाज्ञा शुरु भएको हो । बिहान वीरगञ्जमा भारत जानेको लर्को देखियो ।

 

काठमाडौं, चितवन, वीरगञ्जलगायत देशका विभिन्न स्थानमा १६ गतेबाटै निषेधाज्ञा शुरु भएको छ । ती शहरमा विभिन्न काम गर्दै आएका भारतीय नागरिक घर फर्किएका हुन् । भिडबाट एक जनाले भने, ‘मान्छेको हालत खराब छ, पत्रकारको काम छैन, फोटो खिचिरहेका छन् ।’

वीरगञ्ज–६ बस्ने प्रकाश केडियाको पनि सुरक्षाकर्मीसँग चर्काचर्की परिरहेको थियो । कलकत्तामा सीए पढ्न गएकी बहिनीलाई लिएर आएका उनी सरासर घर जान नपाएकोमा आक्रोशित देखिन्थे ।

नाकामा आवागमन बन्द

कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमणले पर्सा जिल्ला नराम्ररी प्रभावित बनेको छ । संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि पर्सामा बिहीबार बिहान ४ बजेदेखि एक साताका लागि निषेधाज्ञा लगाइएको हो ।

वीरगञ्जको ईनर्वा नाकाबाहेक भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

ईनर्वा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरूले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याइ स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

जितेन्द्रकुमार झाका बिरामी आफन्त बयोधा अस्पतालमा छन् । चिकित्सकले लेखेको एउटा औषधि लिन उनलाई रक्सौल जानुपर्ने भएको छ । सशस्त्र प्रहरीले कागजात हेरेपछि सवारी राखेर औषधि लिएर आउन अनुमति दिए ।

लालबन्दी नगरपालिका–१६ परवानीपुरकी पदमकुमारी खड्का रक्सौल पुगेर फर्केकी छन् ।  दिल्लीमा घर भएकी छोरी उतै स्टाफ नर्समा जागिरे थिइन् । डेढ महिनाअघि माइती आएकी छोरीलाई उनी रेल चढाएर फर्केकी हुन् ।

छोरीलाई विदाइ गरेर फर्केकी खड्कालाई शंकाराचार्यस्थित हेल्थ डेस्कमा सुरक्षाकर्मीले रोके । एन्टिजेन परीक्षण गराएर मात्रै जान गरिएको आग्रह उनलाई मन परिरहेको थिएन ।

‘रोकेर अनावश्यक दुःख दिएका छन्,’ उनले भनिन्, ‘भारतबाट आउनेको भिडमा मिसाएर झनै जोखिममा पो पार्दैछन् ।’

नाकास्थित हेल्थ डेस्कमा भौतिक दूरीको पालना हुने गरेको छैन । कलैयाका सञ्जय साह कलवार पनि आमा, भिनाजुसहित हेल्थ डेस्क छेउको लाइनमा मिसिए ।

वीरगञ्ज–६ बस्ने प्रकाश केडियाको पनि सुरक्षाकर्मीसँग चर्काचर्की परिरहेको थियो । कलकत्तामा सीए पढ्न गएकी बहिनीलाई लिएर आएका उनी सरासर घर जान नपाएकोमा आक्रोशित देखिन्थे । सम्झाइबुझाइ गरेपछि मुस्किलले उनी एन्टिजेन परीक्षण गराउन तयार भए ।

वीरगञ्जको ईनर्वा नाका हुँदै बिहीबार बिहान साढे ११ बजेसम्म ४० जना मात्रै नेपाल प्रवेश गरेको हेल्थ डेस्कको तथ्यांक छ । मुख्य नाकामा सुरक्षाकर्मीले आवागमनमा कडाइ गरेपछि कतिपय मानिसहरू छेउछाउको वैकल्पिक मार्गबाट समेत आवतजावत गरिरहेका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले भने ईनर्वा नाकाबाहेक सबैतिर आवागमनमा रोक लगाइएको बताए ।

‘हिजै वीरगञ्जको ईनर्वाबाहेकका नाका सबै बन्द हुन्छ भनेर सर्वसाधरणलाई सचेत गराएका थियौं । अत्यावश्यक काम परे वीरगञ्ज नाकाबाट आउन जान भनेका छौं,’ उनले भने, ‘हामी सीमामा गस्ती गरिरहेका छौं ।’

निषेधाज्ञामा कस्तो छ व्यवस्था ?

निषेधाज्ञामा औषधि उपचार एवं अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर निस्कन र हिंडडुल गर्न रोक लगाइएको छ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि बन्द गरिएको छ ।

अत्यावश्यक कामका लागि मात्रै निस्कन दिइएको छ । तर मानिसहरू विभिन्न बहानामा सडकमा आएका छन् । अटेरी गरिरहेका छन् । जिम्मेवार देखिएका छैनन् ।

विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट अनुमति लिएर मात्र गर्न पाइने भएको छ ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सोसम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपंक्षीको दानालगायत ढुवानीका सवारी साधन, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारी साधनहरुबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु (दुईपांग्रेसमेत) सञ्चालन गर्न रोक लगाइएको छ ।

खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल, व्यवसाय सञ्चालन नगर्न भनिएको छ ।

खाद्यवस्तुका पसल, व्यवसाय बिहान १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी–गराइ खोल्न दिने सूचनामा उल्लेख छ ।

अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्थासमेतका) कर्मचारी एवं सञ्चारकर्मीहरुलाई परिचय खुल्ने कागजात साथमा राखी आवतजावत गर्न दिइएको छ ।

तर वीरगञ्ज्मा कतिपय मानिसहरु स–साना कामका लागि पनि बाहिर निस्किरहेका देखिन्छन् । सर्वसाधरणलाई हिंडडुल गर्नमा रोक लगाउन प्रहरी टोली ठाउँठाउँमा परिचालन गरिएको छ ।

प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार नागरिक जिम्मेवार देखिएका छैनन् । ‘ठाउँठाउँमा ड्युटी टोली छन्, गाडी, मोबाइल गस्ती टोली पनि परिचालन गरेका छौं,’ उनले भने, ‘अत्यावश्यक कामका लागि मात्रै निस्कन दिइएको छ । तर मानिसहरु विभिन्न बहानामा सडकमा आएका छन् । अटेरी गरिरहेका छन् । जिम्मेवार देखिएका छैनन् ।’

तस्वीर : प्रणय साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment