Comments Add Comment

कोरोना भाइरसविरुद्ध २८५ वटा खोप विकास, १५ वटा प्रयोगमा

१८ जेठ, काठमाडौं । कोभिड १९ को संक्रमण रोक्ने खोपको विकास तथा उत्पादनमा विश्वभरका वैज्ञानिकहरु अभूतपूर्वरुपमा काम गरिरहेका छन् ।

सन् २०१९ को डिसेम्बरमा नोवेल कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएयता अहिलेसम्म एक दर्जनभन्दा धेरै भ्याक्सिन प्रयोगमा आइसकेका छन् । कैयन् भ्याक्सिनहरु चिकित्सा परीक्षणको विभिन्न चरणमा छन् र निकट भविष्यमै आम प्रयोगमा आउने तयारीमा छन् ।

तथ्यांकअनुसार अहिले विश्वमा विभिन्न १०१ वटा कोभिड-१९ खोप क्लिनिकल ट्रायलमा रहेका छन् भने अन्य १८४ वटा खोपहरु चिकित्सा परीक्षण पूर्वको अवस्था अर्थात् प्रिक्लिनिकल डेभलपमेन्टको अवस्थामा छन् । क्लिनिकल ट्रायलको अन्तिम अवस्थाका १५ वटा खोपहरु आम प्रयोगमा आइसकेका छन् ।

वास्तवमा कुनै पनि खोप मानिसको आम प्रयोगमा आउनु अगाडि चिकित्सा परीक्षण अर्थात् क्लिनिकल ट्रायलको विभिन्न चरणबाट गुज्रिनु पर्दछ र त्यस्तो परीक्षणमा प्रभावकारी तथा हानीरहित देखिएपछि मात्र विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका निकायहरुले प्रयोगका लागि स्वीकृति प्रदान गर्दछन् । मानिसमै गरिने त्यस्तो क्लिनिकल ट्रायलमा विभिन्न ४ चरण हुन्छन् ।

पहिलो चरणमा मुख्यतया भ्याक्सिन कत्तिको सुरक्षित छ ? यसको मात्रा कति दिनुपर्छ ? तथा यसका साइड इफेक्टहरु के के हुनसक्छन् भनेर मानिसहरुको सानो समूहमा परीक्षण गरिन्छ ।

दोश्रो चरणको ट्रायलमा भ्याक्सिनको सुरक्षाका विषयमा थप अन्वेषण गरिन्छ र मानिसको ठूलो समूहमा यसको प्रभावकारिताको परीक्षण गरिन्छ ।

तेश्रो चरणको परीक्षण अर्थात् फेज थ्री ट्रायल्स अलिक वृहत हुन्छ । वास्तवमा भ्याक्सिनका धेरै उम्मेदवारहरु पहिलो तथा दोश्रो चरणबाटै असफल हुन्छन् र निकै कममात्र तेश्रो चरणमा पुग्दछन् । यो चरणमा हजारौँ तथा लाखौँ मानिसमा खोपको परीक्षण गरिन्छ । यस क्रममा भ्याक्सिनको प्रभावकारिता पुष्टि गर्ने तथा मूल्यांकन गर्ने काम हुन्छ । साथै वृहत समूहमा परीक्षण गर्दा भ्याक्सिनले देखाउने कुनै दुर्लभ साइड इफेक्टहरु भएमा पत्ता लगाइन्छ ।

चौथो चरणको परीक्षण अन्तिम परीक्षण हो । कुनै पनि मुलुकको राष्ट्रिय नियामक निकायले स्वीकृति दिएपछि मात्र यो परीक्षण गरिन्छ । यसमा लामो समयसीमाभित्र ठूलो जनसंख्यामा खोप लगाएर भ्याक्सिनको प्रभावकारिताको बारेमा थप अनुगमन गर्ने काम हुन्छ । यसमा खोपको बजारीकरण पछिको अनुगमन तथा निगरानी पनि गरिएको हुन्छ ।

अहिलेसम्म विश्व स्वास्थ्य संगठनबाट स्वीकृति पाएका, प्रयोगमा आइरहेका तथा क्लिनिकल ट्रायलको विभिन्न चरणमा रहेका कोभिड-१९ भ्याक्सिनको विवरणचाहिँ यस्तो छ :

१. चौथो चरणमा रहेका : विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकको स्वीकृति पाएर प्रयोगमा आइरहेका विभिन्न ५ वटा भ्याक्सिनहरुलाई यो चरणमा राखिएको छ । यसमा अमेरिकी खोप मोडेर्ना, बेलायती खोप अक्सफोर्ड एस्ट्राजेनिका, जर्मन खोप फाइजर बायोएनटेक, चिनिया खोप सिनोभ्याक तथा अर्को चिनिया खोप क्यानसाइनो बायोलोजिक्स रहेका छन् । चौथो चरणको ट्रायलमा विभिन्न ५ वटामात्र खोप रहेको भएपनि विश्वमा अहिले विभिन्न १५ वटा कोभिड १९ खोप प्रयोग भैरहेका छन् ।

२. तेश्रो चरणमा रहेका खोपहरु : यो चरणमा रहेका खोपहरुको संख्या २५ छ । यी खोपहरु व्यापक अन्तराष्ट्रिय परीक्षणका क्रममा रहेका छन् । यसमध्ये कतिपय त आम प्रयोगमा पनि आइसकेका छन् । तेश्रो चरणको परीक्षमा रहेका खोपहरुमा चिनियाँ खोप सिनोफार्म पनि रहेको छ । भेरोसेलको नामबाट यो खोप चीनका साथै नेपाल लगायतका विभिन्न मुलुकहरुमा आम प्रयोगमा आइसकेको छ । यो खोप विश्व स्वास्थ्य संगठनले स्विकृति दिएको पहिलो चिनिया खोप पनि हो । सिनोफार्मको चौथो चरणको परीक्षण पनि सुरु भएको बताइए पनि त्यसको कुनै विवरण चिनियाँ कम्पनीले नदिएको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

त्यस्तै विश्वका विभिन्न देशमा प्रयोग भैसकेको रुसी खोप स्पुतनिक फाइभ पनि तेश्रो चरणकेा परीक्षणमै रहेको छ । यसका साथै वुहान इन्स्टिच्यूट अफ बायोलोजिकल प्रडक्ट्सले उत्पादन गरेको अर्को चिनिया खोप पनि तेश्रो चरणमा छ ।

भारतीय खोप कोभ्याक्सिन, अमेरिकी खोप जोन्सन एण्ड जोन्सन, अमेरिकी खोप नोभाभ्याक्स, भारतीय जिडुस कादिला कम्पनीको खोप, जर्मनीको क्योरभ्याक, फ्रान्सको सानोफी पास्चर तथा भ्याल्नेभा, रुसको इपिभ्याक कोरानालगायतका विभिन्न २५ वटा खोपहरु तेश्रो चरणको क्लिनिकल ट्रायलमा रहेका छन् ।

तेश्रो चरणको क्लिनिकल ट्रायलमा रहेका खोपहरुको सूची यस्तो छ :

३. दोश्रो चरणमा रहेका खोपहरु : विश्वका विभिन्न देशका कम्पनीहरुबाट उत्पादित ३६ वटा खोपहरु परीक्षणको दोश्रो चरणमा छन् । दोश्रो चरणमा खोप परीक्षण गरिरहेका कम्पनीहरु निम्न छन् :

उल्लेखित मध्ये कतिपय खोपहरु दोश्रो चरणको क्लिनिकल ट्रायल सम्पन्न गरी तेश्रो चरणमा प्रवेश गर्ने क्रममा छन् भने कतिपयले दोश्रो र तेश्रो ट्रायल एकसाथ अगाडि बढाइरहेका छन् ।

४. पहिलो चरणमा रहेका खोपहरुः विभिन्न कम्पनीहरुबाट उत्पादित ३५ वटा भ्याक्सिनहरु पहिलो चरणको चिकित्सा परीक्षणमा रहेका छन् । त्यसमा निम्न छन्-

त्यस्तै पहिलो चरणको अन्तिम तथा दोश्रो चरणको सुरुवातमा खोप परीक्षण गरिरहेका कम्पनीहरुको सूची यस्तो छ :

यस बाहेक विभिन्न १ सय ८४ वटा भ्याक्सिनहरु चिकित्सा परीक्षण पूर्वको चरण अर्थात् पि्र क्लिनिकल फेजमा छन् । अर्थात् ती भ्याक्सिनहरु प्रयोगशाला विकाश भैसका छन् र प्रयोगशाला तथा विभिन्न जनावरहरुमा परीक्षण गरिएका छन् । यी भ्याक्सिनहरु निकट भविष्यमा क्लिनिकल ट्रायलमा जानेछन् ।

श्रोतः ग्लोबल एलाएन्स फर भ्याक्सिन्स एण्ड इम्युनाइजेसन (गाभी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment