+
+

बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते ८:५८
मनाङको चामेमा आएको बाढी

१६ जेठ, काठमाडौं । बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ ।


प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।

प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ । ‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरणले भनेको छ, ‘थुनिएका खोल्सी थुनिएका छन् भने खोलौं, सडक किनारमा नाला बनाऔं ।’

बाढीले पुर्याएको क्षतिबारे जानकारी दिंदै मनाङका डिएसपी सुवास खड्काले भने, ‘घट्टेखोलामा रहेको एउटा घरमा नेपाल लाइफ इन्स्योरेन्सको कार्यालय पनि थियो । त्यो घर भत्किएर बस्नै नमिल्ने भएपछि त्यहाँ डेरामा बस्दै आएकाहरुलाई नजिकको विद्यालयमा सारिएको छ ।’

डिएसपी खड्काका अनुसार मनाङको बजार क्षेत्रका सबैजसो होटल तथा पसलहरुमा हिलो र ढुंगासहितको बाढी पसेको छ । मुख्य बजार क्षेत्रमै ठूलाठूला खाल्डो परेर हिँड्नै नसकिने खालको बनाएको छ ।

‘बजार पसलको हिलो माटो सफा गरिसकेका छौं,’ बाटो बन्न त केही दिन लाग्ने देखिन्छ,’ उनले भने । प्रहरीका अनुसार जंगल क्षेत्रतिर कुखुरा पाल्नका लागि स्थानीयले बनाएका खोरहरु बाढीले बगाएको छ भने ग्रामिण सडक ठाउँ ठाउँमा भत्किएर अवरुद्ध भएका छन् ।

बंगालको खाडीमा विकसित यास चक्रवातको प्रभावले देशभर बदली भइ केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैको कारण बाढी र पहिरो आएको हो ।

मौसम विज्ञान विभागले यसपालिको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको छ । नेपालमा मनसुन जुन १३ देखि मनसुन सुरु हुने र अक्टुबर २ मा बाहिरिने पूर्वानुमान गरिएको छ ।

बाढी र पहिरोबाट हुन सक्ने क्षति कम गर्नका लागि पूर्वतयारी गर्न सरकारको पटक–पटक ध्यानाकर्षण गराए पनि त्यसअनुसार प्रगति नभएको भन्दै मौसमविदले चिन्ता व्यक्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?