२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् ।
आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो ।
यही वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले सर्वाधिक २७८ रन बनाएका थिए ।
The ICC Men’s Player of the Month nominees for April are in ????
Fakhar Zaman ???????? 302 ODI runs at 100.66, two centuries
Babar Azam ???????? 228 ODI runs at 76.00; 305 T20I runs at 43.57
Kushal Bhurtel ???????? 278 T20I runs at 69.50Vote now: https://t.co/ZYuKhVxbHF ????️#ICCPOTM pic.twitter.com/7dyVhwkFOo
— ICC (@ICC) May 5, 2021
उनले टी-२० डेब्युमै नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए भने लगातार तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका थिए । सिरिजमा चार अर्धशतक प्रहार गरेका उनी प्लेअर अफ दि सिरिज भए ।
यस्तै उनले अर्का ओपनर आसिफ शेखसँग लगातार २ खेलमा शतकीय साझेदारी गर्दै अर्को विश्व कीर्तिमान पनि बनाएका थिए । २४ वर्षीय भुर्तेल अहिले नेपाली क्रकेटमा चर्चामा छन् । उनले यसका लागि धेरै अघिदेखि मिहिनेत गरेको र अहिले त्यसको फल प्राप्त भएको बताएका थिए ।
सिरिजमा गरेको प्रदर्शनका आधारमा कुशल पहिलो पटक आइसीसीको टी-२० वरीयतामा पर्दै ९३ औं स्थानमा समावेश भएका थिए । त्यसपछि अपडेट भएको वरीयतामा उनी ६१औं स्थानमा उक्लेका छन् ।
यस्तै पाकिस्तानका बाबर आजमले दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै २२८ रन बनाएका थिए । सोहि प्रदर्शनको आधारमा उनी विराट कोहलीलाई पछि पार्दै आइसीसीको नम्वर वान ओडीआई ब्याट्सम्यान बनेका थिए ।
यस्तै फखर जमानले दक्षिण अफ्रीका विरुद्ध एकदिवसीय सिरिजमा ३०२ रन बनाएका थिए । उनले सिरिजमा दुई शतक समेत बनाए । जस क्रममा उनले दोस्रो एकदिवसीयमा १९३ रन प्रहार गरेका थिए ।
मनोनयनमा परेका कुशललाई भोटिङ गर्न सकिनेछ । उनलाई भोट गर्नका लागि आईसीसीको वेबसाइटमा गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ ।
प्रतिक्रिया 4