Comments Add Comment

बेलायती प्रधानमन्त्रीले गुपचुप रुपमा गरे विवाह

१६ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नी प्रेमिका क्यारी साइमोन्डसँग गुपचुप रुपमा विवाह गरेका छन् ।

शनिबार एक सानो समारोहमा उनले विवाह गरेको बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले बताएको छ । डाउनिङ स्ट्रिटका प्रवक्ताले आगामी गर्मीयाममा यो जोडीले परिवार र साथीहरुसँग पुनः विवाहोत्सव मनाउने जानकारी दिए ।

करिब दुईसय वर्षको इतिहासमा प्रधानमन्त्री पदमा रहेको अवस्थामा नै विवाह गर्ने जोन्सन पहिलो बेलायती प्रधानमन्त्री हुन् । यसअघि सन् १८२२ मा रोबर्ट बैंकस जेन्किन्सनले प्रधानमन्त्री पदमा नै रहेको समयमा विवाह गरेका थिए ।

बेलायती सञ्चारमाध्यमहरुका अनुसार शनिबार जोन्सनको विवाह समारोहमा ३० जना पाहुनालाई मात्र बोलाइएको थियो । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि बेलायतमा ३० जनाभन्दा धेरै मनिसको भेलामा रोक लगाइएको छ ।

५६ वर्षीय प्रधानमन्त्री जोन्सनको यो तेस्रो विवाह हो । यसअघि सन् २०१८ मा जोन्सनले २५ वर्षको वैवाहिक यात्रा टुङ्ग्याउँदै म्यारिना ह्वीलरसँग डिभोर्स गरेका थिए । त्यसअघि उनको विवाह एलेग्रा मोस्टिन–ओवेनसँग भएको थियो ।

३३ वर्षीया क्यारी साइमोन्ड सन् २०१० मा कन्जरर्भेटिभ पार्टीको प्रेस कार्यालयमा काम गर्थिन् । त्यसको दुई वर्षपछि उनी जोन्सनको पक्षमा मेयरको निर्वाचन प्रचारमा खटिएकी थिइन् ।

सन् २०१८ मा काम छाड्नुभन्दा अघि साइमोन्ड पार्टीको सञ्चार प्रमुखको रुपमा थिइन् । सन् २०२० को फेब्रुअरीमा यो जोडीले आफ्नो सम्बन्धको बारेमा जानकारी दिएको थियो । गत वर्षको अप्रिलमा उनीहरुको एक छोरा पनि जन्मिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment