Comments Add Comment

च्याम्पियन सिटी पराजित, युनाइटेड बराबरीमा रोकियो

५ जेठ, काठमाडौं । प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेष्टर सिटी पछिल्लो खेलमा ब्राइटनसँग ३-२ गोलले पराजित भएको छ ।

ब्राइटनको मैदानमा दुई गोलको अग्रता लिएपनि १० खेलाडीमा समिति रहेको सिटीले त्यसलाई जोगाउन सकेन । राइटनले भने एक खेलाडी कम भएको फाइदा उठाउँदै ३ गोल गरेर पुनरागमन जित हासिल गरेको हो ।

खेलको दोस्रो मिनेटमै एल्के गुन्डागोनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १०औं मिनेटमा जाओ कान्सेलोले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटियो ।

दोस्रो हाफको तेस्रो मिनेटमै फिल फोडेनले मैदानको मध्य भागबाट एक्लै बल अगाडि बढाएर उत्कृष्ट गोल गरेपछि सिटीले अग्रता दोब्बर पार्‍यो । तर त्यसपछि भने ब्राइटनले पुनरागमन गर्‍यो ।

५०औं मिनेटमा लिएन्ड्रो ट्रोसराडले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए । त्यसपछि एडम वेब्स्टरले ७२औं र डानिएल बर्नले ७६औं मिनेटमा गोल गरेपछि ब्राइटन ३-२ ले विजयी भएको हो ।

सिटी ३७ खेलबाट ८३ अंकसहित शीर्ष स्थानमै छ । जितपछि ब्राइटन ३७ खेलबाट ४१ अंक जोड्दै १५औं स्थानमा उक्लेको छ ।

उता दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड रेलिगेसनमा परिसकेको फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको छ । एडिनसन कभानीको गोलबाट पहिले अग्रता लिएपनि युनाइटेडले त्यसलाई कायम राख्न सकेन ।

ओल्ड ट्राफोर्डमा भएको खेलको १५औं मिनेटमा एडिनसन कभानीले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि पनि युनाइटेडले गोल गर्ने अवसर गुमायो ।

७५ मिनेटसम्म अग्रता कायम राखेपनि अन्तिम १५ मिनेटमा फुलहमले गोल फर्कायो । ७६ औं मिनेटमा जोइ ब्रायनले फुलहमका लागि बराबरी गोल फर्काए ।

बराबरीपछि युनाईटेडले ३७ खेलबाट ७१ अंक जोडेको छ । फुलहम ३७ खेलबाट २८ अंक जोडेर १८ औं स्थानमा छ । अर्को खेलमा लिड्सले साउथह्याम्पटनलाई २-० ले हराएको छ । लिड्सको जितमा प्याट्रिक बामफोर्ड र टेलर रोबर्ट्सले गोल गरे ।

लिड्स ३७ खेलबाट ५६ अंक जोड्दै आठौं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment