Comments Add Comment

आईबीएमले बनायो संसारकै सानो र शक्तिशाली माइक्रोचिप

अमेरिकास्थित बहुर्राष्ट्रिय प्रविधि कम्पनी इन्टरनेशनल बिजनेस मेसिन कर्पोरेसन अर्थात् आईबीएमले संसारकै सानो आकारको तथा शक्तिशाली माइक्रोचिप बनाएको छ ।

दुई नानोमिटर साइजको उक्त माइक्रोचिप अहिलेसम्म उपलब्ध माइक्रोचिपमा सबैभन्दा सानो र शक्तिशाली भएको आईबीएमले जनाएको छ । हाल अधिकांश कम्प्युटर चिप्सयुक्त डिभाइसमा ७ वा १० नानोमिटरका माइक्रोचिप प्रोसेसर प्रयोग हुने गरेका छन् । कतिपय उत्पादकहरुले ५ नानोमिटरका चिपसमेत उत्पादन गर्ने गरेका छन् । माइक्रोचिपको उल्लेखित नानोमिटर अंक जति सानो भयो माइक्रोचिप उति सानो र शक्तिशाली हुन्छ ।

आईबीएमको नयाँ चिपले २ नानोमिटर प्रोसेस टेक्नोलोजीको प्रयोग गर्दछ । जुन विद्यमान स्मार्टफोन तथा अन्य उपकरणदेखि सुपर कम्प्युटर र यातायत उपकरणहरुमा समेत प्रयोग हुनेछ ।

आईबीएमका निर्देशक डारियो गिलका अनुसार यो माइक्रोचिप प्रविधिको क्षेत्रमा कोसेढुंगा सावित हुने बताएका छन् ।

आईबीएमले निर्माण गरेको सबैभन्दा सानो माइक्रोचिप झण्डै औंलाको नङको आकारको छ । र, एउटा चिपभित्र ५० अर्बवटा ट्रान्जिस्टरको प्रयोग गरिएको छ । ती हरेक ट्रान्जिस्टरको आकार एक जोडी डीएनए त्यान्द्रो जत्रै रहेको आईबीएमका उपाध्यक्ष मुकेश खारे बताउँछन् ।

कुनैपनि चिपमा जब आकार यथावत राखेर ट्रान्जिस्टरको संख्यामा वृद्धि गरिन्छ तब यसको क्षमतामा वृद्धि हुन्छ । ट्रान्जिस्टर भनेको चिपमा डाटा प्रोसेसिङ हुने मुख्य भाग हो । चिपमा बढी ट्रान्जिस्टर हुँदा त्यसले आर्टिफिसियल इन्टेलिजेन्स, इनक्रिप्सन लगायतका धेरै प्राविधिक अन्वेषणमा पनि सघाउ पुर्‍याउँछ ।

आईबीएमका अनुसार हाल उपलब्ध ७ नानोमिटर चिप्सभन्दा यो २ नानोमिटर चिप्सको क्षमता ४५ प्रतिशत बढी हुनेछ भने ७५ प्रतिशत कम उर्जा खपत गर्नेछ । २ नानोमिटर चिप्सको प्रयोगले मोबाइल फोनको ब्याट्री ७ नानोमिटर चिप प्रयोग हुँदा भन्दा ४ गुणा बढी समयसम्म टिक्नेछ । साथै ल्यापटपको पनि फास्ट चल्ने र डाटा सेन्टरहरुको कार्वन उत्सर्जनमा समेत कटौती हुनेछ ।

आईबीएमले २ नानोमिटर चिपको आविष्कार गरेको भएपनि यसको व्यावसायिक उत्पादनका लागि भने सन् २०२४ को अन्त्य वा २०२५ को सुरुवातसम्म कुर्नुपर्नेछ । आईबीएमले उक्त चिप आफैंले उत्पादन नगरी अन्य चिप उत्पादक कम्पनीलाई लाइसेन्स उपलब्ध गराएर उत्पादनको जिम्मा दिने बताइएको छ ।

विश्वको सेमिकण्डक्टर उद्योगमा अमेरिकी हिस्सामा गिरावट आइरहेको बेला जो बाइडेन नेतृत्वको सरकारले अमेरिकामा चिपको अनुसन्धान, विकास र उत्पादनमा ५० अर्ब डलर लगानी गर्ने घोषणा गरिरहेको समयमा आईबीएमले संसारकै सानो र शक्तिशाली चिपको विकास गरेको समाचार सार्वजनिक भएको हो ।

यसले आईबीएम कम्पनी सेमिकण्डक्टर प्रविधिको क्षेत्रमा अमेरिकामा अगुवा रहेको प्रमाणित गरेको आईबीएमका अनुसन्धान निर्देशक गिल बताउँछन् ।

सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment