+
+
Shares

देउवालाई महन्थ–राजेन्द्रको आग्रह : सत्ताका लागि जसपा नफुटाइदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २६ गते १६:५५

२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् र सत्ताका लागि आफ्नो पार्टी नफुटाउन आग्रह गरेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित छ । महन्थ र राजेन्द्र पक्ष प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वादमा छन् भने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् ।

पछिल्लो पटक जसपाको कार्यकारिणी समितिमा बहुमत पुर्‍याएको बाबुराम–उपेन्द्र पक्षले बहुमतकै आधारमा अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

कार्यकारिणी समितिमा अल्पमतमा परेको महन्थ–राजेन्द्र पक्षले भने तटस्थ बस्ने निर्णय गरेको छ । यी दुई नेताले आइतबार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पक्षको निर्णय जानकारी दिएका छन् ।

महन्थ र राजेन्द्रसँग आफ्नै निवास बुढानीलकण्ठमा भएको भेटमा  देउवाले आफ्नो दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जानकारी गराउँद  जसपालाई पनि नदिन आग्रह गरेका थिए । ‘हामीले पनि माग पूरा नभएकाले दिने पक्षमा छैनौं भन्यौं’ महतोले अनलाइनखबरसँग भने, ‘विपक्षमा जान पनि अप्ठयारो छ, त्यसैले तटस्थ बस्छौं ।’

देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे पनि जसपा नेताहरुसँग कुराकानी गरेका थिए । तर आफूहरुले सत्ताको खेलमा आफूहरु नभएको बताएको महतोले जानकारी दिए । उनले अघि भने, ‘सत्ताको कुराले हाम्रो पार्टीको एकतामा असर गर्छ, त्यसैले हामी सत्ताको खेलमा छैनौं भनेर प्रष्ट पारेका छौं ।’

पार्टी एकता जोगाउनकै लागि आफूहरुले तटस्थ बस्ने बाटो रोजेको भन्दै जसपा नेताद्वयले पार्टीको अर्को पक्ष (बाबुराम–उपेन्द्र)को दाबीलाई आधार मानेर अगाडि बढ्दा संसदको गणितमा धोका हुनसक्ने चेतावनी देउवालाई दिएका छन् । उनीहरुले देउवालाई भनेका थिए, ‘कच्चा खेल नखेल्नुहोला, धोका हुनसक्छ ।’

जसपा वरिष्ठ नेता महतो भन्छन्, ‘सत्ताको लागि हाम्रो पार्टी नफुटाइदिनुहोला । अरुको पार्टी फुटाएर सरकार बनाउनु राम्रो हुँदैन भनेर आग्रह गरेका छौं ।’

जवाफमा कांग्रेस सभापति देउवाले सिंगो जसपाको निर्णय नआएसम्म आफूले (नयाँ सरकार गठनमा) केही नगर्ने आश्वासन दिएको जसपाका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?