Comments Add Comment
कर्णालीमा अक्सिजन अभाव :

बिरामीले अक्सिजन पाउँदैनन्, प्रदेश सरकार भन्छ – समस्या छैन

२७ वैशाख, सुर्खेत । शुक्रबार दिउँसो सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक संक्रमित युवालाई छाडेर एम्बुलेन्स हुइँकियो ।

ती युवा वीरेन्द्रनगर नगरपालिका–१० पदमपुर निवासी रहेछन् । होम आइसोलेसनमा रहेका उनी श्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालमा भर्ना हुन आएका हुन् । ‘भित्र वार्ड भरिभराउ छ, खाली हुँदैछ । एकछिन यतै बस्नुस्, अक्सिजन पनि छैन, कतै व्यवस्था गर्नुस्,’ एक स्वास्थ्यकर्मीले उनलाई बरण्डामा बस्न आग्रह गर्दै भनिन् ।

बस्न गाह्रो भएका ती युवा छटपटाइरहेका थिए । झण्डै ४० मिनेटपछि अर्का एक स्वास्थ्यकर्मी आए र उनलाई चेक अप गर्दै भने, ‘अवस्था क्रिटिकल छ, तत्काल अक्सिजनमा राख्नुपर्छ ।’

तर, आधा घण्टादेखि अक्सिजनको खोजीमा फोन गरिरहेका उनका कुरुवा आएका आफन्त भने झन् चिन्तित देखिन्थे । ‘अहिलेसम्म ५० ठाउँमा फोन गरें, कतैपनि छैन रे अक्सिजन,’ पीडा सुनाउँदै उनले भने ।

अन्ततः उनले दुई घण्टापछि एउटा अक्सिजन सिलिण्डर पाए र आफन्तलाई अस्पतालमा भर्ना गरे ।

०००

सुर्खेतकै लेकबेसी नगरपालिका–१ का ४१ वर्षीया पुरुष कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि मात्रै प्रदेश अस्पतालको कोभिड कक्षमा भर्ना भए ।

दुर्भाग्य उनले कोरोनालाई जित्न सकेनन् । बेला–बेलामा हुने अक्सिजन अभावका कारण उनको शुक्रबार दिउँसो मृत्यु भयो । ‘जहिले पनि अक्सिजनकै अभाव हुन्थ्यो, चाहिएको बेला पाइँदैन, सहज रुपमा अक्सिजन पाउन सकेको भए शायद उहाँ बाँच्नु हुन्थ्यो,’ उनकी श्रीमतीले पीडा सुनाउँदै भनिन् ।

गम्भीर अवस्थामा पनि श्रीमानले आईसीयू र भेन्टिलेटरको सहायता पाउन नसकेको उनको गुनासो थियो । ‘अक्सिजन पाउन त खोसाखोस गर्नुपर्थ्यो , राम्रो उपचार पाउन पहुँच भएन,’ उनले भनिन्, ‘अवस्था जटिल हुँदा पनि उहाँलाई अक्सिजन मात्रै दिइएको थियो ।’

०००

गम्भीर लक्षणका कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएका बेला अक्सिजनको माग बढेपनि त्यो अनुसारको आपूर्ति नहुँदा कर्णाली प्रदेश अस्पताललाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।

अन्य जिल्लाबाट समेत रेफर भएर आउने हुँदा प्रदेश अस्पतालमा बिरामीको चाप अधिक छ । बिरामीको चाप धेरै र सिलिन्डर कम भएपछि कुरूवाले आफ्ना बिरामीका लागि सिलिन्डर लिन हानथाप गर्ने गरेका छन् ।

अस्पतालमा नियमित ३०० जति सिलिन्डर स्टक भए मात्रै खोसाखोस गर्ने स्थिति नआउने अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अनलाइनखबरलाई बताए ।

‘आपूर्तिभन्दा माग दुई गुणा बढी छ, कहिलेकाहीं सप्लायर्सबाट नै अक्सिजन सिलिन्डर ल्याउन ढिला भइदिन्छ, यस्तो अवस्थामा गाह्रो हुन्छ,’ डा. पौडेलले भने ।

उनका अनुसार कोरोनालगायत अन्य बिरामीका लागि दैनिक २०० भन्दा बढी अक्सिजन सिलिण्डर आवश्यक पर्छ । तर, हाल नेपालगञ्जबाट दैनिक ६०/६५ वटा सिलिन्डर आउने गरेको छ ।

हाल अस्पतालमा ९० जना संक्रमित उपचाररत छन् । सबै संक्रमितलाई नै अक्सिजन चढाउनुपर्ने अवस्था छ । ‘अस्पतालमा भर्ना भएका सबैको अवस्था जटिल छ, संक्रतिले सहज रुपमा अक्सिजन पाउन दैनिक २०० बढी सिलिण्डर आवश्यक पर्छ,’ डा. पौडेलेले भने ।

केही संक्रमित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् । जटिल प्रकृतिका संक्रमित बढ्दै गए कर्णालीमा स्वास्थ्य संकट जटिल बन्ने जनस्वास्थ्य विज्ञहरु वताउँछन् ।

सिलिण्डरको पनि अभाव

कर्णालीमा अक्सिजन मात्र नभएर प्लान्टबाट भरेर बिरामीको बेडसम्म पुर्‍याउन आवश्यक पर्ने सिलिन्डरको समेत अभाव हुन थालेको छ ।

हाल २२० सिलिन्डरले अक्सिजनको व्यवस्थापन गर्दै आएको कर्णाली प्रदेश अस्पतालले थप ५०० वटा सिलिण्डर खरिद गर्ने निर्णय गरेको छ । तर सिलिण्डर अभावको कारण नयाँ खरिद गर्न नसकिएको अस्पतालका मेडिकल रेकर्डर बिनोद बस्नेतले बताए ।

‘हाल अस्पतालसंग आफनै १२० वटा सिलिन्डर छ । थप १०० सिलिण्डर सप्लायर्सले उपलब्ध गराउँदै आएको छ,’ मेडिकल रेकर्डर बस्नेतले भने, ‘थप ५०० सिलिण्डर किन्ने तयारीमा छौं, तर पाउँन सकिएको छैन् । विभिन्न ठाउँमा सम्पर्क भइरहेको छ ।’

उता, पवन पुत्र सप्लायर्स कम्पनीका जय बीसीले भने वितरण प्रणालीमा केही समस्या भए पनि अक्सिजन अभाव हुने अवस्था नरहेको बताए । ‘अक्सिजन उत्पादनमा समस्या होइन, समस्या त सिलिण्डरमा छ । सिलिण्डर होल्ड हुने गरेको छ । नयाँ सिलिण्डर पाउन सकिएको छैन,’ उनले भने, ‘सिलिण्डरकै व्यवस्थापन गर्न सके थप सहज हुन्छ ।’

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले प्रदेशभरका सबै सरकारी अस्पताल तथा निजी अस्पतालहरूमा गरी करिब एक हजारको हाराहारीमा अक्सिजन सिलिण्डर हुन सक्ने बताए ।

‘एकिन विवरण नभए पनि साना ठूला गरी एक हजारको हाराहारीमा अक्सिजनका सिलिण्डर होलान्,’ उनले भने ।

निजी अस्पतालमा पनि अक्सिजन अभाव

पछिल्लो समय सरकारीमा मात्र नभई निजी अस्पतालमा पनि अक्सिजनको संकट हुने गरेको छ । निजी अस्पतालहरूले अक्सिजन सहज रूपमा आपूर्ति नहुँदा सिकिस्त बिरामीको उपचारमा समेत समस्या हुने कर्णाली केयर अस्पतालका व्यवस्थापक दीपक गौतमले बताए ।

कर्णालीमा अर्को प्रदेशबाट अक्सिजन सिलिण्डर भरेर ल्याउनुपर्ने बाध्यता छ । एचओ अक्सिजन इण्डष्ट्रिज प्रालि नेपालगञ्जका सञ्चालक रामु खड्काले सुर्खेतमा मात्रै दैनिक ३०० बडी सिलिण्डरको माग हुने गरेको बताए । तर, हाल ६० देखि ६५ सिलिण्डर पूर्ति हुने गरेको उनको भनाइ छ ।

उनको प्लान्टमा दैनिक एक हजार सिलिण्डर अक्सिजन उत्पादन हुुन्छ । अहिलेसम्म आफूहरूले प्रदेश अस्पतालमा मात्रै अक्सिजन सप्लाई गर्दै आएको उनी बताउँछन् ।

अक्सिजनको अभाव र संक्रमणदरलाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारले सम्बन्धित अस्पतालहरुलाई आवश्यक बजेट पठाइसकेको प्रदेश सरकारकी प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिइन् ।

‘द्रुत मार्गबाट छिटोछरितो खरिद गरेर अक्सिजन प्लान्ट र सिलिन्डरको व्यवस्थापन गर्न भनेका छौं । प्रदेश अस्पतालले त प्रक्रिया थालिसकेको छ । छिट्टै व्यवस्थापन हुन्छ,’ मन्त्री केसीले भनिन् ।

उनका अनुसार प्रदेशका जिल्ला अस्पतालहरूमा अक्सिजन प्लाण्ट सञ्चालनको लागि प्रदेश सरकारले ५० लाखदेखि ६० लाख बजेट पठाएको छ ।

जसमध्ये पाँचवटा अस्पतालमा अक्सिजन प्लाण्ट सञ्चालनको तयारीमा छन् भने जाजरकोट, सुर्खेतको मेहलकुना, दैलेख, आयुर्वेद अस्पताल सुर्खेत र मुगुमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ, समस्या छैन : मुख्यमन्त्री शाही

प्रदेश अस्पताल सुर्खेतले हाल १०० शय्यामा अक्सिजन जडान कार्य थालेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।

उनका अनुसार अहिले नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आएका कारण पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन जडान कार्य सकिएपछि कोरोना संक्रमितको उपचारमा थप सहज हुने डा. खड्का बताउँछन् ।

अक्सिजन नपाएर संक्रमितको मृत्यु हुन थालेपछि कर्णाली सरकार समेत यसको व्यवस्थापनमा जुटेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकै पहलमा अहिले प्रदेश अस्पतालमा नयाँ अक्सिजन प्लान्ट सुरु भएको छ ।

‘अब अक्सिजन अभावमा कुनै पनि संक्रमितको मृत्यु हुनेछैन । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । यसले ठूलो राहत मिल्ने छ,’ अक्सिजन प्लान्टको अनुगमनपछि मुख्यमन्त्री शाहीले भनेका थिए, ‘अब अक्सिजनको समस्या हुने छैन, कसैले पनि चिन्ता लिनु पर्दैन ।’

गत सोमबार अक्सिजन प्लान्टको अनुगमन गर्दै मुख्यमन्त्री शाहीले अक्सिजनको कुनैपनि समस्या नरहेको दाबी गरेपनि शुक्रबार भने घण्टौं लगाएर खोज्दा पनि नागरिकले अक्सिजन सिलिण्डर पाउन सकेका थिएनन् ।

अबको पाँच दिनभित्रै अस्पतालले १५० जनालाई अक्सिजनसहित उपचार गर्न सक्ने जनाएको छ । ‘अहिले सञ्चालनमा ल्याइएको अक्सिजन प्लान्टले १०० र पुरानोले २० जनालाई अक्सिजन दिन सकिन्छ । हामी १५० जनालाई अक्सिजनसहित उपचार गर्न सक्छौं,’ डा. खड्काले भने ।

बढ्दो संक्रमणको दर र अन्य बिरामीको उपचारका लागि नेपालगन्जबाट अक्सिजन आपूर्ति कायमै हुने अस्पतालले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यज्ञ खत्री

ट्रेन्डिङ

Advertisment