Comments Add Comment

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २४ वटा रिट

१० जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २४ वटा रिट परेको छ ।

विपक्षी गठबन्धनमा आवद्ध दलहरु प्रमुख विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव– डा. बाबुराम भट्टराई समूह र राष्ट्रिय जनमोर्चा नेपालका गरेर १४६ सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेर सोमबार सर्वोच्च अदालत रिट पेश गरेका हुन् ।

उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने परमादेशको समेत मागदाबी गरेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै १३९ सांसदले स्वयम् उपस्थित भएर र ७ जनाले वारेस (प्रतिनिधि)मार्फत रिट पेश गरेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । यसबाहेक विभिन्न व्यक्तिले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै थप २३ वटा रिट पेश गरेको उनले बताए ।

यस्तै, संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा केपी ओलीलाई निर्वाचित गरियोस् भन्ने मागसहित अन्य चारवटा रिट समेत सर्वोच्चमा पेश भएको छ ।

आज पेश भएका प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षका २४ र प्रधानमन्त्री ओली पक्षका ४ वटा रिट दर्ताको प्रक्रियामा रहेको पनि सर्वोच्च अदालतका प्रवक्ता पोखरेलले जानकारी दिए ।

‘सर्वोच्चमा आएका २८ वटै रिट दर्ताको प्रक्रियामा छन् । आज सनाखत गर्ने काम भएको छ । भोलिसम्म दर्ताको प्रक्रिया सकिन्छ,’ पोखरेलले भने ।

२८ मध्ये ९ वटा रिट संवैधानिक इजलाससँग सम्बन्धित छन् भने बाँकी १५ वटा रिट सामान्य इजलासका लागि पेश भएका छन् । ‘जहाँका लागि पेश भएको हो त्यही अनुसार प्रारम्भिक सुनुवाइ हुन्छ । त्यसपछि संयुक्त हुने कि के गर्ने भन्ने लगायतका विषय अगाडि जान्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment