+
+

नौ दिनको अन्तरमा दुई चक्रवात, मनसुनमा सरदरभन्दा बढी पानी पर्ने

विनोद घिमिरे विनोद घिमिरे
२०७८ जेठ १२ गते १८:४०

१२ जेठ, काठमाडौं । अरब सागरमा विकसित ‘ताउ-ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगालको खाडीमा अर्को चक्रवात ‘यास’ आयो । प्रि-मनसुन अवधिको मे महिनामा आएका यी दुवै चक्रवातको प्रभाव नेपालमा पनि पर्‍यो । ताउ तेबाट नेपालको पश्चिमी क्षेत्र र यासबाट पूर्वी क्षेत्र बढी प्रभावित भयो ।

नौ दिनको अन्तरालमै यस प्रकारको मौसमी प्रणाली बिरलै विकसित हुने वरिष्ठ मौसमविद मणिरत्न शाक्य बताउँछन् । ‘मेरो अध्ययनमा यति छोटो अवधिमा चक्रवात आएर मौसमलाई प्रभाव पार्ने कमै हुन्छ,’ त्रिविमा प्राध्यापनरत शाक्यले भने ।

पूर्वीमध्य अरब सागरमा विकसित ताउ–ते चक्रवातको असर नेपालमा २ जेठदेखि नै परेको थियो । त्यसको प्रभावले हुरी बताससहितको मध्यम खालको वर्षा र उच्च हिमाली भागमा हिमपात भएको थियो । ताउ–ते सकिएलगत्तै आएको यास चक्रवातको प्रभावले अहिले पूर्वी नेपालका जिल्लाहरुमा पानी परिरहेको छ र यो क्रमशः पश्चिम सर्ने क्रममा रहेको मौसमविद प्रतिभा मानन्धर बताउँछिन् ।

जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गरी बुधबार र बिहीबार प्रदेश १ देखि कर्णाली प्रदेशका जिल्लासम्म हल्कादेखि मध्यम खालको वर्षा र हिममात हुने जनाएको छ ।

बुधबार राति प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षा र बिहीबार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानमा भारी वर्षाको सम्भावना छ । ताउ ते र यास चक्रवातको विकसित मौसमी प्रणालीको कारण पानी पर्दा नेपालीहरुले सुख्खा समयमा राहत महसुस गरेका छन् ।

मनसुनमा पर्ने असर

कहिलेकाहिँ यस्ता चक्रवातले मनसुनमा प्रभाव पार्ने गर्दछन् । यसको प्रभावले मनसुन ढिलो वा चाँडो सुरु हुने गर्दछ । तर, अहिले नै मनसुन आगमनबारे निष्कर्ष निकाल्न भने नसकिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धर बताउँछिन् । ‘अहिले मनसुनको गतिविधि बिस्तारै विकास हुँदै गएको त छ तर यी दुई चक्रवातलाई मात्रै हेरेर मनसुन आगमनको समय निश्चित गर्न सकिंदैन ।’

दक्षिण एसियाली देशमा मनसुनलाई ठूलो असर गर्ने सिस्टम भनेको प्रशान्त महासागरमा देखिने अलनिनो र लानिनो गतिविधि हो । समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्थालाई अलनिनो भनिन्छ । यसो हुँदा दक्षिण एसियामा कम वर्षा हुन्छ । अलनिनोको ठिक उल्टो लानिनो हो । अर्थात् समुद्रको पानी औसतभन्दा चिसो भयो भने त्यसलाई लानिनो भनिन्छ । यसो हुँदा औसतभन्दा बढी वर्षा हुन्छ र बाढी पहिरोको जोखिम बढी हुन्छ ।

वरिष्ठ मौसमविद मणिरत्न शाक्यका अनुसार एक हप्तायता प्रशान्त सागरको तापक्रम औसत देखिएको छ । यसो हुनु दक्षिण एसियाली देशका लागि राम्रो संकेत भएको उनी बताउँछन् ।

अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने अनुमान

दक्षिण एसियाका देशहरुको मौसमी अवस्थाबारे छलफल तथा विश्लेषण ‘साउथ एसियन आउटलुक फोरम (सास्कोफ)’ ले गर्दछ । त्यसको आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले नेपालको मनसुनी अवस्थाबारे जानकारी दिन्छ । यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने निष्कर्ष निकालिएको छ ।

जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण विभाग प्रमुखसमेत रहेकी वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेलका अनुसार यस वर्षको मनसुनमा नेपालको अधिकांश भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना छ ।

यो सम्भावना स्थान विशेषअनुसार फरक छ । हिमाली भेग बढी र पहाडी भेगतिर अलि कम छ । तराईका क्षेत्रमा सरदर वर्षा हुने अनुमान छ । प्रदेश १ को दक्षिण भाग र प्रदेश २ को पूर्वी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना औंल्याइएको छ ।

सन् १९९१ देखि सन् २०२० सम्मको अवधिलाई हेर्ने हो भने नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ र मनसुन बाहिरिने औसत समय अक्टुबर २ देखिन्छ । यसअघि जुन १० मा मनसुन सुरु हुने र सेप्टेम्बर २३ मा बाहिरिने भनिन्थ्यो ।

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?