Comments Add Comment
स्मृतिमा प्रेमध्वज :

जो अब घुम्तीमा भेटिँदैनन्

दिगन्त फैलिएको मखमली स्वर

२३ वैशाख, काठमाडौं । ‘युगको एउटा प्रतिनिधि स्वरको समाप्ति भएको छ ।’

गायक प्रेमध्वज प्रधानको निधनपछि गीतकार कालीप्रसाद रिजालले दिएको अभिव्यक्ति हो यो । रिजालका अनुसार प्रेमध्वजको निधनले नेपाली संगीतमा मात्र नभई विश्वभरि रहेका नेपालीमाझ गहिरो शोक परेको छ ।

‘प्रेमध्वजको स्वरले हाम्रो आधुनिक संगीत हराभरा बनाएको छ । अब त्यो सुरको भौतिक उपस्थिति सम्भव छैन’, ८२ वर्षीय रिजालले अनलाइनखबरसँग भने ।

बाल्यकालदेखि नै प्रेमध्वजका गीत सुन्दै आएका कवि दिनेश अधिकारी प्रेमध्वजलाई जीवनको अन्तिम क्षणसम्म संगीतमा समर्पित स्रष्टा मान्छन् ।

अधिकारीले गत चैतमा मात्रै प्रेमध्वजसँग भेटेर रमाइला कुरा गरेका थिए । नशाको समस्या बल्झिएपछि बिहीबार दिउँसो सुन्धारास्थित काठमाडौं न्युरो एण्ड जनरल अस्पतालमा उनको निधन भयो ।

८५ वर्षको उमेरमा निधन भएका गायक तथा संगीतकार प्रेमध्वजलाई ‘मखमली स्वरका गायक’ मानिन्छ । छ दशक नेपाली गीत र संगीतमा अविच्छिन्न साधना गरेका उनी नारायणगोपाल, नातीकाजी, तारादेवीका समकालीन हुन् ।

‘नेपाली गीतको प्रारम्भिक कालदेखि आजसम्म निरन्तर गाउनु नै प्रेमध्वजको महानता हो’ अधिकारीले भने, ‘रेडियो नेपालमा हिन्दी गीतमात्र बज्ने बेला उहाँको नेपाली गीतले त्यसलाई विस्थापित गरी श्रोताको मन जित्यो ।’

कवि विप्लव प्रतीक भने प्रेमध्वजले माणिकरत्नसँग मिलेर बनाएका गीत तथा नातिकाजी, शिवशंकर, जयदेव र रञ्जीत गजमेरको सङ्गीतमा गाएका गीत कालजयी हुने बताउँछन् ।

उनी थप्छन्, ‘दाइ बितेको पत्याउन गाह्रो भइरहेछ । सम्झिन्छु उहाँको घर गएको, रमाइलो गरेको ।’

८५ वर्षको उमेरमा निधन भएका गायक तथा संगीतकार प्रेमध्वजलाई ‘मखमली स्वरका गायक’ मानिन्छ । छ दशक नेपाली गीत र संगीतमा अविच्छिन्न साधना गरेका उनी नारायणगोपाल, नातीकाजी, तारादेवीका समकालीन हुन् ।

काठमाडौं बागबजार बस्दै आएका प्रेमध्वजका श्रीमती किरण तथा दुई छोरा प्रशन्न र कविर छन् ।

****

बाल्यकालमा आफ्नो नाम ‘गणेशध्वज’ रहेकोमा विश्व निकेतनका हेडमास्टर प्रेमबहादुर श्रेष्ठले नाम फेरिदिएका प्रेमध्वज बताउँथे । उनी आफ्नी आमा प्राणदेवी, उस्ताद गणेशलाल श्रेष्ठ र भारतीय संगीतकार जयदेवलाई जीवनका तीन आर्दश मान्थे ।

वि.सं १९९४ असारमा सिन्धुपाल्चोकस्थित चौतारामा जन्मिए पनि प्रेमध्वजको बाल्यकाल भने काठमाडौंमै बित्यो । जीवनको लामो समय आमासँगै बसेका उनी आमालाई नै प्रमुख प्रेरणा–स्रोत मान्थे ।

‘आमा र म मिलेर सँगसँगै गाउने–बजाउने गथ्र्यौं । त्यही प्रेरणाले आजसम्म गायकीमा टिकिरहेको छु’, प्रधान आफ्ना अन्तर्वार्तामा बारम्बार भनिरहन्थे । यस्तै आफ्नो गीतजस्तै प्रेममय नाम राखिदिने शिक्षक प्रेमबहादुरलाई पनि सम्झिरहन्थे ।

२००४ देखि प्रेमध्वजले काठमाडौंका टोलहरुमा गाउन थाले । यही क्रममा उस्ताद भैरवबहादुर थापाको शब्द र संगीतमा ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ बोलको गीत गाएर २००७ मा रेडियो नेपालको कठिन जाँचकी ‘क’ श्रेणीमा पास गरे ।

पछि स्वर परीक्षाका जाँचकी वाद्यशिरोमणि उस्ताद गणेशलालसँग नै १५ महिना शास्त्रीय संगीतको शिक्षा लिए । स्वर परीक्षाको तीन वर्षपछि तारादेवीसँग ‘यो नेपाली शिर उचाली’ रेकर्डिङ गराए २०११ मा ।

राष्ट्रिय भावनाले ओतप्रोत यो गीतले उनको चर्चा सर्वत्र फैलियो । कवि भूपि शेरचनको शब्द र नातीकाजीको संगीतमा अमेरिकी दूतावासले दिएको पुरानो रेकर्डरमा रेकर्ड गरिएको थियो यो कालजयी गीत ।

हिउँदको एकदिन नयाँ सडकमा भूपिले च्यातिनै लागेको कागजमा यो गीत दिएको प्रेमध्वज सुनाउँथे ।

‘भूपि कविता सुनाउँथे, म गीत गुनगुनाउँथें’ उनी भन्थे, ‘हामी लामो समय सुर–साधनाका कुरा गरेर गफिन्थ्यौं । ठट्टा गर्थ्यो ।’

यद्यपि काठमाडौंका मञ्च र रेडियो नेपालमा गाइरहेका प्रेमध्वजको जीवनको टर्निङ प्वाइन्ट बन्यो चलचित्र– माइतीघर । माइतीघरका लागि २०२३ मा उनले भारतका चर्चित संगीतकार जयदेवको संगीतमा चारवटा गीत गाउन पाए ।

अन्ततः माइतीघर चलचित्रले नेपाली चलचित्रको पहिलो गायक र विदेशीसँग पहिलोपल्ट गीत गाउने गायक बन्न पुगे प्रेमध्वज । उषा मङ्गेश्करसँग ‘नमान लाज यस्तरी’ गाएपछि उनी विदेशीसँग गीत गाउने पहिलो गायक बने ।

यही सिनेमाको रेकर्डिङका क्रममा सिनेमाको गीत गाउने टेक्निक जयदेवले सिकाएको स्वीकार गर्थे उनी ।

माइतीघरपछि अन्याय, मायालु, बदलिँदो आकाश, फेरि भेटौंला, जीवनरेखालगायत एक दर्जन फिल्ममा पाश्र्व स्वर दिएका प्रेमध्वजका अधिकांश गीत लोकप्रिय बन्यो ।

सरसंगतमा भूपिमात्र होइन, नेपालका मूर्धन्य साहित्यकारहरूसँग प्रेमध्वजको नियमित उठबस थियो । गीतकार रत्नशमशेर थापा, माधव घिमिरे, दिनेश अधिकारी, राजेन्द्र थापा, दुर्गालाल श्रेष्ठसँग उनी नजिक थिए । साहित्यकार, संगीतकार र गायक–गायिकालाई आफ्नो घरमा बोलाएर पारिवारिक सम्बन्ध जोड्थे ।

‘स्तरीय साहित्यबाट नै स्तरीय गीतको जन्म हुन्छ’ भन्दै नेपाली संगीतमा उच्चकोटीको गीतकारको अभाव रहेको संकेत गर्थे उनी ।

गीततर्फ आधुनिकमात्र नभई लोक, शास्त्रीय र पश्चिमी शैलीका गीतहरू पनि प्रेमध्वजले गाएका छन् । लोकगीततर्फ झलकमान गन्धर्वको संकलनमा प्रेमध्वजले गाएको ‘यो नानीको शिरैमा ईन्द्रकमल फूल फुल्यो’ सर्वाधिक चर्चामा रह्यो । यस्तै आधुनिकतर्फ ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘पर लैजाऊ फूलहरू’ निकै लोकप्रिय रहे ।

राष्ट्रिय भावनाका गीततर्फ ‘यो नेपाली शिर उचाली’, ‘यही हो नेपाल नेपालीको घर’, ‘देशको लागि नबग्ने’जस्ता गीत चर्चामा रहेको पाइन्छ ।

आफ्नो सांगीतिक जीवनमा गायक/संगीतकार माणिकरत्नसँग ‘प्रेम–माणिक’ नामले युगल गीतहरू कम्पोज गरेका प्रेमध्वजले गीतकारहरूमा रत्नशमशेर थापासँग सर्वाधिक सहकार्य गरेको देखिन्छ ।

सरलताका पर्याय

कवि दिनेश अधिकारी गायक प्रेमध्वजलाई सरलताको पर्याय मान्छन् । ‘उहाँ सरल जीवनको सबैभन्दा ठूलो उदाहरण हुनुहुन्थ्यो’ अधिकारी भन्छन्, ‘जुनसुकै तहको मानिससँग पनि समान व्यवहार गर्नु, हँसिलो र हार्दिक रहनु उहाँको मूल स्वाभाव हो ।’

अधिकारीको शब्दमा प्रेमध्वजले ६ थान गीत गाएका छन् । युवा उमेरका गीतकारका गीत पनि हार्दिकताका साथ प्रधानले गाइदिनु नै विनम्रताको उदाहरण रहेको अधिकारी बताउँछन् ।

अर्का गीतकार राजेन्द्र थापा पनि २५ वर्षको उमेरदेखि प्रेमध्वजसँग निकट रहेको स्मरण गर्छन् ।

थापा सुनाउँछन्, ‘मेरो गीत उहाँले गाउँदासम्म हाम्रो परिचय थिएन । तर जब हामी भेट्यौं त्यसबेलादेखि अहिलेसम्म उहाँको स्नेह प्राप्त गरेको छु ।’

यता कवि विप्लव प्रतीक भने ‘जति मधुर स्वर, उति नै मृदु व्यवहार पनि’ भन्दै प्रेमध्वजको सरलता स्मरण गर्छन् । प्रतीक थप्छन्, ‘उहाँ रहनुभएन तर ती गीतहरू संगीत रहुन्जेल रहनेछन्, हाम्रो मनमा गुञ्जिनेछन् ।’

युवा पुस्ताका चर्चित गायक प्रमोद खरेल सबै तहको मानिसलाई प्रेमपूर्वक व्यवहार गर्नु प्रेमध्वजको महानता मान्छन् । ‘उहाँले पहिलो गीत गाउँदा मेरो बुुबा पनि जन्मिनुभएको थिएन । तर उहाँका गीत आजको पुस्ताले पनि उत्तिकै रचाउँछ’, खरेलले भने ।

नेपाली संगीतमा पश्चिमी बाजा र शैलीको मिश्रण दिएकाले सबै पुस्ताले प्रेमध्वजको गीत मन पराएको बताउँदै खरेल भन्छन्, ‘हार्मोनियम, मादलमात्र नभई गीतार, पियानो पनि उहाँको गीतमा प्रयोग भएको छ । ती बाजाको साथमा उहाँको मखमली आवाजले करोडौं श्रोताको मन जितेको छ ।’

प्रेमध्वजले ८० वर्षको उमेरमा प्रेम–गीत शीर्षकको एल्बम निकाले । यसबाट नै उनी बुढेसकालमा समेत संगीतमै समर्पित भएको प्रमाणित हुन्छ । ८० वर्ष पार गरेपछि उनी नयाँ गीत रेकर्ड गराउन तम्सिरहन्थे ।

यही वर्षमात्र दर्जनौं पटक साहित्यिक र सांगीतिक कार्यक्रममा उपस्थित भएका उनी सबै उमेरका मानिसँग संगत गर्न रुचाउने परिवार स्रोत बताउँछ । २० वर्ष नपुग्दा नै चर्चाको शिखरमा पुगेमा प्रेमध्वज घमण्डको लेससमेत नरहेको निकटवर्तीहरु बताउँछन् ।

कोरोनाको सन्त्रासअघि उनी बागबजार वरपर नियमित मर्निङ–वाकमा निस्कन्थे । भेट भएका परिचित–अपरिचचितसँग अभिवादन साट्दै मुस्कुराउँथे । फोटो खिच्न चाहनेहरूसँग सहजै उभिएर सेल्फी दिन तयार रहन्थे ।

तर, घुम्तीमा नआऊ है भन्दै गीत गाउने प्रेमध्वज अब कुनै मोडमा सशरीर भेटिने छैनन् ।

(प्रेमध्वज प्रधानसँग कुराकानी गरिएको अर्काइभमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment