Comments Add Comment

जमैकाले सन्दीपलाई गर्‍यो रिलिज

९ जेठ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ का लागि जमैका तल्लहवाजले ७ खेलाडी रिटेन गरेको छ । जैमकाले नेपाली लेग स्पीनर सन्दीप लामिछाने लगायत खेलाडीलाई रिलिज गरेको छ ।

सन्दीपले लगातार तेस्रो सिजन सीपीएल खेल्ने क्रममा गत वर्ष जमैकाबाट खेलेका थिए । जमैकाल अलराउण्डर आन्द्रे रसेलसहित कार्लोस ब्रेथवेइट, रोभमन पावेल, चाडविक वालटन, फिडे एडवार्ड्स, भिरास्वामी परमउल र राएन पर्सौदलाई नयाँ सिजनको लागि रिटेन गरेको हो ।

बाँकी स्थानका लागि जमैकाले केही दिनमा खेलाडीको नाम घोषणा गर्ने जनाएको छ । सन्दीपसँगै अफगानिस्तानका मुजिव उर रहेमान, पाकिस्तानमा आसिफ अली, न्यूजिल्याण्डका ग्लेन फिलिप्स, वेष्ट इन्डिजकै ओसाने थोमस लगायत खेलाडीलाई भने रिलिज गरेको हो ।

गत सिजन जमैका लिगमा चौथो हुँदै सेमिफाइनल पुगेको थियो तर ट्रिनबागो नाइट राइडर्ससंग पराजित हुँदै बाहिरिएको थियो ।

सन्दीपले जमैकाका लागि ११ खेल खेल्दै १२ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिनेमा संयुक्त रुपमा पाँचौ स्थानमा थिए ।

सन्दीपले सन् २०१८ मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र २०१९ मा बार्बाडोस ट्रिडेन्ट्सबाट सीपीएल खेलेका थिए ।

यस सिजन भने सन्दीप नयाँ टिममा अनुबन्ध हुने सम्भावना कम छ । किनकी सन्दीप इंग्ल्याण्डमा हुने भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडका लागि अनुबन्धित भएका छन् । भाइटालिटी जुन ९ देखि र दी हन्ड्रेड जुलाई २१ देखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment