Comments Add Comment

मृत्युको मुखबाट फर्केपछि…

अनिर्णयको भुमरीमा जेलिएको मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा तराईका जनतासँग साक्षात्कार गर्दै जनकपुरबाट नेपालगञ्जसम्मको यात्रा तय गरिरहँदा मुलुक फेरि कोभिडको त्रासमा फसिसकेको प्रत्यक्ष अनुभव गर्न पुगें ।

नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा फरक प्रसङ्गमा निस्किएको म स्वयं पंक्तिकारको यात्रा एकाएक मृत्युको मुखतर्फ मोडिन पुग्यो । नेपालगञ्जको बसाइमा असह्य तरिकाले शरीर दुख्न शुरू भयो । लगातार खोकी बढ्न थाल्यो, अत्यधिक गर्मीलाई छल्नका लागि लगातार एसीमा बसेकोले समस्या आएको हो कि भन्ने लाग्यो । एसी बन्द गरेर पनि बस्ने कोशिश गरें तर खोकी र ज्वरो रोकिएन ।

सामान्य सिटामोल प्रयोग गर्दा समेत ज्वरो नघटेपछि डाक्टरसँगको परामर्शमा एण्टिबायोटिक औषधि पनि शुरू गरें तर तीन दिनसम्म पनि उक्त औषधिले काम गरेन । बेजोड तरिकाले खोकी लाग्ने । रगत मिसिएको खकार र सिंगान आउने समस्या बढ्न थाल्यो ।

श्वास–प्रश्वासमा समस्या देखापरेपछि तत्काल पीसीआर टेष्ट गरी उपचारमा लाग्नुपर्ने डाक्टरको सुझाव प्राप्त भएपछि साथीहरूले तत्काल हवाई माध्यममार्फत काठमाडौंको मेडिसिटी हस्पिटलको इमर्जेन्सीमा पुर्‍याउनुभयो ।

मेडिसिटी हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोभिड पोजेटिभ देखियो । सम्पूर्ण शारीरिक जाँच गर्दा कोरोनाभाइरसले नराम्रो तरिकाले आक्रमण गरिसकेको रहेछ । फोक्सोमा निमोनिया फैलिएकोले सास फेर्न मुश्किल परेको रहेछ ।

आईसीयूमा राखेर उपचार गर्नुपर्ने खालको समस्या रहेकोले आईसीयूमा भर्ना गरेर चिकित्सकको टोलीले मेरो उपचार अगाडि बढाइरहनुभयो । उहाँहरूको एउटै आवाज थियो ‘तपाईंमा आत्मविश्वास हुनुपर्छ । हाम्रो मात्र हातमा केही छैन ।’

‘खोकी निरन्तर छ । सास फेर्न गाह्रो भएको अवस्था छ त्यसमाथि प्रमुख उपचार विधि भनेको आत्मविश्वास हो’ भन्ने डाक्टरको सुझाव छ । आत्मविश्वास जति बढाउन खोजे पनि मन कमजोर नै हुँदोरहेछ । बाँच्ने आशा कम भइरहेको थियो । मनभरी केवल ६ वर्षीया छोरीको मात्र सम्झना आइरह्यो । छोरीको लागि भए पनि ममाथि कृपा गर भगवान भन्ने मनमा प्रार्थना गरिरहें ।

सरकारले जारी गरेको सूचना र डाक्टरले दिएको सुझावलाई आम नागरिकले पूर्ण रूपमा परिपालना गर्न सके अकालमा ज्यान जानबाट बच्न सकिएला । सजग हुँदाहुँदै पनि म त मृत्युको मुखमा पुगेर फर्किएँ । ९ दिनको आईसीयू बेडको बसाइपछि अझै अस्पतालकै जनरल बेडमा छु । अब छिट्टै अस्पतालको बसाइबाट विदा पाउने आशामा छु ।

२०७८ वैशाख १० गते रातिको समय थियो । एक्कासि खोकी लाग्यो । सास बन्द भए झैं भयो । तत्काल भेन्टिलेटरमा राख्ने तयारी शुरु भयो । यो रात नै मेरो जीवनको अन्तिम रात बन्दैछ भन्ने मलाई लागेको थियो । विस्तारै श्वास–प्रश्वासमा सुधार आउन थालेपछि पुनः जीवन बाँचिने आशा पलायो ।

छेउछाउका बेडमा आफ्नै उमेर समूहका पुरुषहरूलाई भेन्टिलेटरमा राखिएको छ । भेन्टिलेटर जोडेको बिरामी निको भएको मेरो बसाइमा देख्न पाइनँ । भर्ना भएका बिरामीले सकभर थाहा नपाउन् भनेर मृत्यु हुनेहरूलाई गोप्य तरिकाले बाहिर निकाल्ने प्रयत्न हुने रहेछ । ‘सबैतिर पर्दा झार्नुस्’ भन्दै जीवन गुमाउनेहरूलाई बाहिर निकालेको दृश्यले अझै मन पोलिरहेको छ ।

दैनिकजसो कोभिडकै कारण आफ्ना बुवाआमा गुमाउन परेका कति अबोध बालबालिका बेसहारा र टुहुराटुहुरी बनिरहेका छन् । यस्तो कहालीलाग्दो समयको कल्पना गर्दा पनि मन अत्तासिन्छ । सबै छोराछोरीहरूको मुहारमा आफ्नै सन्तानको आकृति झल्किन्छ ।

आईसीयू बेडमा सुताइएका बिरामी बाहेक चारैतिर अन्तरिक्ष यात्री जस्तै देखिने स्वास्थ्यकर्मीहरू खटिएको देख्दा बिरामीका लागि उनीहरू नै भगवान भएजस्तो आभास हुन्छ ।

डाक्टरको निर्देशन अनुसार स्टाफ नर्स नजिकै आएर समस्या सोधिरहने, आत्मबल बढाउन हौसला दिने, खाना खान प्रेरित गर्ने, औषधि नियमित चलाउने, खुवाउने, शारीरिक तापक्रम जाँचिरहने, मुटुको चाल नियमित हेरिरहने, शरीरमा अक्सिजनको मात्राको ख्याल पुर्‍याउने लगायत आवश्यक केयरिङ स्टाफ नर्सले गरिरहँदा लाग्थ्यो आफू बालक हँुदा आमाबाट मात्र यस्तो केयर पाइयो होला खाना खुवाइदिने ।

दिसापिसाब गराउने, सफा गरिदिने, कुनै घृणाभाव नराख्ने स्टाफ नर्स त भगवानको अवतार जस्तै महसूस भयो । हुन त शतप्रतिशत सबै उत्कृष्ट नै हुन्छन् भन्न त सकिंदैन तर यो कोभिडको महामारीमा पनि अहोरात्र खटिने ९९ प्रतिशत भन्दा बढी स्वास्थ्यकर्मी भगवानको अवतारको रूपमा ग्रहण गरेको छु । यो तरिकाको निस्वार्थ केयरिङ त शायद कसैबाट पनि पाइँदैन होला । बिरामीको लागि ठूलो औषधि मायाममता नै चाहिने रहेछ ।

गत वर्ष चीनको वुहानबाट शुरू भएको कोरोना महामारीले विश्वलाई त्रासदीपूर्ण अवस्थामा पुर्‍याइरहेको परिप्रेक्ष्यमा नेपालमा यसले भयावह रूप लिन सक्ने परिस्थिति पैदा भएको छ । उपचारको अभावमा धेरै नागरिकले ज्यान गुमाउने स्थिति दिनप्रतिदिन बढिरहेको छ ।

सरकारले समयमै दूरगामी निर्णय गर्न नसकेकै कारण फेरि नेपाली जनताले दुःख पाउने निश्चितै छ । अब सरकारको मुख ताकेर मात्र समस्या समाधान नियन्त्रणमा रहने देखिंदैन । आम नागरिक आफैं सजग हुनुपर्ने परिस्थिति पैदा भएको छ ।

यतिबेला गत वर्षको यसै समयको घटनाको संस्मरण भएको छ । उक्त घटनालाई बाह्रखरीमा पनि उल्लेख गरेको थिएँ । एकाबिहानै खबर सुनियो– कपिलवस्तु बाणगङ्गास्थित मेरो घरको छिमेकमा छयासी वर्षीय वृद्धको निधन भयो ।

चारैतिर कोरोनाको त्रास छ । दुःख परेको घरमा नगई घरैमा बस्न मन मानेन । त्यसैले सतर्क हुँदै उक्त घरमा पुगेको थिएँ । करीब पचहत्तर जना जति मलामी जाने तरखरमा थिए । म भने भीडभाडभन्दा केही पर उभिएको थिएँ ।

एक्कासि एक जना वृद्ध आएर– ‘कहिले आएको बाबु !’ भनेर धाप मार्नुभयो । ‘अस्ति आएको बा’ भनेर जवाफ त दिएँ मनभित्रको त्रास भने बढेर गयो । हत्तपत्त घरमा आएर आफूले लगाएका कपडा बाहिरै खोली साबुनपानीले नुहाएपछि मन केही हलुका भयो ।

‘अस्ति भर्खर हाम्रो घरमा आएका एकजना छिमेकीलाई स्कूलको कोठामा थुनेर राखेका छन् रे’ – मेरो बुबाले भनेपछि त मन झन् आत्तियो । भारतबाट फर्किएका हुनाले निगरानीको लागि उनलाई ‘क्वारेन्टाइन’ मा राखिएको रहेछ । धन्न ती मानिस हाम्रो घरभित्र प्रवेश गरेका रहेनछन् । कतै घरभित्र बसेर गएका पो हुन् कि भनेर मन झन् आत्तिएको थियो ।

अहिले पुनः समाजमा व्याप्त त्रासले गत वर्षको घटनालाई स्मरण गरायो । कोरोनाभाइरसले यतिबेला भारतमा ठूलो क्षति पुर्‍याएको छ । नेपाल पनि उच्च जोखिममा रहेको छ । गत वर्ष कोरोनाको केन्द्र युरोप हुन पुगेको थियो । इटाली, स्पेन लगायत मुलुकमा त्यसको प्रकोप तीव्र भएको थियो । दिनहुँ सयौंको मृत्यु भइरहेको थियो ।

अहिले भारतमा संक्रमणले भयावह रूप लिएको छ । गत वर्ष अमेरिकामा सबैभन्दा धेरै संक्रमित थिए । दक्षिणकोरिया, जापान जस्ता देश पनि संक्रमणबाट अछुतो रहन सकेका थिएनन् । यतिबेला नेपालमा संक्रमितको संख्या जोखिमपूर्ण तरिकाले बढिरहेको छ ।

कुनै आपत् नआउँदै त्यसलाई रोक्न पूर्वतयारी गर्नु बुद्धिमानी हुन्छ भनेर सरकारलाई सजग बनाउने कोशिश पनि भएकै हो तर सरकारले यसतर्फ प्रभावकारी कार्यान्वयन केही गर्न नसकेका कारण अहिले संकट आइलागेको छ ।

कोरोनाभाइरसको संक्रमण नेपालमा द्रुत गतिमा फैलिइसकेको छ । संसारका विकसित साधन र स्रोतसम्पन्न देशहरूमा पनि संक्रमण रोक्न मुश्किल परेको बेला नेपालमा फैलिएको कोरोनाले जनजीवन त्रसित बनिरहेको छ । अस्पताल, औषधि, उपचार र आधुनिक साधनहरू पर्याप्त नभएकाले नेपालमा संक्रमणले भयावह रूप लिनसक्ने देखिन्छ ।

कोरोनाभाइरसको दोस्रो संक्रमणले ठूलो संख्यामा मानिसको मृत्यु हुनसक्ने भयले विश्व त्रसित छ । यस दोस्रो भाइरसलाई नियन्त्रण गर्न सकिने उपायको विकास समयमा हुन नसके विश्व अर्थतन्त्रमा फेरि नराम्रो प्रभाव पर्नेछ । फलस्वरूप, भोकमरीको विकराल अवस्था समेत उत्पन्न हुनसक्छ ।

आत्मविश्वास जति बढाउन खोजे पनि मन कमजोर नै हुँदोरहेछ । बाँच्ने आशा कम भइरहेको थियो । मनभरी केवल ६ वर्षीया छोरीको मात्र सम्झना आइरह्यो । छोरीको लागि भए पनि ममाथि कृपा गर भगवान भन्ने मनमा प्रार्थना गरिरहें ।

विभिन्न दुर्घटना, महामारी, अनिकाल, दैवी प्रकोप आदिका कारण संसारमा करोडौं मानिसको मृत्यु भएको छ । प्राकृतिक प्रकोप मानिसको नियन्त्रण बाहिरको विषय भएकोले बढी त्रसित हुनु स्वाभाविक हो । तर, आफैंले नियन्त्रण गर्न सकिने कोरोनाभाइरसबाट यसरी विश्व नै ‘किं कर्तव्यविमूढ’ बन्दा अर्थतन्त्र नै ठप्प हुन सक्छ ।

त्यस अवस्थामा कोरोनाभाइरस भन्दा पनि बढी भोकमरीको त्रास बढेर जाने निश्चित देखिन्छ । यसैले यस्तो विपत्तिमा प्राण जोगाउनु र जीविकाको संरक्षण गर्नु अहिले प्रमुख आवश्यकता हो । राज्यले खाद्य सुरक्षा र पोषणलाई टेवा दिन र विपत्तिमा परेकाहरूको जीविका निर्वाहका लागि आवश्यक कार्यक्रम घोषणा गर्न जरूरी देखिन्छ ।

जोखिम घटाउनु तथा व्यक्ति, समुदाय र राष्ट्रलाई खाद्य तथा पोषणसम्बन्धी आवश्यकता जुटाउन सबल बनाउनु राज्यको प्रमुख कर्तव्य हुनपुगेको छ । सबै नेपालीले राज्यको निर्देशन पालना गर्नुपर्ने बेला हो, यो । सरकारले पनि सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ । आग्रह, पूर्वाग्रह राखेर काम गर्ने समय होइन यो ।

आजको आवश्यकता संयम र सजगता हो । भोकमरी लाग्नबाट बच्ने उपायको खोजी गर्नु हो ।अहिले राज्यको प्रमुख कर्तव्य कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्नु र संक्रमितहरूको यथोचित उपचार प्रबन्ध मिलाउनु हो । मुलुकका अधिकांश सरकारी र निजी अस्पतालहरूलाई छिटोभन्दा छिटो कोभिड उपचार अस्पतालमा रूपान्तरण गर्न जरूरी छ । भोकमरीको जोखिम बढ्ने सम्भावना उत्तिकै छ ।

मुलुक भोकमरीको चपेटामा परेमा भयावह स्थिति पैदा हुनसक्छ । कुपोषणको जोखिम बढ्नेछ । यसतर्फ समयमै ध्यान दिन जरूरी छ ।आम नागरिकले कोभिड–१९ प्रति बेलैमा सजग हुन नसकेमा अकालमा ज्यान जाने निश्चितप्रायः नै देखियो । दीर्घरोगी र वृद्धहरूलाई मात्र कोभिड–१९ जोखिमपूर्ण छ भनेर भ्रममा पर्ने अवस्था छैन । अस्पतालको मेरो बसाइका क्रममा संक्रमणको बढ्दो जोखिम युवाहरूमा बढी देखें ।

कोभिड–१९ बाट सुरक्षित रहन मैले अपनाउँदै आएको सावधानी शायद नै विरलै नागरिकले अपनाउँदै आएका थिए होलान् तर पनि म कोभिड–१९ बाट संक्रमित बन्न पुगें ।

सरकारको मुख ताकेर नागरिकको ज्यान जोगिने परिस्थिति न्यून बन्दै गएको छ । उच्च सतर्कता अपनाउँदै आफ्नो दैनिक जीवनयापन चलाउन आम नागरिक आफैं सचेत हुन जरूरी छ ।

कोभिड–१९ को संक्रमण भयावह रूपमा फैलिइरहेकोले यसलाई राजनीतिक मुद्दा बनाउन विल्कुल हँुदैन । सबै राजनीतिक दल लगायत विभिन्न संघसंस्था जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्छ ।

समुदायमा संक्रमण व्यापक रूपमा फैलिएपछि बिरामीले अस्पतालमा झट्ट भर्ना पाउने स्थिति न्यून बन्दै गएको छ । संक्रमितहरू आफ्नो घरमै आइसोलेसनमा बस्न बाध्य छन् ।

त्यसैले सरकारले जारी गरेको सूचना र डाक्टरहरूले दिएको सुझावलाई आम नागरिकले पूर्ण रूपमा परिपालना गर्न सके अकालमा ज्यान जानबाट बच्न सकिएला । सजग हुँदाहुँदै पनि म त मृत्युको मुखमा पुगेर फर्किएँ । ९ दिनको आईसीयू बेडको बसाइपछि अझै अस्पतालकै जनरल बेडमा छु । अब छिट्टै अस्पतालको बसाइबाट विदा पाउने आशामा छु ।

अरू कसैले पनि मैले भोगेको नियति भोग्न नपरोस् । त्यो असह्य खोकी र शारीरिक दुखाइ शब्दमा वर्णन गर्न सकिंदैन, भोग्नेले मात्र अनुभूत गर्ने हो । रीस, राग, द्वेष त्यागेर संक्रमितलाई माया गरौं । आफू पनि बाँचौं, अरूलाई पनि बचाऊँ ।

कोरोना सामान्य भाइरस हुँदै होइन रहेछ । स्वास्थ्यमा सामान्य समस्या देखिएमा तत्काल पीसीआर टेष्ट गर्न जरूरी छ । कोभिड–१९ पोजेटिभ देखिन्छ कि भन्ने डर मनमा नपालौं । शरीरमा कुनै समस्या देखिएमा जति सक्यो चाँडो टेष्ट गरेर आफ्नो उपचारमा लागे मात्र ज्यान बचाउन सकिएला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment