Comments Add Comment

पर्सामा वैशाख ३० गतेसम्म निषेधाज्ञा गर्न सिफारिस

२१ वैशाख, पर्सा । पर्सामा वैशाख ३० गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवसथापन केन्द्रको मंगलबार बसेको बैठकले वैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । यसअघि वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने, ‘यसअघि लगाइएको निषेधाज्ञा भोलिसम्मका लागि कायम छ, डीसीसीएमसीको बैठकले वैशाख ३० गते राति १२ बजेसम्म थप गर्न सिफारिस गरेको छ । त्यसबारेमा भोलि सूचना निकाल्छौं ।’

‘पर्सा जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड–१९ को संक्रमणको श्रृङ्खला तोड्न उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई वैशाख ३० गते राति १२:०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।’ डीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

त्यसैगरि बैठकले वीरगञ्ज महानगरपालिकालाई १ सय बेडको कोरोना अस्पताल र १ सय बेडको आइसोलेसन सञ्चालन गर्न अनुमति पनि दिएको छ । कोभिड–१९ को संक्रमित विरामीको उपचार गर्न महानगरले १ सय बेड क्षमताको कोभिड–१९ अस्थायी विशेष अस्पताल यथाशिघ्र सञ्चालनमा ल्याई उपचार सेवा शुरु गर्ने र त्यसैगरी तत्कालै सय बेड क्षमताको आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको छ ।

कोभिड–१९ को परिक्षण गर्ने कार्यलाई सहज बनाउन महानगरपालिकाले स्वाब संकलन केन्द्र स्थापना गरी स्वाब संकलन गर्ने र संकलित स्वाबको परिक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

गोपाल सेवा समितिको धर्मशालामा महानगरपालिकाले त्यस अनुसारको तयारी थालिसकेको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । ‘ कोरोना अस्पताल र आइसोलेसन सेन्टरको काम थालीसकेका छौं । छिट्टै सञ्चालनमा आउँछ ।’ उनले भने ‘ स्वाब संकलन अस्पतालमा गर्दा अव्यवस्थित भइरहेको गुनासो आईरहेको छ । त्यसैले महानगरले व्यवपस्थित स्वाब संकलन केन्द्र सञ्चालनमा ल्याउँछ, एउटाले पुगेन भने थप्न पनि सकिन्छ ।’

संचालित अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पूर्ण क्षमतामा संचालन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । अक्सिजन उद्योग पूर्ण रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने, हाल उत्पादित अक्सिजन स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउने, अन्यत्र क्षेत्रमा आपूर्ति नगर्ने, अक्सिजन उद्योगहरुबाट हुने अक्सिजनको उत्पादन, भन्डारण र बिक्री वितरणको दैनिक अनुगमन एवं प्रतिवेदन गर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउने बैठकले निर्णय गरेको छ ।

नारायणी अस्पताल विकास समिति, पर्साबाट माग गरिएका २ जना कर्मचारीको तलब डीसीसीएमसीले खुवाउने भएको छ । डाक्टर राजिव यादव र नन्दन कुमार सिंहलाई कोभिड–१९ का विरामीको उपचार गर्ने काममा खटाईएको छ ।

नारायणी अस्पतालले बढीमा चार महिनाको करार सम्झौता गरी काममा लगाउन सक्ने निर्णय डीसीएमसीले गरेको छ । अस्पतालले कार्य गरेको प्रमाणित गरेको आधारमा उनीहरुलाई प्रदेश सरकारले डीसीएमसीलाई गराएको बजेटबाट पारिश्रमिक उपलब्ध गराउने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment