Comments Add Comment

प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीको छिनोफानो एकै दिन

गण्डकीमा राष्ट्रिय जनमोर्चा नै निर्णायक

२३ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको छिनोफानो आगामी सोमबार हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २७ गते नै संसदमा विश्वासको मत लिँदैछन् । ओलीकै निकट मुख्यमन्त्री गुरुङ नेतृत्वको प्रदेश सरकारको पनि त्यसै दिन छिनोफानो हुनेछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का २८ सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि १५ वैशाखमै मतदान गर्ने कार्यसूची थियो ।

तर आफ्नो पार्टीका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले मतदान रोक्न माग गर्दै निवेदन सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।

अविश्वासको प्रस्ताव फेल हुने देखेपछि सभामुखले सुनियोजित रुपमा बैठक स्थगित गरेको भन्दै सत्तारुढ नेकपा एमालेले अब प्रदेशसभा बैठक चल्न नसक्ने बताइरहेको थियो । त्यसै बेला प्रदेश प्रमुख अमिक शेरचन पदमुक्त भए भने सीता पौडेल नियुक्त भइन्, उनले बुधबार पदभार ग्रहण गरिसकेकी छन् ।

प्रदेशसभा बैठक सञ्चालन गर्न सभामुख नेत्रनाथ अधिकारीले २० गते कार्यव्यवस्था परामर्श समिति र २१ गते सर्वदलीय बैठक बोलाए पनि सहमति जुटेन ।

तर बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २७ गते ११ बजे प्रदेशसभा बैठक बस्ने सहमति जुटेको हो । एमालेले २८ गते बैठक राख्न माग गरेको थियो भने विपक्षी दलले २४ गते नै बोलाउनुपर्ने अडान राखेको थियो । सभामुखले प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेसँग परामर्श गरेर २७ गते बैठक बस्न प्रस्ताव गरे, जसमा दलहरु सहमत भएका छन् ।

अविश्वासको प्रस्ताव पास भएमा विश्वासको मतको प्रक्रिया पनि प्रारम्भ गर्नुपर्ने भएकाले २७ गते नै गरौं भन्ने प्रस्ताव एमालोबाट पनि आएको भन्दै कांग्रेस सांसद कुमार खड्काले भने, ‘हामीले २४ गते सकिँदैन भने २६ गते गरौं भनेका थियौं, सहमतिमै जानुपर्ने भएकाले २७ गते नै गर्नु निधो भयो ।,’

उसो त मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री ओलीले विश्वासको मतको परिणाम हेरेर अगाडि बढ्न चाहन्थे । तर २७ गतेमै एमाले सहमत भएको प्रमुख सचेतक मायानाथ अधिकारीले बताए ।

जनमोर्चा नै निर्णायक

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जोगिने वा ढल्ने भन्ने निर्णायक राष्ट्रिय जनमोर्चा नै हो । राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटीले निर्णय गरेर अविश्वासको प्रस्तावमा उभिन निर्देशन दिइसकेको छ । तर १५ गते प्रदेशसभामा मतदान गर्ने तयारी भइरहँदा जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक सम्पर्कविहीन भए । बिहान कोरोना नेगेटिभ रिपोर्ट आएका शाही चरक अस्पतालको कोभिड आईसीयूमा भेटिएका थिए ।

शाहीको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ र पोजेटिभ दुई थरी सार्वजनिक भएको थियो । अविश्वासको प्रस्ताव फेल गराउन अस्पताल भर्ना गरेको आंशका गरेपछि सांसद शाहीले वक्तव्य जारी गर्दै वेहोस भएपछि भाइले अस्पताल ल्याएको र पार्टीको निर्णयमा आफू सहमत भएकाले प्रतिवद्ध रहेको बताएका थिए ।

अब २७ गते अविश्वासको प्रस्तावमा मतदान गर्दा जनमोर्चाका सांसदहरु नै निर्णायक हुनेछन् । संसदीय दलका नेता कृष्ण थापा, समेतक पियारी थापा र सांसद शाही छन् ।

तीनै जनाको भोट पाए मात्र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदलाई चाहिने बहुमत अर्थात ३१ मत पुग्छ । एक जनामात्रै अनुपस्थित रहे वा फ्लोर क्रस गराउन सके गुरुङको सरकार जोगिन्छ ।

‘कांग्रेस, माओवादी, जसपा एकै ठाउँमा छन्, सबैले हस्ताक्षर पनि गरेका छन्’ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका एक सांसद भन्छन्, ‘पार्टीको नीतिअनुसार अविश्वासको प्रस्तावमा उभिन्छन् सके मुख्यमन्त्री गुरुङलाई जोगाउन फ्लोर क्रस गर्छन्, जनमोर्चाकै सांसदहरुमा भर पर्छ ।,’

जनमोर्चाले जता मत हाल्छ उतै मत दिने भन्दै विपक्षीतर्फ नजिक हुन लागेका स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेलाई युवा तथा खेलकुदमन्त्री दिएर मुख्यमन्त्रीले आफ्नो पक्षमा ल्याइसकेका छन् । आफू स्वतन्त्र भएको भन्दै छुट्टै बस्ने कुर्ची माग गरेका मनाङे मतदान हुने भनिएको दिन १५ गते खिमविक्रमसँगै सम्पर्कबिहीन बनेका थिए । त्यसको भोलिपल्टै मुख्यमन्त्री गुरुङले गुरुङलाई सामाजिक विकास मन्त्रालय फुटाएर मन्त्री बनाएका छन् ।

आफ्नो पक्षमा बहुमत पुर्‍याउनेभन्दा विपक्षीको बहुमत पुग्न नदिने रणनीतिका साथ मुख्यमन्त्री गुरुङले मनाङ्गेलाई मन्त्री बनाएका हुन् । अब पनि मुख्यमन्त्री गुरुङको सरकार जोगिन विपक्षीका एक जना सांसदले फ्लोर क्रस गर्नुपर्ने हुन्छ । मुख्यमन्त्री गुरुङले सरकार नभत्किने दाबी गरिरहेका छन् ।

मुख्यमन्त्रीसहित ७ जनालाई कोरोना

गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित अहिले ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार सर्वदलीय बैठकबाट फर्किएलगत्तै बिरामी परेका मुख्यमन्त्री गुरुङलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोही बैठकमा सहभागी जसपा सांसद हरिशरण आचार्यलाई पनि बुधबार राति संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापालाई पनि कोरोना संक्रमण देखिएको छ । यसअघि नै संक्रमण पुष्टि भएका सांसदहरु राजीव पहारी, प्रभा कोइराला, कांग्रेस सांसद मनकुमारी गुरुङ र जनमोर्चाका खिमविक्रम शाही भने हाल होम आइसोलेसनमा छन् ।

१५ गते मुख्यमन्त्रीले जवाफ दिएर अविश्वासको प्रस्तावमाथि मतदान प्रक्रियामा जाने सहमति भएको थियो । तर संसद स्थगित भएपछि उनले जवाफ दिन पाएनन् । २७ गते बैठक बस्दासम्म नेगेटिभ रिपोर्ट नआए उनले जवाफ दिन पाउँदैनन् । नियमअनुसार मुख्यमन्त्रीले तोकेको मन्त्रीले जवाफ दिनेछन् ।

त्यसपछि मनदान प्रक्रिया सुरु हुनेछ । कोरोना पोजेटिभ देखिएका सांसदहरुले मतदानमा भाग लिन पाउने छन् । ‘संक्रमित सांसदले मत प्रयोग गर्न पाउने गरी संसदमा व्यवस्थापन मिलाउँछौं,’ प्रदेशसभा सचिव हरिराज पोखरेलले बताए ।

अविश्वासको प्रस्ताव फेल भए मुख्यमन्त्री गुरुङको सरकार जोगिनेछ भने पास भएमा प्रस्तावित मुख्यन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्नेछन् । तर उनले पनि संसदमा आफ्नो बहुमत भने देखाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment