Comments Add Comment

महामारीको समयमा के-के गर्‍यो स्काउटले ?

१४ जेठ, काठमाडौं । सामाजिक सेवामा सक्रिय संस्था नेपाल स्काउटले कोरोना भाइरस महामारीको क्रममा पनि आफ्नो सेवालाई यथावत् सञ्चालनमा ल्याएको छ । महामारीको समयमा कोरोना संक्रमणका कारण बिरामी भएका मात्रै नभएर कोरोना नलागेका बिरामीको उपचार र स्थानीय स्तरमा खाना र पशुपक्षीलाई आहार वितरण जस्ता काममा आफ्ना स्वयंसेवकहरू परिचालन गरेको जनाएको छ ।

कोरोना महामारीको समयमा स्काउटले गरेका मुख्य १० कामहरू निम्नानुसार छन् ।

१) एसएमएस क्याम्पियन

गतवर्ष कोरोना महामारी सुरु भएपश्चात नेपाल स्काउटले युनिसेफसँगको सहकार्यमा कोरोनाबाट बच्न हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षात्मक कार्यका लागि एसएमएस क्याम्पियन सञ्चालनमा ल्यायो । यस कार्यक्रम अन्तर्गत नेपाल स्काउटका स्वयंसेवकहरु गाउँ शहरका मुख्य चोक र बस्तीहरुमा गई प्रत्यक्ष संवाद गरी जनचेतना फैलाउने कार्य गरेको स्काउटले जनाएको छ । सो कार्यक्रममा देशभर ४०० जना स्काउट प्रत्येक दिन परिचालित थिए । नेपाल स्काउटले कोरोना महामारीको प्रभाव कम हुँदै भएको अवस्थामा पनि उतिकै सक्रिय रूपमा नियमित कार्यक्रम सञ्चालन गरिरहेको स्काउटले जनाएको छ।

२) खोप केन्द्रमा सेवा

नेपाल स्काउटले हाल सञ्चालनमा रहेका खोप केन्द्रहरुमा स्थानीय तहको सहकार्यमा खोप लगाउन आउने सर्वसाधारणको लागि सहजीकरण गर्ने गरेको छ । नेपाल सरकारले देशवासीलाई विभिन्न प्राथमिकता क्रममा राखी खोप लगाउने निर्णय गरेसँगै नेपाल स्काउटका स्वयंसेवकहरू सहजीकरणका लागि अघि बढेका हुन् । उपत्यकाका विभिन्न स्थानका २१ वटा खोप केन्द्रहरूमा १२५ जना स्काउट स्वयंसेवीहरु परिचालित थिए। हाललाई जेठ १४ गतेसम्म चलेको खोप अभियानमा पनि स्काउटहरू परिचालित छन् ।

३) अनलाइन स्वास्थ्य परामर्श सेवा

कोरोना महामारीले व्यापक प्रभाव पारेका कारणले सामान्य तथा अन्य गम्भीर रोग लागेका बिरामीहरुलाई असुविधा भएको अवस्थामा नेपाल स्काउटले अनलाइन तथा फोनको माध्यमबाट स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयसँगको समन्वयमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुलाई बिरामीहरुले सोझै सम्पर्क गरी परामर्श लिनेदिने व्यवस्था गरेको स्काउटले जनाएको छ ।यस कार्यक्रम मार्फत हालसम्म ५९ जना चिकित्सकहरूले करिब ५०० जनाभन्दा बढी बिरामीहरूलाई परामर्श सेवा प्रदान गरिसकेका छन् ।

४) नन कोभिड बिरामी एम्बुलेन्स सेवा

कोरोना बाहेकका बिरामीहरुलाई पर्ने समस्यालाई मध्यनजर गरी उनीहरुलाई अस्पताल वा स्वास्थ्यकर्मीहरुसम्म पुग्ने व्यवस्था गर्न नेपाल स्काउटले नन कोभिडका बिरामीहरूका लागि एम्बुलेन्स सेवा आरम्भ गरिसकेको छ । यस सेवा अन्य प्रदेश र देशका ठूला सहरहरूमा पनि सञ्चालन गर्न सवारी साधनको व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

५) स्वास्थ्यकर्मीलाई सटल सर्भिस

कोरोना महामारी व्यापक भएसँगै सार्वजनिक सवारीसाधन बन्द भएको र अस्पतालका सवारीसाधनहरु अपर्याप्त भएका कारणले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आवतजावत गर्न समस्या रहेको जानकारी आएपछि नेपाल स्काउटले आफ्नो सवारीसाधन स्वास्थ्यकर्मीहरुका लागि सटल सर्भिसको रूपमा सञ्चालनमा ल्याएको थियो । यस सेवाबाट चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरु समयमै अस्पताल पुगी स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुगेको थियो । यस सेवा मार्फत २५० जना स्वास्थ्यकर्मीहरुलाई सेवा प्रदान गरिएको स्काउटले जनाएको छ ।

६) केन्द्र र स्थानीयस्तरमा खाना र पशुपक्षीलाई आहार वितरण

नेपाल स्काउटले देशभर विभिन्न स्थानमा कोरोना महामारीका कारण अप्ठेरोमा परेका सर्वसाधारणलाई खाना खुवाउने कार्य गरेको थियो । कोरोनाका कारण व्यवसायहरु बन्द भएपछि रोजगारी विहिन भएका, लकडाउका कारण घर जान नपाएका कयौं व्यक्तिहरुलाई देशका विभिन्न स्थानहरुमा स्काउटले निःशुल्क खाना वितरण गर्ने, खाद्यपदार्थ वितरण गर्ने कार्य गरेको जनाएको छ ।

साथै, कोरोना महामारीकै कारण मान्छेहरुको आवतजावत बन्द हुने र मठमन्दिर तथा रेष्टुरेन्ट होटल व्यवसाय आदि बन्द भएका कारण भोकै मर्न लागेका पशुपन्छीलाई आहार वितरण गरिएको थियो । स्काउट सबै पशुपन्छी तथा जनावरहरूप्रति दयालु हुन्छ भन्ने स्काउटको नियमको अनुसरण गर्दै धार्मिक स्थल र अन्य स्थानका जनावर तथा पशुपन्छीलाई खाना उपलब्ध गराइएको थियो । यस कार्यमा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई लगायत सक्रिय स्काउटर तथा नेपाल स्काउटका कर्मचारीहरू खटिएका थिए ।

७) विद्यालयहरूमा मास्क वितरण

नेपाल स्काउटले विभिन्न संस्थाहरुसँग सहकार्य गरी विद्यालयहरुमा मास्क वितरण गर्ने कार्य गरेको छ । कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि नाक मुख छोप्न मास्क नैं मुख्य प्रभावकारी माध्यम भएकाले बालबालिकाहरुमा यसको प्रकोप बढ्न नदिन विद्यालय तहमै मास्क वितरण गर्ने र मास्को उचित प्रयोग, हातको सरसफाई र सामाजिक दूरी कायम गर्ने सम्बन्धमा जनचेतना फैलाउने कार्य समेत गरिएको स्काउटद्वारा जारी कार्यविवरणमा उल्लेख छ ।

८) हात धुने स्थलहरु स्थापना र सञ्चालन

नेपाल स्काउटले देशका धेरै जनसंख्या भएका मुख्य शहरका मुख्यमुख्य स्थानहरुमा हात धुने स्थान तयार गरी सर्वसाधारणको प्रयोगमा ल्याएको थियो । कोरोना संक्रमण फैलनबाट रोक्न ७५ वटा स्थानहरुमा सार्वजनिक हात धुने स्थानको स्थापना गरिएको थियो । यस कार्यमा नेपाल स्काउटका ६२५ जना स्काउट स्वयंसेवीहरु खटिएका थिए भने ४९४३४ जना नागरिक प्रत्यक्ष लाभान्वित भई कोरोनाको संक्रमण फैलनबाट रोक्न सकिएको छ ।

९) शव व्यवस्थापन

नेपाल स्काउटले कोरोना महामारीका कारण ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि हुँदै गएकोले शव व्यवस्थापनमा समेत आफूहरू सक्रिय रहेको नेपाल स्काउटले जनाएको छ । कोरोनाका कारण मृत्यु भएको पहिलो व्यक्तिको शव व्यवस्थापनमा समेत सक्रिय रहेको नेपाल स्काउटका स्वयंसेवीहरू अहिलेसम्म पनि शव व्यवस्थापनमा सक्रिय छन् । भक्तपुरका स्काउटरहरु अरुण सैंजु, राजेश गाइजु र न्हुजा किजु लगायतको टोली हालसम्म पनि शव व्यवस्थापनको काममा लागिरहेका छन् । हालै नेपाल स्काउट प्रदेश नं १ मा नेपाली सेनाबाट शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण लिई स्काउटका १५ जना स्वयंसेवीहरु शव व्यवस्थापनमा खटिएको बताएको छ ।

१०) हेल्प डेस्कको स्थापना

नेपाल स्काउटले राजधानी तथा देशका अन्य शहरहरुमा कोरोना सम्बन्धी जनचेतना र स्वास्थ्य सेवा प्राप्त गर्न सहजीकरण गर्ने उदेश्यले हेल्प डेस्कको स्थापना गरेको छ । गण्डकी प्रदेशमा २० जना स्काउट स्वयंसेवीहरू प्रदेशका ११ वटै जिल्लाका अस्पतालहरुमा उपलब्ध कोभिड बेड, आईसीयू बेड, भेन्टिलेटर बेड, अक्सिजन बेडको तथ्याङ्कहरू संकलन र अद्यावधिक गर्ने कार्य गरिरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment