Comments Add Comment
संस्मरण :

खच्चड जिन्दगी !

शेफोक्सुण्डो तालमा युवराज नयाँघरे

सुइँय… सुइँय !

सिठी बज्यो, कडासँग ।

शे–फोक्सुण्डो ताल किनारबाट उकालिएको गोरेटो निकै अप्ठेरो छ । ढुङ्गा र बालुवासँगै भीर छ डरलाग्दो । तल छाँगाछुर भीर गएर हरियो दहमा जोडिएको छ ।

हामी असिनपसिन भएर माथि रोकिएका थियौं । त्यै बेला खच्चडको हुल आयो । कानै खाने गरी सिठी बजेपछि दक्षिणतिर हेरें ।

पिर्ती कराइरहेथे— ‘रोक, रोक रुप्सी !’

खच्चडको ताँती रोकियो । हामी निकै बेर पानी खाएर पसिना ओभाउन सुस्तायौं । दम फुलेको छातीले थकाइ मार्‍यो । फोक्सोमा सास भर्‍यौं ।

हामीले बाटो दियौं । फेरि खच्चड अघि बढे । धूलो उडाई–उडाई गयो खच्चडको हुल । धेरै परसम्म तिनको घन्टी बजेको सुनेर म शान्त भइरहें ।

****

कहिले खच्चडले जित्ने । कहिले हामी अघि हुने भइरह्यौं । सालघारीमा बस्दा अलिक फुर्सद भयो गफ गर्न ।

मैले सोधेथें कुमारलाई— ‘तिम्रा कति छन् खच्चड ?’

‘पाँच वटा !’

उनले आफ्ना खच्चडका नाम पनि भने — ‘मैयाँ, रुप्सी, काले, हजारी, चुइगम !’

खानपान, आनीबानी र स्वभाव पनि फरक–फरक हुँदोरहेछ खच्चडको । मान्छेसँग घुलमिल हुने खच्चडको नाम जन्म र चालामाला अनुसार राखिंदो रहेछ । कुमारले भनेथे— ‘खच्चडका धनीले सिठी बजाउँदा तिनले चिनिहाल्छन् अनि रोकिन्छन् !’

‘तिनको नाम लिनुस् त पुलुक्क हेर्छन् । कान ठाडा पारिहाल्छन् ।’

मैले नाम लिएर बोलाएँ । बाटा छेउमा पानी खाइरहेको काले खच्चडले पुलुक्क हेर्‍यो र बुर्कुसी मारेर कुद्यो ।

एक मुठी लसुन मुखमा हालिदिए चुइगमको । त्यसको पिरोले पिसाब फेर्ला कि भनेर । फेरि कुदाए बेस्सरी । लख्रक–लख्रक ऊ हिंड्यो । तैपनि पिसाब चुहिएन चुइगमको । दश–पन्ध्र मिनेट बाटो हेरे । अहँ, मुत्नै सकेन चुइगमले

****

पिर्तीका पाँच वटा खच्चड थिए ।

उनी निकै रमाइला थिए । भारी ओरालेलगत्तै पाखा, खर्क र पाटनतिर खच्चड धपाउन पिर्ती नै कुद्ने गर्थे ।

‘कति छन् खच्चड ?’

‘मैले त पाँच मात्र ल्या’छु । हिमाली, बुके, लाले, कान्छो र डल्ली छन् मेरा !’

उनले नाम टिपाए ।

कान्छोका छेउमा पिर्ती हुन्थे । बुकेले अगाडि–अगाडि बाटो लागेपछि अन्तिममा कान्छो हुन्थ्यो । पिर्तीको टाठो स्वरमा खच्चड खेदिरहेको सुनिन्थ्यो ।

उनले बजाएको सिठी मलाई निकै कडा लाग्थ्यो ।

खच्चड खेद्नेहरूमा डम्मर अर्का रमाइला र निकै हार्दिक तन्नेरी थिए । ती बाटोमा हिंड्दा–हिंड्दै पनि तास फिटेको देख्थें म । उनले खैरु, डल्ली, क्यामा, कान्छी र हिमाली नाउँका खच्चड ल्याएका थिए । खच्चडको काठी कस्न सिपालु थिए डम्मर । भारी कम–बेसी नपरोस् भनेर चनाखा हुन्थे ती ।

दिल खोलेर हाँस्थे डम्मर ।

‘खच्चड चार खुट्टाले हिंड्छ । थोरै हिंड्छ । म दुई खुट्टाले हिंड्छु । धेरै हिंड्छु’, भेटेकै दिन उनले भनेका थिए ।

डम्मरका कुरा गहिरा थिए । राति खच्चडलाई बाँधबुध गर्ने र बिहान धपाएर पाटन खेद्न ती निकै खट्थे । चरुन् है चरुन्— प्रायः उनले खच्चड भोका नहुन् भनेर चिन्ता लिएको लाग्थ्यो मलाई ।

****

दलबहादुर रोकायका दुई घोडा थिए— तारे र काले ।

उनी आफू घोडाको साहू भएकोमा अलिक बेग्लै हैसियत देखाउँथे– ‘म खच्चडे भन्दा अलिक माथ्लै हुँ नि !’

उनको बोली र सोच झण्डै उस्तै–उस्तै देखिन्थ्यो । बाटोमा ‘खैरे’लाई अप्ठेरो पर्दा उनकै घोडा तेर्सिन्थे ।

‘मेरो घोडा मर्ला नि !’ अलिकति भारी कसैले थप्यो कि उनी चिन्ता गर्थे ।

‘घोडाको काम भारी बोक्ने हो । रित्तै हिंडाउँदा त उसले पनि म धर्तीकै भारी भएँ भन्छ । तर सारा पृथ्वीकै भारी बोकाउनु त भएन नि बड्डा !’

शे–ला पासमा मैले झोला दिन खोज्दा उनले भनेको मेरो कानमा गुन्जिरहेथ्यो । बरु उनैले मेरो झोला काँधमा भिरेका थिए ।

‘हामी खच्चडे होइनौं । खच्चडवाला पनि होइनौं । खच्चड ड्राइभर भन्नु न । हाम्रो इज्जत पनि बढ्छ । मेरो नाम हो खच्चड ड्राइभर !’

छेप्कामा बेलुका आगो ताप्दा दलबहादुरले भनेका थिए । त्यो दिनदेखि म अलिक ख्याल गरी बोलाउँथें उनलाई ।

****

तराई, पहाड र हिमालसम्म खच्चडको प्रयोग गरिंदोरहेछ । नेपालमा दुई खालका खच्चड पाइने रै’छ । आफ्नै स्थानीय उत्पादनको नाम रहेछ– सिटे । अर्को रहेछ— इन्डेन । भारतबाट ल्याइएको यो प्रजाति कमजोर, चाँडै भोकाउने र रोगी खालको हुँदोरहेछ । समथरमा मात्र हिंड्ने इन्डेन निकै फितलो हुने बताए— धनबहादुरले ।

‘सिटे त उकालो निकै हिंड्छ । बलियो हुन्छ नि गजबको !’

दलबहादुरले भनेका थिए ।

‘दाना मात्र खाने त हो नि ! अलिकति भारी बोकाएर उकालो खेदे– धकाएर हिंड्नै सक्तैन । के गर्नु त्यस्तो खच्चड !’

उनले इन्डेन खच्चडको कुरा काटे ।

****

छुओरमा हामी खोला छेउमा बिसाएर खान थाल्यौं । पुग्दा नै ढिलो भइसकेको थियो । पुगेर मात्र भएन । पकाउनु पर्‍यो । खानै पर्‍यो । खैरे, भरिया, भान्साका सहयोगीसँगै खच्चड ड्राइभरसम्मले खाँदा समय निकै लाग्यो ।

प्रायः एक घन्टासम्ममा सबै जना खाईपिई हिंडिसक्थ्यौं ।

बिहान त्यो दिन दाना खुवाउन राम्रोसँग भ्याएनन् कि के हो— छुओरमा खैरीले विध्वंस मच्चायो ।

हामी खाना खाइरहेका थियौं– उफ्रीपाफ्री गर्‍यो खैरीले । ढाडको भारी खसेर डोरीमा अल्झियो । भित्तामा राखिएका भारी लडेर गुडे यता र उता । तरकारी, अन्डा, पाउरोटी धूलोपीठो होला भनेर पिर्ती, डम्मर कुमार र दलबहादुरले खैरीलाई समाते ।

चामल, दाल र मट्टीतेल घोलघाल होला भनेर डालप्रसाद, ध्यार र जयबहादुरले मिसिएका भारी छुट्याए झटपट ।

उफ्रिन छोडेन ऊ ।

चरिरहेका अरू खच्चडहरू पनि कान ठाडा–ठाडा पारेर आँखा पल्याकपुलुक पार्न थाले । एक खालको अत्यास सबैमा थियो । खैरी बस्ने, उठ्ने गर्न थाल्यो । त्यसो गर्दा भारी झरेर छिरलबिरल भयो । ऊ यताउता कुद्दा भुइँका भारी त किचिमिची भए–भए; छेउछाउ चरिरहेका अरू खच्चडका भारी पनि चुँडिए ।

एक खालको ठूलै खलबली भयो । सबै मिलेर खैरीलाई समाते । पिर्तीले गर्धन सुम्सुम्याए । निधार मुसारे डम्मरले । दलबहादुर र कुमारले दुईतिर छेकेर फकाए ।

चार जनाले निकै जोरजुलुमसँग समातेर थामथुम पार्नुपर्‍यो । बेला–बेलामा खुट्टा बड्काउन खोज्थ्यो खैरी । भुइँमा थचक्कै बसाएर राखे ड्राइभरले । खाना खाएर झटपट हिंड्ने बेलामा पिर्तीलाई सोधें– ‘के भो ? रणसंग्रामै पो मच्चायो त खच्चडले !’

‘धेरै बेर उभिनु परेकोमा रिसायो खैरी !’ उनले भने ।

‘हामीले खाना खाउन्जेल खच्चड चर्थे । हाम्रा लागि ती रोकिएका थिए । धेरै बेर लगायौं हामीले । अनि रिसाएको हो खैरी’, पिर्तीले खुलस्त पारे ।

****

शे गुम्बामा राति अबेरसम्म खच्चड ड्राइभरहरू आगो तापेर बसिरहेथे ।

‘मुख निन्याउरो देख्छु । के भयो ?’

‘आहारा नखाने ?’

मैले सोधें दलबहादुरलाई ।

‘खच्चड बिरामी छ । ऊ बिरामी भएपछि मलाई कसरी रुच्छ ?’

दलबहादुर आगो छेउमा घोत्लिइरहे । अरूहरू बगरमा देउसी खेल्न गए । उठेको पैसाले रमाइलो गर्ने भए— डम्मर, पिर्ती, कुमारले । तर दलबहादुरले एक थोपो रक्सी नखाई खच्चडको खैखबरी गरिरहे ।

बिहानीपख पो भने, ‘साह्रै थोरै पिसाब गर्‍यो । अहिलेलाई बाँच्यो । भरेसम्ममा हेरुँला !’

हामीले शे गुम्बा छोड्दा पनि उज्यालो अनुहार थिएन दलबहादुरको । खच्चडसँगै उनी पनि बिरामी परेका थिए ।

****

साल्दाङमा राम्रै हिउँ पर्‍यो। घर पछाडिको बलेसीमा ठूलो तिर्पाल तेर्सो पारेर राखिएको थियो । आँगनको त्यो फराकिलोमा ड्राइभरहरूका लागि बास बनाइएको रै’छ । खुबै हाँसो मच्चिएको थियो, अबेरसम्म । छिरिङ तिर्पालमा झम्टी–झम्टी केटाको खलबली रोक्थे ।

‘रातभरि फोन आएर हैरान भयो मोबाइलमा !’

बिहान मैले सोधें कुमारलाई ।

‘अनि के भो त ?’

फेरि खसखस पोखें ।

‘म खच्चड हँु भनेको । केटी मान्दिनँ । फोन गर्‍यागर्‍यै गरी’, कुमारले भने ।

धनबहादुरले थपे, ‘भरे फोन आउँदा कुरो मिलाउनु !’

‘तेरो काटेर खच्चडलाई । अनि खच्चडको बन्दुक ताछेर तेरोमा फिट गर्नु पर्छ । अनि कुरो मिल्छ । नत्र खच्चड भनिसकिस्— बर्बाद भै हाल्छ नि !’

हाँसो मच्चियो धेरै बेर । होहल्ला सुनेर डेबिड बाहिरै आए ।

****

ज्यान्तला पास नाघ्ने बेलुकी हामी हाइक्याम्पमा बसेका थियौं । चुइगम बिरामी पर्‍यो ।

सानो, अलिक दुब्लो र ज्ञानी खालको थियो— यो खच्चड । कुमारको खच्चड थियो चुइगम ।

ज्यान्तला पास ५,२२० मिटर उँचाइमा थियो । असाध्यै जाडो भएकाले म त तिर्पालभित्र छिरिसकेको थिएँ । ठूलो चौरमा हाम्रा तिर्पाल गाडिएका थिए ।

कोही भान्सामा, कोही स्लीपिङ व्यागभित्र । बाहिर खल्लीबल्ली भएको सुनेर आएँ म । चुइगम बिरामी भएछ । निकै बेरदेखि उसलाई छटपटी भएको रहेछ । पिसाब गर्न नसकेर यताउता गरिरहेको थियो । चर्नलाई मुख जोते पनि फेरि लुरुलुरु हिंड्थ्यो । उसको छटपटी देखेर धन, पिर्ती, कुमार र दलबहादुर उसलाई नियालिरहेका थिए ।

चुइगम बस्न खोज्थ्यो— सबै मिलेर हाहा, हुहु गरी धपाइहाल्थे । कसैगरी उसलाई बस्नै दिएनन् ।

तीन–चार घन्टादेखि छटपटाएको चुइगम मर्ने हालतमा पुगेको चिन्तामा धनबहादुर र कुमार थिए ।

निकै बेरदेखि आफैं ठीक होस् भनेर उनीहरू चुइगमका वरिपरि हेरेर घुमिरहे । तर ऊ झन्–झन् अरर्रिएर फनफनी घुम्न थाल्यो ।

धनबहादुर, कुमार र दलबहादुर भएर खच्चडलाई डोरीले अल्झाएर लडाए । थुतुनो च्यापेर बसे पिर्ती ।

अनि चुइगमको पिसाब गर्ने अङ्गमा रातो धुले खोर्सानीको एक पोका हाले । त्यसपछि बेस्सरी मुक्का हानेर कुदाए ।

‘खोल, खोल !’

पिसाब गर भनेर उनीहरूले भनिरहे, ‘खोल ! खोल !!’

तर चुइगम छटपटाएर यताउता गरिरह्यो । उसको पिसाब खुलेन । झोक्राएर ऊ घरी चौर, घरी पाटन, घरी खोलातिर, घरी हाम्रै तिर्पालतिर हिंडिरह्यो लुरुलुरु ।

खाली बस्न मात्रै खोज्थ्यो । तर हाहा–हुहु गरेर धपाइहाल्थे । ऊ कति–कति बेला त भुइँमा थेच्चिइहाल्थ्यो ।

तर चिमोटेर, घचेटेर, ठेलेर, लात्तीले ठोकेर, तानेर उसलाई खेदिछाड्थे ।

निकै बेरसम्म पनि उसले खोलेन । उसको पिसाब खुलेन ।

अनि एक मुठी लसुन मुखमा हालिदिए चुइगमको । त्यसको पिरोले पिसाब फेर्ला कि भनेर । फेरि कुदाए बेस्सरी । लख्रक–लख्रक ऊ हिंड्यो । तैपनि पिसाब चुहिएन चुइगमको । दश–पन्ध्र मिनेट बाटो हेरे । अहँ, मुत्नै सकेन चुइगमले ।

यसो पुच्छर उठाएर कठिनसँग एक डल्लो लिदी निकाल्यो । तर मरिगए पिसाब गर्न सकेन ।

बरु लत्रङ्ग लिङ्ग निकालेर हिंडिरह्यो ।

सबै कराइरा’छन्— ‘खोल ! खोल !!’

जति गरे पनि उसले पिसाब फेरेन ।

ऊ टाङ फट्याएर उभिन्थ्यो पिसाब फेर्न । तर आउँदैनथ्यो, एक थोपा । कनेर एक–दुई थोपा भए पनि निकाल्न खोज्थ्यो ऊ । तर सकिरहेको थिएन ।

उसका आँखैबाट बरु आँसु चुहिएर बगिरहेका थिए ।

कुद्दा–कुद्दा ऊ थाकेथ्यो । कुद्ने जातै हो नि खच्चड । आज ऊ कुद्न मानिरहेको थिएन । तर कुदाई–कुदाई उसलाई बचाउन खोजिरहेका थिए ।

‘लोकल ओखतीले काम गरेन !’

माटो फुकफाक गरेर छ्यापे धनबहादुरले ।

हाम्रो तिर्पाल छेउमा आएर बस्न खोजेको थियो, चुइगम । घेरा हालेर डोरीले कसेर लडाए ।

खच्चडको लामो पुच्छर पन्छाएर चक्कुले टुप्पोमा घोचेर घाउ बनाए । त्यसरी चिरेपछि केही अत्तालियो चुइगम । पीडामा रन्थनिएर झण्डै घुँडा टोकिदिएथ्यो कुमारको ।

‘खोई रगतै आउँदैन त यस्किमा टोक्नेको !’

धनबहादुरै आत्तिइसकेका थिए ।

थुतुनोमा पनि चक्कुले चिरे । दुई ठाउँमा काटेपछि पीडाले अत्तालिएर पिसाब फेर्दो रहेछ खच्चडले । केही अघि डाक्टरी ओखती पनि खुवाएका थिए ।

‘गर्नुविधि सबै गरे !’

‘अब एक घन्टामा पनि छ्वालछ्वाली मुतेन भने भरे फेरि गर्धनमा सुई ग्वाम्म रोप्नुपर्छ ।’

‘पिर्ती, सुई ठीक पारिराख है !’

धनबहादुर कराइरहेथे ।

केहीअघि भाङ र आफ्नै पिसाब पनि खुवाएका थिए चुइगमलाई । तर यति धेरै ओखतीमुलो गर्दा पनि उसले पिसाब तुर्काएन ।

‘खोल–खोल !’

अरू खच्चडलाई पनि पिसाब फेर भन्दै थिए— कुमार, पिर्ती । अरूले पिसाब फेरेको देखेर कतै चुहिन्थ्यो कि चुइगमको ? आशा मरेको थिएन ।

म तिर्पालभित्र पस्दा पाखातिर लखेटिरहेकै थिए— चुइगमलाई मुताउनकै लागि ।

बिहानै सोधें— ‘के छ खबर चुइगमको ?’

‘मुत्यो, आधा रातमा !’

धनबहादुर बोले ।

‘अब मर्दैन । बाँच्यो–बाँच्यो !’

पिर्तीले थपथाप गरे ।

****

खच्चडको जीवनशैली अनौठो रहेछ । आफ्नै सन्तान हुँदोरहेनछ खच्चडको । त्यसलाई घोडासँग सहवास गराएपछि खच्चड जन्मिंदो रहेछ । खच्चडका भाले–पोथीको सम्भोगबाट खच्चड जन्मिंदो रहेनछ ।

खच्चडले यौन तिर्खा मेटाउन घोडालाई टोकी–टोकी सहवास गराउँदो रहेछ । खच्चडसँग संसर्ग गर्दा सन्तान नजन्मिने भएकाले पोथी खच्चड पनि घोडातिरै आकर्षित हँुदोरहेछ ।

खच्चडहरू पिसाब फेर्न नसक्दा बिरामी हुँदा रै’छन् । पिसाब फेर्ने बेलामा कसैले बाधा पुर्‍याए खच्चडको पेट फुल्दो रहेछ । अनि समयमा पिसाब नखुले, केही घन्टामा मर्दो रहेछ ।

त्यै भएर पिसाब गराउन बेला–बेलामा ड्राइभरहरू कराइरहेकै हुन्थे– ‘खोल–खोल !’

अनि ताँती लागेर खच्चडका हुल छ्वालाला तुर्काइरहेका हुन्थे । मानौं– सानोतिनो खहरे झर्दैछ छङछङाएर ।

****

तिवाको उकालो चढ्दै गर्दा खोलामै रोकिएँ म ।

तल खोलादेखि नै खच्चडका बथान ठाउँठाउँमा माथि डाँडैसम्म रोकिएथे । तल पुछारमा बस्ने धनबहादुर कराए– ‘खैरेहरू रोक्नु है । कोही पनि नजानू !’

अनि हामी सबै बगरमै उभियौं । हावा र चिसो स्याँठ बेस्सरी चलेको थियो । बेला–बेला घाम पनि जङ्गिएर चर्कन्थ्यो ।

‘खोल ! खोल !!’

फकाई–फकाई धनबहादुर कराए जोडले ।

पिर्ती र कुमार पनि कराए चर्कैसँग– ‘खोल ! खोल !!’

अनि माथि डाँडैदेखि उभिएका सबै खच्चडले छलछली पिसाब फेरे । एउटाले फेरेको देखेपछि अर्काले, अर्काले फेरेपछि झन् अर्काले । यसरी नै सबैले पिसाब फेरे ।

हिजैदेखि थलिएको चुइगमले पनि मरीतरी दुई-चार थोपा तुक्र्यायो । अरूले आरी घोप्टाए झैं मुते पनि चुइगमले तुक्र्याएकोमा उज्यालो अनुहार थियो धनबहादुरको ।

उनको उज्यालोमा थपिएका थियौं, हामी पनि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment