Comments Add Comment

उपेन्द्र यादवको कटाक्ष : दुईचार वटा झरेको आँप खुवाउनु हुन्छ मधेशीलाई ?

२७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली अहिले मधेशीलाई फकाउन लागेको बताएका छन् । विगतका राजनीतिक घटनाक्रम सम्झदै यादवले ओली मधेश र मधेशी जनता विरोधी भएको आरोप लगाए ।

‘अहिले अलिअलि मधेशीलाई फकाउन खोज्दै हुनुहुन्छ’, यादवले आफ्नै पार्टी जसपाका महन्थ ठाकुर–राजेन्द्र महतोप्रति संकेत गर्दै भने । यादवले अगाडि भने, ‘यहाँ नै हो नि- समतल भूमि देख्नासाथ मधेश भन्‍नु हुन्थ्यो । यूपी-विहारतिर मधेश छ ? भन्नुहुन्थ्यो । यूपी विहारै फेरि देखिरहनुभएको छ कि ?’

यादवले मधेश नेपालको अभिन्न अंग भएको र यूपी विहार नेपाल नभएको बताए । ‘मधेश नेपालको अभिन्न अंग हो । यूपी विहार नेपाल होइन’, उनले भने ।

मधेश आन्दोलनबारे पनि ओली अनुदार रहेको विगत यादवले सम्झिएका थिए, ‘अर्को कुरा मधेश आन्दोलन हुँदाखेरी सबभन्दा बढी तुलनात्मक रुपले मानिसहरु मारिएका छन् । गोली लागेका छन् । जुन बेला उहाँ (केपी ओली) प्रधानमन्त्री भएको बेलामा ।’

ओली प्रधानमन्त्री भएकै बेला मधेश आन्दोलनमा धेरै माथि मुद्दा लगाइएको यादवको भनाइ थियो । ‘त्यतिबेलै सवैभन्दा बढी मुद्दा लागेका छन् । त्यतिबेलै लागेको मुद्दामा सांसदहरु जेलनेल भोगिरहेका छन्’, उनले भने ।

मधेश आन्दोलन चलिरहेका बेला ओलीले दिएको अभिव्यक्ति पनि यादवले सम्झिएका थिए । ‘त्यो बेला उहाँको अभिव्यक्ति के थियो ? दुई चार वटा आँप झरेको हो । अहिले त्यही आँप खुवाउनु हुन्छ मधेशीहरुलाई ?’, यादवले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment