Comments Add Comment

निषेधाज्ञामा के गर्दैछन् कलाकार ?

नेपालमा कोभिड १९ को दोस्रो लहरका कारण संक्रमण दर तिव्र रुपमा बढिरहेको छ । संक्रमण बढेसँगै सरकारले बैशाख २९ गतेसम्म निषेधाज्ञा लागू गरेको छ । निषेधाज्ञा कहिलेसम्म लम्बिने हो, एकिन छैन । पहिलो चरणको लकडाउन सकिएसँगै विस्तारै लयमा फर्किन थालेको मनोरञ्जन क्षेत्र फेरि थला परेको छ ।

यसले, नेपाली मनोरञ्जन क्षेत्रका कलाकर्मीलाई पनि असर परेको छ । घरमै निषेधाज्ञाको पालना गरेर बसेका केही कलाकर्मीसँग हामीले लकडाउनको समयमा कसरी दिन बिताइरहनुभएको छ भनेर सोधेका छौं ।

दीपाश्री निरौला (कलाकार तथा निर्देशक)
कलाकार तथा निर्देशक दीपाश्री निरौला काठमाडौंस्थित घरमै बसिरहेकी छिन् । निषेधाज्ञाअघि बिहान उठेपछि हिँडेर पशुपतिनाथ मन्दिर पुग्थिन् । निषेधाज्ञायता विहान उठेपछी घरमै प्राणायाम गर्छिन् । केही पाना श्रीमद् भागवत पढ्छिन ।

खाना खाएपछि दिउँसोको समय चलचित्र हेर्ने, कमेडी तथा डान्सिङ् कार्यक्रमहरु हेर्ने, आफन्त तथा साथीहरुसँग भिडियो कलमा कुराकानी गर्ने गरेर समय बिताइरहेको बताउँछिन् । भन्छिन्, ‘अहिले अधिकांश समय मोबाइलमै बित्छ । साथी नै मोबाइल भएको छ ।’

गतवर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनमा निकै छट्पटी भएको थियो । सो समय उनलाई कामकै चिन्ता हुन्थ्यो । यसवर्ष भने मानसिक रुपमा तयार रहेको दीपाश्रीले बताइन् ।

कोरोनाको दोस्रो लहरले नेपालका अस्पतालमा बेड नभएको समाचार पढिरहेकी हुन्छिन् । उनले चिनेका कतिपय व्यक्तिको कोरोनाकै कारण मृत्यु भएको छ । यस्तो अवस्थामा सबैजना थप सचेत हुनुपर्ने बताउँछिन् ।

उनले भनिन्, ‘यसपालीको भेरियन्त्र जोखिम छ । एउटाले गर्दा परिवारमा जोखिम हुनसक्छ । त्यसैले केही होइन् भनेर नहिँडौं । सबैजनाले घरमै बसेर महामारी नियन्त्रणमा ध्यान दिऔंं ।’

स्किृप्ट लेखनमा बढी समय बित्छ : कुमार कट्टेल (जिग्री)
हास्य कलाकार कुमार कट्टेल (जिग्री) निषेधाज्ञासँगै ललितपुरस्थित घरमा बसिरहेका छन् । उनको लेखन÷निर्देशन तथा अभिनय रहने हाँस्य टेलिसिरियल ‘सक्किगोनि’को छायाँकन निषेधाज्ञाका कारण हुन सकिरहेको छैन ।

अनुकूल समयमा ‘सक्किगोनि’कै तयारीमा उनको अधिकांश समय ब्यतित भईरहेको हुन्थ्यो । निषेधाज्ञासँगै खाली समयलाई भने उनले विभिन्न चलचित्रहरु हेर्ने, टेलिसिरियल, चलचित्रको स्किृप्टमा समय बिताईरहेका छन् ।

आफूले काम गरिरहेको हास्य भन्दा फरक विषयवस्तुमा पनि टेलिसिरियल निर्माण गर्ने सोँच भएका कारण त्यसको स्किृप्टमा समेत तयारी गरिरहेको कुमारले बताए ।
त्यस्तै, ‘सक्किगोनि’ समूहले बनाउने भनेको चलचित्रको स्किृप्टमा पनि अहिले समय दिईरहेको उनी बताउँछन् । ‘दुई चारवटा स्टोरी दिमागमा छ । त्यसमध्ये कुन राम्रो, त्यसलाई फाइनल गर्ने तयारी गरिरहेको छु’ उनले भने ।

उनका अनुसार कमेडी जनरामा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर चलचित्र बनाउने टिमको सोँच अनुसार स्किृप्टमा ध्यान दिएको बताउँछन् । यो चलचित्रको तयारी शुरु भएको भने धेरै समय भयो ।

‘गतवर्ष लकडाउनमा चलचित्रको तयारी गर्न मन थियो । चितवन रंगशालामा धेरै समय विताइयो । सिरियल शुरु भएपछि हप्तैपिच्छे त्यसकै तयारीमा समय बित्छ’ कुमारले अगाडी भने, –‘अहिले समय मिलेको छ । यो समयमा आफ्नै रोकिरहेका प्रोजेक्टमा सदुपयोग गरौं भनेर काम गरिरहेको छु ।’

कोरोना संक्रमणको कारण परिस्थिति विषम बन्दै जाँदा आफू वा ‘सक्किगोनि’ ले पनि केही सहयोग गर्न पाएँ भन्ने लागिरहेको बताउँछन् । उनी पनि कोरोना केही होइन भनेर हेलचेक्राइ नगर्न सबैलाई आग्रह गर्छन् ।

गाउँमा छु, त्रास कम छ : पशुपति शर्मा
गतवर्षको लकडाउन गायक पशुपति शर्माले घर स्याङजामा बिताएका थिए । यसवर्ष निषेधाज्ञामा पनि उनी स्याङ्जामा छन् । ‘स–परिवार स्याङ्जामा छौं’ उनले भने । उनी बिहान उठेपछि केही समय व्यापाम गर्छन् । व्याडमिन्टन खेल्छन् ।

‘घरायसी काम खासै केही छैन्’ उनले भने ‘दिउँसोको समय सामाजिक सञ्जालमा सक्रिय हुने तथा परिवारसँग गफ गरेर बित्छ ।’

केही वर्ष पहिलेसम्म उनि ईन्टरनेटमा उतिसाह्रो सक्रिय थिएनन् । हिजोआज समाचारहरु पढने, टिकटक बनाउने, फेसबुकमा स्टाटस पोष्ट गर्ने गर्छन् ।

उनी चलचित्र खासै हेर्दैनन् । बरु पुस्तक पढ्न रुचाउँछन् । तर, अहिले पुस्तक बोकेर लैजान बिर्सिएको उनले बताए ।

पशुपतिले केही दिनअघि मात्र नयाँ गीत सार्वजनिक भएको थियो । अहिले घरमा हुँदा सिर्जनातर्फ पनि ध्यान नभएको उनले बताए ।गाउँमा कोरोनाको त्रास भने कम रहेको पशुपति बताउँछन् । ‘घर सामाजिक दुरीमै रहेका हुन्छन । भेटघाट गर्दा घरबाहिर दुरी कायम गरेर बस्छौं । त्यसैले बजारमा भन्दा गाउँमा अहिलेसम्म त्रास कम छ’ उनले सुनाए । टोल, छिमेकमा गतवर्षभन्दा यसवर्ष मानिसहरु बढी सचेत रहेको आफूले पाएको पशुपतिले सुनाए ।

अहिले पढाईमा ध्यान दिएकी छु : रचना रिमाल
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदा रचना रिमाल काठमाडौंमै थिइन् । निषेधाज्ञाको पहिलो दिन पनि गीत रेकर्ड गराएकी थिइन् ।

दिदीसहित काठमाडौंमा बस्दै आएकी रचनालाई परिवारले घरमा आउन आग्रह गरेका थिए । यातायात बन्द भईसकेको थियो, हवाइ उडान खुला थियो । निषेधाज्ञाको अर्को दिन हवाई उडानमार्फत घर झापा पुगिन रचना ।

अहिले घरमा रमाईलोका साथ समय बितिरहेको रचनाले बताइन् । रचना झापाकै एक विद्यालयमा कक्षा १२ मा भर्ना भएकी थिइन् । यद्यपी, गतवर्षदेखि सांगीतिक क्षेत्रमा ब्यस्त हुँदा पढाइमा समय दिन पाएकी थिइनन् । अहिले उनी पढाइमै बढी समय दिईरहेको बताउँछिन् ।

बिहान रियाजलाई केही समय छुट्टयाउँछिन् । ‘बिहान १ घण्टा रियाज गर्छु’ उनले अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा भनिन्, ‘दिनभर भने पढाईमै समय दिईरहेकी हुन्छ ।’

उसो त हिजोआज पनि रचनाका गीतहरु सार्वजनिक भईरहेका छन् । निषेधाज्ञाअघि रेकर्ड भएर अहिले सार्वजनिक भएका ति गीतको प्रमोशन पनि गरिरहेकी हुन्छिन् । पढ्दा अल्छी लाग्यो भने मोबाइल हेर्छिन्, टिकटक बनाउँछिन्, खेतबारीमा पुग्छिन् । साँझको केही समय भने ब्याडमिन्टन खेल्छिन् ।

गाउँमा कोरोनाको त्रास काठमाडौंमा भन्दा कम रहेको उनले बताइन् । यद्यपी सबैजना सचेत रहेको उनले बताइन् । भनिन्, ‘घरमा ममी–बाबा, दिदी बहिनीलाई पनि बाहिर ननिस्किन भनिरहेकी हुन्छु । म आफू पनि बाहिर हिँडेकी छैन् ।’

आकाश श्रेष्ठ, अभिनेता
अभिनेता आकाश श्रेष्ठले निषेधाज्ञा भएसंगै केही दिन काठमाडौंमा बिताए । उनको परिवार दाङ्मा, उनी एक्लै काठमाडौंमा बसिरहेका थिए । निषेधाज्ञा हुनुअघि काममै व्यस्त थिए । निषेधाज्ञा भएपछि घर फर्किने बन्दोबस्दो मिलिरहेको थिएन् । ‘काठमाडौंमा एक्लै समय व्यतित गर्न गाह्रो भएको थियो । गत आइतबार घरमा आइपुगेको छु’ दाङमा रहेका आकाशले सुनाए ‘अहिले छुट्टै कोठामा सुरक्षित बसेको छु ।’ महामारीको समयमा परिवारसँग भएपछि ढुक्क हुने बताए ।

काठमाडौंमा हुँदा निषेधाज्ञाको समयमा सामाजिक सञ्जालमै दैनिकी बिताएका थिए । घरमा हुँदा निषेधाज्ञाको बाँकी दिनहरु चलचित्र हेर्ने, पुस्तक पढने, सामाजिक सञ्जालमा सक्रिय रहेर बिताउने सोँचेका छन् । त्यस्तै, आफ्नो ठाउँमा कोरोना महामारीको यो विषम परिस्थितिमा सामाजिक काम गर्ने सोँचेका छन् ।

रेखा जोशी, गायिका
देउडा गीतमा निकै रुचाइएकी गायिका रेखा जोशी काठमाडौंमा कोठाभित्रै बसिरहेकी छिन् । अहिले निषेधाज्ञामा आफू निकै सचेत भएर बसिरहेको उनले बताइन् । यो समय किताव पढ्ने, फेसबुक चलाउने, गीतहरु सुन्ने÷हेर्ने गरेर बितिरहेको बताइन् ।

‘आफ्ैले गाएका गीतहरु पनि आनन्दले सुन्न पाइदैनथ्यो । अहिले आफ्ना, अरुका गीतहरु रिपिट गरेर सुन्ने÷हेर्ने गरिरहेकी हुन्छु’ उनले भनिन्, ‘चलचित्र खासै नहेर्ने मान्छे, हिजोआज चलचित्र पनि हेर्न थालेकी छु ।’ मोटिभेशनल भिडियोहरु पनि हेरिरहेकी हुन्छिन् । टिकटक आफू बनाउँदिनन्, अरुका टिकटक हेर्दा भने समय बितेको पत्तै हुँदैन् उनलाई ।

उनि अहिलेको कोरोनाको नयाँ भेरियन्टसँग डर लागेको बताइन् । ‘गतवर्ष शुरुमा त्रास थियो । बिस्तारै पछिपछि कोरोना केही होइन, हामीलाई केही हुँदैन् जस्तो लाग्थ्यो’ उनी भन्छिन्, ‘अहिले साँच्चिकै डर लागिरहेको छ । अहिले नजिकका चिनेका व्यक्तिहरुको समेत संक्रमणबाट मृत्यु भएको छ ।’

उनी सरकारले निषेधाज्ञा लागू गरेको जनताकै लागि भएकोले त्यसलाई सबैले पूर्णरुपमा पालना गर्न आग्रह गर्छिन् । स्वास्थ्यलाई ध्यान दिई महामारीबाट बच्न अहिले सबैले ध्यान दिनुपर्ने उनी बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment