Comments Add Comment

माओवादी नेतालाई गोली हानेको आरोपमा दुईजना पक्राउ

७ वैशाख, बुटवल । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेसहित दुईजनामाथि गोली प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु नगरपालिका वडा नं. १ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अली रहेका छन् ।

बुधबार राति तीन जनाको समूहमा एउटा मोटरसाइकलमा आएका उनीहरुले माओवादी केन्द्रका जिल्ला सदस्य ३५ वर्षका दीपक पाण्डेय र भारतीय नागरिक २६ वर्षीय इयाज अख्तरमाथि गोली प्रहार गरेका प्रहरीको दावी छ । पक्राउ परेका दुवै जनाले आफूहरुले गोली चलाएको प्रहरीसामु स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

बुधबार राति कपिलवस्तु नगरपालिका– ६ स्थित थुमुवा तौलिहवा सडक खण्डमा मोटरसाइकलमा आएका ३ जनाको समूहले गोली प्रहार गरेका थिए । घटनामा संलग्न एक जना पक्राउ पर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पेट र कम्मरमा २ वटा गोली लागेका पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाण्डेको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

एउटा गोली लागेका भारतीय नागरिकको अवस्था भने सामान्य रहेको र उनी उपचारपछि घर फर्केको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । व्यक्तिगत रिसइबीका कारण पाण्डेमाथि गोली चलाएको अभियुक्तले बयान दिएको डीएसपी भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment