Comments Add Comment
कुशल भुर्तेल : :

दृढ अठोटले बनेका स्टार

परीक्षा छाडेर एनपीएल खेल्न धनगढी 

१६ वैशाख काठमाडौं । सन् २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा नेपाली टोली तीन चरणमा ढाका पुग्यो । नोभेम्बर १४ मा नेपालको पहिलो खेल भारत इमर्जिङ टिमसँग थियो । कुशल भुर्तेल लगायत सात जनाको टोली त्यसको अघिल्लो दिन मात्र बंगलादेश पुग्यो ।

पहिलो पटक भुर्तेल सिनियर टिममा परेका थिए । उनी खेल्ने कि नखेल्ने अनिश्चित थियो । तर भोलिपल्टै उनले भारतको इमर्जिङ टिम विरुद्ध खेल्दै नेपालको लागि लिस्ट–ए मा डेब्यु गरे ।

५० ओभरको खेलमा उनले कप्तान ज्ञानेन्द्र मल्लसँगै ओपनिङ गरे । त्यसअघि क्यान सदस्य प्रशान्तविक्रम मल्लले उनलाई डेब्यु क्याप प्रदान गरेका थिए ।

कुशल आफैंलाई पनि त्यो आश्चर्यजनक लागेको थियो ।

बंगलादेशमा मेरो जीवनकै पहिलो ओपनिङ थियो, इन्टरनेशनल वा डोमेस्टिक दुवैमा । टी–२० मा त ओपनिङ गरिराखेको थिएँ,’ भुर्तेलले त्यो क्षण सम्झिए, ‘त्यो खेलका लागि हाम्रो फ्लाइट १३ तारिखमा थियो । राति १० बजे होटलमा पुगेका थियौं । भोलि खेल थियो तर आज रातिसम्म पनि खेल्ने नखेल्ने टुंगो थिएन ।

अर्को दिन उनले खेल्नुपर्ने भयो । उनी नर्भस भए । देशको लागि सिनियर टिममा पहिलो खेल थियो उनका लागि त्यो ।

राष्ट्रिय टिममा खेल्ने ड्रिम त हुन्छ । अलिकति खुशी पनि भएँ डेब्यु क्याप पनि पाएँ । अनि एज युजुएल गेम खेलें,’ उनले स्मरण गरे ।

सिनियर टिममा कुशलको पहिलो खेलमा उनले भारत विरुद्ध ६० बल खेल्दै ४ चौकाको मद्दतमा २८ रन बनाए । त्यसपछि उनले हङकङ र बंगलादेशको इमर्जिङ टिमसँग खेले ।

नेपालमा गत शनिबार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजअघि उनले सिनियर टिमका लागि खेलेको यही तीन खेल थियो । ओडीआई र टी–२० आई खेलेका थिए ।

त्रिकोणात्मक टी–२० सिरिज अघिसम्म कुशल भुर्तेलको नाम नेपालमा पनि धेरैले सुनेका थिएनन् होला ! तर एक साताको सिरिजपछि भुर्तेलको परिचयमा परिवर्तन आयो । उनले विश्व कीर्तिमान बनाए । नेपालले सिरिजको उपाधि जित्दा उनले सर्वाधिक रन बनाए । अनि प्लेअर अफ दी सिरिज हुँदै पल्सर मोटरबाइक जिते ।

पछिल्लो एक साताको प्रदर्शनले कुशल अहिले चर्चित खेलाडी बने । तर यो सफलता रातारात उनको हात लागेको भने होइन । संघर्ष र धैर्य गर्दै चुनौतीको सामना गरेर उनले पाएको अवसरलाई सफलतामा परिणत गरेका हुन् ।

त्रिकोणात्मक टी–२० सिरिज अघिसम्म कुशल भुर्तेलको नाम नेपालमा पनि धेरैले सुनेका थिएनन् होला ! तर एक साताको सिरिजपछि भुर्तेलको परिचयमा परिवर्तन आयो । उनले विश्व कीर्तिमान बनाए ।

त्रिकोणात्मक सिरिजअघि टिम घोषणा हुँदा कुशल भुर्तेल पनि टिममा अटाए । टी–२० खेल्ने टिममा उनी यसअघि १३औं सागमा पनि परेका थिए । तर, खेल्ने अवसर पाएनन् ।

यसपटक सिरिजका लागि घोषित टिममा स्पिनर शहाब आलम सिनियर टिममा नयाँ थिए । आसिफ शेख पनि टी–२० खेल्ने टिममा पहिलोपटक परेका थिए । यी दुईसँगै कुशल र कमलसिंह ऐरीले टी–२० आईमा डेब्यु गर्न बाँकी थियो ।

कमलले गत वर्ष घरेलु मैदानमा ओडीआईमा डेब्यु गरे पनि टी–२० आई खेलेका थिएनन् । प्रतियोगिता सकिंदा यी चारै खेलाडीले डेब्यु त गरे तर कुशलले प्रदर्शन पनि गज्जब गरे । उनले डेब्युमै ६२ रन बनाउँदै अर्धशतक जोडे । त्यसपछि दुई खेलमा पनि अर्धशतक प्रहार गर्दै शुरूको तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने विश्व कीर्तिमान बनाए ।

सिरिजभर चार अर्धशतकसहित सर्वाधिक २७८ रन बनाए । अनि नेपालका लागि टी–२० आईमा सर्वाधिक चार अर्धशतक प्रहार गर्ने पारस खड्कासँग बराबरी गरे ।

टी–२० सिरिजमा पनि उनले ओपनिङ गर्दै कीर्तिमान बनाए ।

०००

घरेलु मैदानमा नेपालले ११ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो उपाधि जितेको हो । यसमा भुर्तेल नायक नै भए । ओपनिङमा निर्विकल्प रूपमा उनी छाएका छन् । तर यसका लागि कुशलले संघर्ष निकै गरे ।

‘निरन्तर मिहिनेत नगरेको भए आज यो दिन आउँथेन होला वा पहिले नै सफलता पाएको भए पनि अहिले यो उपलब्धि हात पर्दैनथ्यो होला,’ उनले भने ।

यस सिरिजमा पनि कुशलका लागि धेरै चुनौती थिए । पहिलो पटक उनी टी–२० आई खेल्ने तयारीमा थिए । ‘व्यक्तिगत रूपमा चुनौती पनि थियो । प्रतिस्पर्धा धेरै थियो । क्याम्पमा पनि सबैले प्रदर्शन राम्रो गरिराखेका थिए’ भुर्तेलले भने, ‘कसलाई कहाँ खेलाउने भन्ने थियो । दुर्भाग्यवश पारस दाइ इन्जर्ड हुनुभयो । आसिफ र म राम्रो गरिरा’थ्यौं क्याम्पमा । कोचको पनि दुवैलाई खेलाउने मन थियो । तर हामी एक मात्र खेल्न पाउँथ्यौं होला, पछि पारस दाइ इन्जर्ड भएपछि लगभग फिक्स भयो दुई जनासँगै खेल्ने भनेर ।’ भुर्तेलले ओपनिङमा राम्रो जोडी भेटिएको र यो संकेत पनि हुनसक्ने आँकलन पनि गरे ।

ब्याटिङ, त्यसमा पनि नेपालको ओपनिङबारे यसअघि निकै टीकाटिप्पणी हुने गर्थे । पावर प्लेमा विकेट गुमाउने । सम्हालिन नसक्ने । तर यसपटक त्यस्तो भएन । कुशल र आसिफले राम्रो शुरुआत दिलाए । त्यसपछि मिडल अर्डरले राम्रो ब्याटिङ गरे ।

‘पहिलादेखि हाम्रो ब्याटिङ छैन, राम्रो भएन भन्ने थियो । यो सिरिजमा ओभरअल हेर्ने हो भने सबैको ब्याटिङ राम्रो भयो । सबैले ब्याट र बलमा राम्रो गरे’ भुर्तेलले भने, ‘हाम्रो पहिलेदेखि योजना थियो, सिरिजमा मलेशिया नेदरल्याण्ड्सलाई  डोमिनेट गर्ने । त्यसमा हामी सफल भयौं ।’

घरेलु मैदानमा दर्शकका अघि पहिलोपटक टी–२० आई खेल्दै गरे पनि उनले धेरै दबाब भने लिएनन् । ‘पहिलो म्याच भनेर प्रेसर लिइनँ । जसरी क्याम्पमा हामी ब्याटिङ गरिराख्थ्यौं त्यसैगरी गर्ने हो । अलिकति डर त लागिहाल्छ, पहिलो खेल त्यसमा पनि त्यति धेरै क्राउड थियो ।’

उनले त्यो दबाब पनि नलिएर टिमलाई कसरी जिताउन सकिन्छ, कसरी कन्ट्रिब्युट गर्न सकिन्छ भन्ने आसिफ र उनको मनमा थियो । ‘त्यही गर्यौं र सफल पनि भयौं,’ उनले भने ।

नेपालले अर्को वर्षको शुरूमै टी–२० वर्ल्डकप ग्लोबल क्वालिफायर खेल्ने तय गरेको छ । त्यसका लागि यो सिरिज तयारीको पहिलो खुड्किलो बनेको छ ।

‘अहिलेदेखि नै शुरु गरौं कसरी हुन्छ राम्रो क्रिकेट खेलौं भन्ने योजना थियो सफल भइयो, वल्र्डकप क्वालिफायरका लागि हामीले यसलाई अवसरका रूपमा लिएका थियौं,’ उनले भने ।

१४ महिनापछि घरेलु मैदानमा सिरिज खेल्दा कुशल व्यक्तिगत भन्दा टिमको जितमै केन्द्रित थिए । ‘सबैले राम्रो गरौं, घरेलु मैदानमा सिरिज जितौं भन्ने योजना थियो । रेकर्डहरू बने,’ उनले भने ।

नयाँ प्रशिक्षक डेभ वाटमोरको प्रभाव नेपाली टिम र कुशलमा पनि देखियो । यसअघि चाँडै आउट हुने नेपाली खेलाडी यसपटक टिकेर खेल्न थाले ।

‘सरको राम्रो पक्ष भनेको नराम्रो गर्दा पनि सपोर्ट गर्नुहुन्थ्यो । सानो सानो कुरामा पनि म्याटर गर्नुहुनेरैछ,’ उनले भने, ‘२०–३० रनलाई ठूलो स्कोर कसरी बनाउने सरले सिकाउनुभयो ।’

संघर्ष

कुशलको यो सफलता एक दिनमा आएको होइन । उनले यसका लागि धेरै मिहिनेत गरे । यसअघि उनी प्रारम्भिक क्याम्पमा पर्थे, वैकल्पिकमा । तर अन्तिम टिममा उनको नाम हुँदैनथ्यो ।  ‘संघर्ष धेरै गर्नुपर्यो । अलि अलि ममा केही कुरा कमी थियो होला । त्यही भएर टिममा उत्कृष्ट १५ भित्र पर्न सकिनँ,’ उनले पुराना दिन सम्झिए, ‘त्यतिबेला टिममा नपर्दा दुःख लाग्थ्यो ।’

त्यतिखेल सफल भए पनि आफूलाई तयारी गर्न समय मिलेको र तयारीमा लागेको उनी बताउँछन् ।

कुशल सानैदेखि खेलप्रेमी थिए । जुनसुकै खेल पनि खेल्ने । पढाइभन्दा ध्यान खेलमा दिन्थे । त्यसैबेला २०११ मा कोरियाबाट उनका बुबा दीपक भुर्तेल नेपाल फर्किए । उनले बुटबलमा न्यू युनिभर्सल कम्प्युटर इन्ष्टिच्युट खोले । अनि स्कुल लेभलको टुर्नामेन्ट गराउन थाले । त्यसमा कुशलले अरनिको स्कुलबाट खेल्न थाले । कुशल कक्षा ८ मा पढ्थे । त्यसपछि भने उनले क्रिकेटलाई निरन्तरता दिए ।

यू–१६ राष्ट्रिय प्रतियोगितामा उनले क्षेत्र नम्बर ४ बाट खेले । त्यसमा राम्रो गरेपछि उनी राष्ट्रिय टिममा पर्दै एसीसी यू–१६ प्रतियोगिता खेल्न मलेसिया पुगे । दीपेन्द्र चन्द कप्तान थिए । अहिले ओपनिङ जोडी आसिफ पनि त्यो टिममा थिए ।

कुशलको त्यो पहिलो अन्तर्राष्ट्रिय टुर्नामेन्ट थियो । तर उनका लागि त्यो सुखद भएन । पहिलो खेलपछि अभ्यासका क्रममा उनको हात भाँचियो । बाँकी खेल नखेली फर्किए ।

२०१५ मा मलेसियामै भएको आईसीसी यू–१९ विश्वकप छनोटमा भने सौरभ खनाल घाइते भएपछि मात्र कुशल टिममा परेका थिए । तर त्यसमा उनले एक खेल पनि खेल्न पाएनन् ।

टर्निङ प्वाइन्ट यू–१९ विश्वकप

छनोट खेल्न नपाए पनि २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकप खेल्ने टिममा कुशल अटाए । जहाँबाट सन्दीप लामिछानेको उदय भयो ।

त्यो विश्वकपमा कुशलले लोअर अर्डरमा खेलेका थिए । नेपाल क्वार्टरफाइनलसम्म पुगेको थियो । समूह चरणमा नेपालले पहिलो खेलमै न्युजिल्याण्डलाई पराजित गर्दै कुशलले अविजित ३५ रन बनाएका थिए ।

‘पहिला लोअर अर्डर नै खेल्थें । यू–१६ विश्वकप पनि राम्रै भयो । टिमले राम्रो गर्यो,’ उनले सम्झिए । त्यो विश्वकप खेलेर आएपछि अधिकांश खेलाडी कुशलसँगै नेपाल पुलिस क्लबमा आबद्ध भए ।

‘एपीएफ र आर्मीको टिममा सिनियर खेलाडीहरू थिए । पुलिसको टिम थिएन । त्यसैले पुलिसमा जुनियर खेलाडीहरूलाई अवसर दिइयो’ उनले भने, ‘त्यो यू–१९ का केटाहरू टिममा आए राम्रो गरे । त्यो मेरो टर्निङ प्वाइन्ट जस्तो लाग्छ ।’

यू–१९ खेलेका धेरै खेलाडी अहिले पुलिस टिममै छन् । त्यसले टिमको कम्बिनेसन पनि राम्रो भएको कुशलले बताए ।

त्यसपछि ओपनर बने

यू–१९ विश्वकप खेलेर आएपछि कुशलले पहिलो संस्करणको एभरेष्ट प्रिमियर लिगमा शरद भेषवाकरको टिम तेज पञ्चकन्याबाट खेले । जसमा तेजले उपाधि जित्यो । २०१७ मा उनले ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेले ।

यी सबैमा उनले लोअर अर्डरमै खेले । तर २०१८ मा पोखरामा भएको पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा उनले ओपनरको रूपमा नयाँ भूमिका पाए ।

‘यू–१९ विश्वकप खेलेर आएपछि विभिन्न फ्रेन्चाइजमा खेल्दा मैले फास्ट बलिङ राम्रो खेल्छु जस्तो सबैलाई लाग्यो । अनि  पीपीएलमा म शरद दाइकै टिम पोखरा पल्टनमा थिएँ । त्यहीं उहाँले मलाई ओपनर बनाउनुभयो,’ कुशलले भने, ‘पोखरा टी–२० मा शरद दाइले ओपनरको रूपमा खेलाउनुभयो । त्यसपछि मेरो ओपनिङ यात्रा शुरु भयो । विस्तारै सबै फ्रेन्चाइजमा ओपनिङ गर्न थालें ।’

त्यसपछि उनी प्राक्टिसमा पनि नयाँ बल खेल्न थाले । ओपनिङकै रूपमा खेल्न थाले । त्यसले गर्दा ओपनिङ गर्ने कन्फिडेन्ट बढेको हो ।

‘प्राक्टिसमा नयाँ बल खेल्न थालें । पोखरा पल्टनपछि पुलिसबाट पनि ओपनिङ खेल्न थालें । त्यहाँ पनि कम्फर्टेबल फिल भयो । पावर प्ले युज गर्ने मलाई थाहा थियो । प्रदर्शन भयो अनि आत्मविश्वास पनि बढ्दै गयो,’ उनले भने । त्यसपछि उनी नयाँ भूमिकामा पनि अभ्यस्त हुँदै गए । जसको प्रभाव उनले भर्खरै सकिएको टी–२० सिरिजमा पनि देखाइसकेका छन् ।

यो सफलता रातारात उनको हात लागेको भने होइन । संघर्ष र धैर्य गर्दै चुनौतीको सामना गरेर उनले पाएको अवसरलाई सफलतामा परिणत गरेका हुन् ।

000

गत माघमा भएको चौथो संस्करणको प्रधानमन्त्री कपबाट कुशलले घरेलु क्रिकेट ५० ओभरमा पनि ओपनिङ गरे । पुलिसमा सुनिल धमला, अमित श्रेष्ठ, दिलीप नाथ र अनिल शाहहरू ओपनिङमा खेल्दै आएका थिए । तैपनि कुशलले सुनिलसँग ओपनिङ गरे ।

नेपालले चैतमा ओमान त्रिकोणात्मक सिरिज खेल्ने तय थियो । त्यसैका लागि बन्द प्रशिक्षणमा पुलिसकै मनोज कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रूपमा थिए । ‘त्यही क्याम्पमा राम्रो प्रदर्शन गरेको देखेर मनोज दाइले मलाई प्रधानमन्त्री कपमा पहिलो पटक ओपनिङ गराउनुभयो । त्यसपछि मेयर कपमा पनि ओपनिङ गरें ।’

त्यसअघि उनी पुलिसका लागि ७/८ नम्बरमा ब्याटिङ गर्दै आएका थिए ।

सफलता

कुशलको क्रिकेट यात्राले एक दशक छोएको छ । यसमा केही राम्रो समय पनि आयो । नराम्रो पनि भयो । तर उनले क्रिकेटको साथ छोडेनन् । उनी सफलताकै प्रतीक्षामा थिए ।

‘मलाई थाहा थियो, बाबालाई पनि थाहा थियो एक दिन सफलता आउँछ भन्ने । धैर्य गरेर बसेको थिएँ । अहिले सफलता पाउँदा खुशी छु ।’ उनको सफलतामा उनका बुबाको साथ ठूलो छ । परिवारको साथ विना केही नहुने उनले बताए ।

एक पटक यस्तो समय आयो क्रिकेट कि परीक्षा भन्ने । कुशल परीक्षा दिन चाहन्थे । तर उनको बुवाले नै उनलाई क्रिकेट खेल्न पठाए ।

‘धनगढीमा एनपीएल भएको थियो । मेरो कक्षा ११ को बोर्ड परीक्षा थियो । त्यतिखेर मैले परीक्षा दिन्छु भनेको थिएँ तर बाबाले खेल्न जाऊ परीक्षा पछि दिंदा पनि हुन्छ भन्नुभयो’ कुशलले भने, ‘बुवाले पढाइभन्दा पनि क्रिकेटलाई महत्व दिनुभयो । परिवारको सपोर्ट विना केही हुँदैन ।’

कुशललाई कुनै समय क्रिकेट छाड्ने अवस्था पनि आयो कि ? ‘त्यस्तो याद छैन । त्यही परीक्षाको बेला खेल्न नजाने भनेको थिएँ, बुबाले पठाउनुभयो ।’  आफूले सानैदेखि माया गरेको खेल कसरी छाडिन्छ भन्नेबारे उने सोचेका छैनन् ।

क्रिकेटमा लागेर कुशलले अहिले देशमा मात्र नभएर विदेशमा समेत चर्चा कमाएका छन् । उनी यस्तै दिनको पर्खाइमा थिए । त्यो पूरा भयो । तर अझै धेरै गर्न बाँकी रहेको उनले बताए ।

‘सिनियर दाइहरूले धेरै खेल्नुभयो । हामीलाई वल्र्डकप पुर्याउनुभयो । प्लेटफर्म क्रिएट गर्नुभएको छ । पारस, ज्ञानेन्द्र दाइहरू खेलिरहनुभएको छ’ उनले भने, ‘टिममा अनुभवी खेलाडी पनि चाहिन्छ गाइड गर्न । त्यो कुरा कमी हुन दिनुभएको छैन । अब हाम्रो रेस्पोन्सिबिलिटी धेरै छ । दाइहरू नभए पनि हामीले राम्रो गर्नुपर्छ ।’

अब तत्काल नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । मेमा नामिबियासँग नेपाले एकदिवसीय सिरिज खेल्ने तयारी गरेको छ । यदि सिरिज भएमा राम्रो हुने उनको बुझाइ छ ।

क्रिकेट खेल्दा केही समय पढाइ छुटे पनि उनी फेरि निरन्तरता दिइरहेका छन् ।

कुशलको मन पर्ने खेलाडी शरद भेषवाकर हुन् । कतिसम्म भने २०१४ मा धनगढीमा एनपीएल हुँदा सेलेक्सन गेम टीयू मैदानमा भएको थियो । त्यतिबेला सबै टिममा खेलाडी मिलाएर राखिएको थियो । कुशलको इच्छा शरदकै टिममा परोस् भन्ने थियो ।

‘मैले मनमनै शरद दाइको टिममा परुँ भनेर भनेको थिएँ । भाग्यवश शदर दाइकै टिममा परें’ उनले सम्झिए, ‘दाइकै टिमबाट एनपीएल, इपीएल, पीपीएल खेलें । एनपीएल र पीपीएल जित्यौं । उहाँसँग धेरै सम्झनाहरू जोडिएको छ ।’ उनी फ्यान भने अष्ट्रेलियन पूर्व कप्तान रिक्की पोन्टिङका हुन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment