
९ जेठ, काठमाडौं । नेपालको निर्यात व्यापारले १ खर्बको आंकडा पार गरेको छ । नेपालले एक दशक अगाडि नै निर्यात एक खर्बको आंकडाभन्दा माथि लैजाने लक्ष्य राखेको थियो । यो लक्ष्य चालु आर्थिक वर्षको १० महिना मै पुरा भएको हो ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को १० महिना (साउन-वैशाख)को अवधिमा नेपालको वस्तु निर्यात १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार भएको छ । वैशाख महिनासम्म आइपुग्दा निर्यातको वृद्धि ३२.१९ प्रतिशत देखिएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ मा १० महिनाको अवधिमा निर्यात ८२ अर्ब ६ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबरको रहेको थियो । यो वर्ष निषेधाज्ञाका बीचमा समेत खासगरी वैशाख महिनामा नेपालबाट वस्तु निर्यातमा उल्लेख्य प्रगति देखिएको छ ।
यो वर्ष वस्तु निर्यातमा भट्टमासको तेलसहित तेलजन्य वस्तुको मूख्य भूमिका छ । कफी चिया र कार्पेटमा समेत उल्लेख्य वृद्धि भएको छ । आइरन र स्टिलको निर्यात समेत बढेको छ ।
एक दशक अगाडिको लक्ष्य बल्ल पुरा
सरकारले २०६४ सालमा सार्वजनिक गरेको त्रिवषिर्य अन्तरिम योजनाको १ खर्ब निर्यात पुर्याउने लक्ष्य राखेको थियो । यो लक्ष्यलाई सरकारले हरेक पटक दोहोर्याए पनि सफल हुन सकेको थिएन । उक्त वर्ष ६१ अर्ब रुपैयाँ हाराहारीको निर्यात भएको थियो ।
२०६७/६८ मा आएको त्रिवर्षीय योजनामा समेत १ खर्ब निर्यातको लक्ष्य कायम राखिएको थियो । नेपालले गत आव २०७६/७७ मा लक्ष्य भेटाउने संकेत गरेको थियो । तर, कोरोना महामारीका कारण अन्तिम समयमा लक्ष्य पुरा हुन सकेन । सो वर्ष नेपालले ९६ अर्ब रुपैयाँको मात्र निर्यात व्यापार गर्न सफल भएको थियो ।
आयातमा २२.३४ प्रतिशत वृद्धि
तथ्यांकअनुसार चालु आवको १० महिनाको अवधिमा आयातमा समेत उल्लेख्य वृद्धि भएको छ । गत आवको यसै अवधिको तुलनामा आयातमा २२.३४ प्रतिशतको वृद्धि देखिएको विभागले जनाएको छ ।
यो वर्ष १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष यसै अवधिमा १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
१० महिनाको तथ्याङ्कअनुसार नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.९६ प्रतिशत र आयातको हिस्सा ९२.०४ प्रतिशत रहेको छ ।
व्यापार घाटा ११ खर्ब ४५ अर्ब
यो वर्ष नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ भएको छ । निर्यात र आयात दुबै बढेपनि आयातको हिस्सा अत्यधिक हुँदा नेपालको व्यापार घाटामा छ ।
यस अवधिमा नेपालको व्यापार घाटा २१.४८ प्रतिशतले वृद्धि भएको छ । नेपालको कुल वैदेशिक व्यापारको आकार भने १३ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँको पुगेको छ ।
यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २३.०७ प्रतिशत बढी हो । यो अवधिमा गत वर्ष ११ खर्ब ७ अर्ब २० करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो ।
यस्तो रहृयो १० महिनाको वैदेशिक व्यापार
आयात : १२ खर्ब ५४ अर्ब ११ करोड (२२.३४ प्रतिशत बढेको)
निर्यात : १ खर्ब ८ करोड (३२.१९ प्रतिशत बढेको)
व्यापार घाटा : ११ खर्ब ४५ अर्ब ६३करोड (२१.४८ प्रतिशत बढेको)
कुल वैदेशिक व्यापार : १३ खर्ब ६२ अर्ब २५ करोड (२३.०७ प्रतिशत बढेको)
व्यापारमा आयातको हिस्सा : ९२.०४ प्रतिशत (०.५९ प्रतिशत घटेको)
व्यापारमा निर्यातको हिस्सा : ७.९६ प्रतिशत (७.९६ प्रतिशत बढेको)
प्रतिक्रिया 4