+
+
भीम अस्पतालले भन्यो :

‘संक्रमितलाई अक्सिजन पुर्‍याउन सक्दैनौं, आफैं जोहो गर्नू’

टोपराज शर्मा टोपराज शर्मा
२०७८ वैशाख २४ गते २०:०९

२४ वैशाख, बुटवल । भीम अस्पताल, भैरहवाले कोरोना संक्रमितहरुलाई अक्सिजन पुर्‍याउन नसकिने बताएको छ र, बिरामीका आफन्तलाई आफैं जोहो गर्न आग्रह गरेको छ ।

अस्पताल प्रशासनले शुक्रबार दिउँसो सूचना निकालेर संक्रमितको अत्यधिक चाप भएकाले भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन नसकिने अवस्था आएको बताएको छ ।

अस्पतालमा ६३ एचडीयू र ५ आईसीयूसहित ६८ बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार दैनिक ४०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएपनि २०० सिलिण्डर मात्र आपूर्ति भइरहेको छ ।

‘आधा घण्टा तलमाथि भयो भने धेरै विरामीको ज्यान जान सक्ने खतरा भयो’ डा. पोखरेलले भने, ‘हामीले थेग्नसक्दासम्म त व्यवस्था गरेकै थियौं । केही उपाय नलागेपछि बिरामी र आफन्तले वैकल्पिक व्यवस्था गरुन् भनेर सूचना निकालेका हौं ।’

उनका अनुसार अक्सिजन अभावकै कारण अस्पतालमा नयाँ संक्रमित भर्ना गर्न पनि नसक्ने अवस्था छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार आपूर्तिमा समस्या आएका कारण बिहीबारदेखि अस्पतालमा अक्सिजन आपूर्ति कम भएको छ । अक्सिजन आपूर्तिका लागि पहल भइरहेको समेत उनले बताए ।

अक्सिजन अभाव भएपछि लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल र कोभिड फोकल पर्सन डा. नन्दु पाठक विरामीको उपचार छाडेर अक्सिजनको जोहो गर्न भौतारिनु परेको डा. खनाल बताउँछन् ।

‘अक्सिजन अभावले साह्रै तनाव दियो, राति ३ बजेसम्म यसैमा भौतारिनुपर्‍यो,’ डा. खनालले भने । उपचाररत संक्रमितकै अक्सिजन सकिन लागेपछि सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवललाई हारगुहार गरेर २० थान सिलिण्डर जोहो गरेको कोरोना फोकल पर्सन डा. पाठकले बताए ।

बिहीबार मात्रै अस्पतालमा ४०८ सिलिण्डर अक्सिजन खपत भएको अस्पतालका स्टोर प्रमुख रुपलाल पन्थीले बताए । ‘नियमित आपूर्ति सुनिश्चितता २०० सिलिण्डर मात्रै छ,’ पन्थीले अनलाइनखबरसँग भने, ‘अस्पतालले थप २५ बेड एचडीयू विस्तार गर्दा कम्तीमा ६०० सिलिण्डर अक्सिजन आपूर्तिको सुनिश्चितता सरकारले गरिदिनुपर्छ ।’

लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले भने अनावश्यक ठाउँमा अक्सिजन सिलिण्डर थुप्रिएकाले त्यसको खोजी भइरहेको बताएका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?