+
+

प्रचण्डले भने– तत्काल नयाँ सरकार बन्ने छाँट छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते ११:१२

१७ वैशाख, काठमाडौं । विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नदेखिएको बताएका छन् । नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उनले बताए ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको बताए । प्रचण्डले अहिले आफूले चाहेर मात्रै सरकार बन्न नसक्ने बताए ।

कति दिनमा सरकार बन्छ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘यसो छाँट हेर्दा त होला जस्तो छैन पो देखिंदै छ त । जसपाले निर्णय गर्दैन, जसपाले निर्णय नगरी कांग्रेस तयार हुँदैन । हामी त अहिले होस् भन्ने चाहन्छौं । हामीले मात्र चाहेर त पुग्दैन ।’

‘देउवासँग सहमति भएको छैन’

एमसीसीमा रहेका केही अस्पष्ट विषयलाई स्पष्ट गर्ने, केही परिमार्जन गर्ने र जरुरी पर्दा चिठी आदान–प्रदान मार्फत संशोधन गर्नुपर्ने पक्षमा आफू रहेको उनले बताए । ‘यो आइपिएस होइन, यसमा सुरक्षासँग सम्बन्धित होइन भन्ने विषय दस्तावेजमा नै स्पष्ट भयो भने अगाडि बढाउन सकिन्छ भन्ने विषय नेकपा हुँदैको समझदारी हो,’ प्रचण्डले भने, ‘एमसीसीलाई हामीले आउराइट रिजेक्ट (पूर्णरुपमा अस्वीकार)  कहिले पनि गरेका छैनौं । तर निःशर्त पास गर्ने भन्नेमा म छैन, त्यस्तो सहमति र सम्झौता पनि भएको छैन ।’

त्यसमा के–के स्पष्ट गर्ने, के–के संशोधन गर्ने भन्ने भयो भने र एउटा संकल्प प्रस्ताव भयो भने अगाडि बढाउन सकिने कुरा आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग भनेको जानकारी पनि उनले दिए ।

तर, एमसीसी पास गर्नेगरी कांग्रेसको नेतृत्वमा सरकार बनाउन खोजेको भनी सार्वजनिक खबरका सम्बन्धमा प्रचण्डले त्यस्तो केही पनि नभएको दाबी गरे । उनले भने, ‘एमसीसीमा केही भइसक्यो कि भन्ने जुन चर्चा भएको छ, त्यो होइन ।’

‘हाम्रो समर्थन रहेको छैन भनेर लेखेर दिने हो, फिर्ता लिने होइन’

प्रचण्डले माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन नदिएकाले विश्वासको मत फिर्ता पनि लिनु नपर्ने तर्क गरे । ‘उहाँले (ओलीले) विश्वासको मत फिर्ता ले कि, फिर्ता ले भन्नु भएको छ नि, उहाँले भन्दासम्म लिन्नँ म,’ प्रचण्डले भने, ‘हामीले बढीभन्दा बढी गर्ने भनेको अब हाम्रो समर्थन रहेको छैन भनेर लेखेर दिने हो, फिर्ता लिने होइन । समर्थन दिएको भए पो फिर्ता लिने ।’

उनले ओलीसँग सत्ता सहकार्यको लागि राजनीतिक सहमतिको तत्काल सम्भावनासमेत नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?