Comments Add Comment

जनता महामारीसँग लडिरहेका बेला चुनावले समाजलाई अझै विभाजित गर्छ

सञ्चो नभएर स्वास्थ्य लाभ गरिरहेको छु । बिहान उठेर अनलाइन हेरें, संसद विघटन भएर चुनाव घोषणा भइसकेछ । मेरो लागि यो अप्रत्यासित हो । हिजो साँझ सम्माननीय राष्ट्रपतिज्यूले कानून हेरेर र कानूनविद्सँग परामर्श गरेर मात्र निर्णय लिन्छु भन्नुभएको थियो ।

तर, हिजै निर्णय भएर मन्त्रिपरिषदको बैठक बसिकन संसद भंग गरेर चुनाव घोषणा मध्यरातमै भएछ । यो निर्णय गर्ने अधिकार कानूनले उहाँहरूलाई दिएको होला, तर यसका लागि प्रक्रिया पनि हुन्छ होला नि ? यसबारे कानूनविद्हरूले बताउनुहोला ।

तर, हामी सामान्य मान्छेले हेर्दा चुनावको घोषणा प्राकृतिक देखिंदैन । चुनाव राजनीतिक विषय मात्रै हैन; सामाजिक, आर्थिक र मानवीय पक्ष पनि यसमा जोडिन्छन् । देश महामारीले आकुलव्याकुल छ । जनता लकडाउनको पालना गरिरहेका छन् । तर, पनि संक्रमणदर उच्च छ । मान्छेले अकालमा मृत्यु अँगाल्नु परिरहेको छ । महामारी रोकथाम र उपचार प्रभावकारी बन्न सकेको छैन ।

यही बेला चुनाव घोषण गरेपछि त देशको सारा प्रशासनिक तथा राजनीतिक क्षेत्र चुनाव केन्द्रित हुनेभयो । आर्थिक स्रोतको उपयोग त्यतै बढी हुनेभयो । अब जनताको ज्यानले भन्दा चुनावले प्राथमिकता पाउने भयो । हो, लोकतन्त्रको सुन्दर पक्ष भनेकै मताधिकार हो, चुनाव हो । तर, जनताको ज्यान नजोगाई, जनता पीडामा रहेका बेला लोकहित नहेरी कसरी लोकतन्त्र सुन्दर होला ?

अहिले म आफैं पनि कोरोना संक्रमित हुँ । मेरो भाइ (ठूलोबाको छोरा) को हालसालै कोेरोनाले ज्यान लिएको छ । अहिले सबैजसो नेपालीको व्यथा यही हो, महामारीको यो सन्त्रास बीच चुनाव थोपरिनु कति उपयुक्त होला ?

पर्याप्त नभए पनि महामारीेले गाँजेपछि अहिले स्थानीयस्तरमा सामाजिक तथा सामुदायिक अभियन्ता, राजनीतिक नेता कार्यकर्ता महामारी विरुद्ध जुटेका छन् । महामारीमा एकताबद्ध भएर मानवीय सहयोग पुर्‍याउन कोशिश गरिरहेका छन् । यस्तो अभियान बढाउनुपर्ने बेलामा हुने चुनावले फेरि समाजलाई राजनीतिक रूपमा विभक्त गर्छ ।

चुनावमा आफ्ना विचारधाराहरू प्रकट हुँदा महामारीकै बीचमा समाजमा फेरि विभाजनको रेखा कोरिने जोखिम छ । यो त एकताबद्ध भएर महामारीविरुद्ध जुट्नुपर्ने बेला हो । समस्यालाई मिलेर समाधान गर्नुपर्ने समय हो ।

तर, यही बेला थोपरिएको चुनावले लोकको कल्याण कसरी गर्ला ? लोकको हित नहुने गरी लोकतन्त्रको नाम मात्रै दिएर गरिने चुनाव कसरी लोकतन्त्रको लागि होला र ? जनता महामारीले भोक, रोग र शोकसँग लडिरहेका बेला हुने मध्यावधि चुनावले लोकतन्त्रलाई बलियो बनाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment