Comments Add Comment

पर्वतमा ५० हजार एन्टिजेन किटको माग

१३ जेठ, पर्वत । पर्वतमा स्थानीयस्तरमै कोभिड परीक्षण गर्न सकिने एन्टिजेन किट अभाव भएको छ ।

परीक्षण गरिएका करिब ५० प्रतिशतमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मी र स्थानीय तहले बिरामीको पहिचान छिटो गर्न माग गरेका छन् ।

स्थानीय तहको माग ५० हजार रहेकामा ३५० वटा मात्र किट रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले परीक्षण गरिएका मध्ये ४६÷४७ प्रतिशतमा कोभिड देखिएको भन्दै सङ्क्रमणको स्थितिका आधारमा कम्तीमा ५० हजार किट चाहिएको बताए । उनले भने, ‘केही दिन पहिले ३५० किट मात्रै आएको त्यो पनि केही क्षणमै सकिएको छ । ’

स्वास्थ्य कार्यालयमा प्राप्त सबै किट जिल्लाका सातवटा पालिकालाई ५० वटाका का दरले वितरण गरेको छ । जिल्लामा पीसीआर मेसिन र स्वाब परीक्षण गर्ने जनशक्ति नभएका कारण स्वाब परीक्षणका लागि पोखरा पठाउनुपर्ने बाध्यता छ ।

स्वास्थ्य कार्यालय प्रमुख डा. भोजराज गौतमले पठाइएका स्वाबको नतिजा समयमै नआउनु र लामो समय लकडाउन हुनुले पनि कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारमा समस्या भएको बताए ।

एन्टिजेन किटमार्फत गरिएको परीक्षण पीसीआर जत्तिकै भरपर्दो भएकाले यो छिटोछरितो परीक्षणको माध्यममा स्थानीय पालिकादेखि प्रदेश र केन्द्र सरकारले जोड दिनुपर्ने गौतमको सुझाव छ ।

पालिकाहरुले पनि पिसिआर रिपोर्ट समयमै उपलब्ध गराउन वा एण्टिजेन कीट मागेअनुसार नै उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । सबैतिर स्थिति जटिल बन्दै गएको भन्दै प्रदेश र केन्द्र सरकार पन्छिँदै गएको आरोप जनप्रतिनिधिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment