Comments Add Comment

वीरगञ्‍ज भन्सार कार्यालयमा फाष्ट ट्रयाकबाट स्वास्थ्य सामग्रीको जाँच पास

९ जेठ, वीरगञ्‍ज । वीरगञ्ज भन्सार कार्यालयबाट ६ हजार घनमिटर अक्सिजन बोकेको ट्याङकर शनिबार राति काठमाडौंतर्फ गयो । तर त्यसको जाँच पासको प्रक्रिया भने आइतबार पूरा गरिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार कोरोना महामारीमा अत्यावश्यक स्वास्थ्य सामग्रीमा पर्ने लिक्विड अक्सिजनको गाडीलाई भन्सारमा रोक्न नपर्नेगरी व्यवस्था मिलाइएको छ । त्यसका लागि भन्सार कार्यालयले भारतीय भन्सारसँग पनि समन्वय गरेको छ ।

आइसीपी भन्सार राति ९ बजेदेखि बिहान ९ बजेसम्म बन्द रहन्छ । त्यसैले रातिको समयमा आएका अत्यावश्यकीय स्वास्थ्य सामग्री बोकेका गाडीलाई पुरानो भन्सारबाट जाँच पास गराउन सकिने गरी व्यवस्था मिलाइएको वीरगञ्‍ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार लिक्विड अक्सिजन बोकेको गाडी भारतीय होस् वा नेपाली कष्टम कतै पनि रोकिनु पर्दैन । ‘कोरोना संक्रमितलाई अक्सिजनको एकदमै जरुरी पर्छ, ५-१० मिनेट मानिसले अक्सिजन पाएन भने ज्यानै जान्छ ।’ प्रमुख पौडेलले भने ‘ त्यसैले पहिला गाडीलाई जान दिन्छौं, कागजी प्रक्रिया पछि मिलाउँछौं।’

अक्सिजनको चरम माग रहेकाले भारतबाट अक्सिजन लिएर आउने ट्यांकरलाई भन्सारमा कुनै रोकतोक विना निस्कन सक्ने व्यवस्था मिलाइएको उनले बताए । स्वास्थ्य सामग्री आयातकर्ताले भन्सार अधिकृतको ह्वाट्सएप, भाइबर, ईमेलमा वा फोटोकपी बुझाएपछि जाँचपास गरेर सामाग्री पठाइदिने गरेको उनको भनाइ छ ।

फाष्ट ट्रयाकबाट जाँच पास गर्नका लागि दुई जना भन्सार अधिकृत र ३ जना नायब सुब्बाको टोलीलाई जिम्मेवारी दिइएको छ । छिटो छरितो ढंगले स्वास्थ्य सामग्री आवश्यक भएको ठाउँमा पुगोस् भन्ने उद्देश्यले र्‍यापिड टिम गठन गरिएको प्रमुख भन्सार अधिकृत पौडेल बताउँछन् ।

७ ट्यांकर  लिक्विड अक्सिजन भित्रियो

वीरगञ्ज भन्सार नाकाबाट हालसम्म सानो र ठूलो गरी ७ ट्याङकर अक्सिजन आयात भइसकेको छ । काठमाडौंको शंकर ग्यास उद्योगले वीरगञ्ज, भैरहवा र नेपालगञ्ज नाकाबाट अक्सिजन आयात गरी रहेको हो ।

भारतको झारखण्ड राज्यस्थित जमशेदपुरबाट ट्यांकरमा अक्सिजन ल्याउने गरिएको छ । लिक्विड अक्सिजन बोक्ने ट्यांकर सानो र ठूलो गरी दुई किसिमको हुन्छ । सानोमा ६ हजार र ठूलोमा ११ हजार ८ सय घनमिटरसम्म अक्सिजन अटाउँछ ।

सरकारले भन्सार छुट दिएकोले ५ सय ६५ रुपैयाँमा एक ट्यांकर अक्सिजन जाँचपास हुने गरेको छ । भन्सार एजेन्टले कागजातहरु पछि पेश गरेर जाचपासको प्रकृया पूरा गर्ने गरी अक्सिजन बोकेको ट्याङ्कर छोड्ने गरिएको छ ।

‘रक्सौल आइनपुग्दै भन्सारमा आयातकर्ताले जानकारी गराउँछन्, रक्सौलमा पनि रोकिदैन, हामी पनि रोक्दैनौं, सिधै उद्योगतर्फ प्रस्थान गर्न दिन्छौं ।’ प्रमुख भन्सार अधिकृत पौडेलले भने ।

वीरगञ्ज नाका हुँदै भित्रियो डेढ करोडको सामान

जेठ १ गतेदेखि ५ गतेसम्म भन्सार नाका हुँदै ११ लाख ९२ हजार मुल्य बराबरको २८ हजार ९ सय ९८ घनमिटर आयात भएको छ । जसबाट कार्यालयले २ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

लिक्विड अक्सिजनसहित नाकाबाट १ करोड ४८ लाख ४३ हजार मूल्य बराबरको स्वास्थ्य सामाग्री आयात भएका छन् । डाक्टरी उपकरण १ हजार ६ सय ७४ थान, अक्सिजन ग्यास सिलिण्डर २० थान, नाप्ने, परीक्षण गर्ने औजारहरु ७ सय ९९ थान, औषधि उपचारमा प्रयोग हुने फर्निचर ७२ थान र फेस मास्क १ लाख १० हजार थान भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीले जानकारी दिए ।

जसबाट कार्यालयले २५ लाख ३८ हजार रुपैयाँ राजश्व समेत संकलन गरेको छ । भन्सार विभागले सबैखाले स्वास्थ्य सामाग्रीमा नभई तोकिएको मालवस्तुमा मात्रै भन्सार छुट दिएको भन्सार कार्यालयले जनाएको छ ।

‘अक्सिजनमा भन्सार छुट छ, तर अक्सिमिटरमा छैन, आईसीयू बेडमा छुट छ तर नर्मल बेडमा छैन ।’ प्रमुख भन्सार अधिकृत पौडेलले भने ‘ भेन्टिलेटर लगायत सीमित वस्तुलाई मात्रै भन्सार छुट दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment