Comments Add Comment

चाइनिज ताइपेईविरुद्ध जितका लागि खेल्छौं : अलमुताइरी

१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप तथा एसिया कप छनोटअन्तर्गत बिहीबार हुने चाइनिज ताइपेईविरुद्ध खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेका छन् ।

छनोटको समूह बी मा रहेको नेपाल र चाइनिज ताइपेईविरुद्ध बिहीबार कुवेतमा खेल हुँदैछ ।

त्यसअघि बुधबार भएको भर्चुअल प्रिम्याच कन्फ्रेन्समा अलमुताइरीले दुवै टिमका लागि खेल कठिन हुने बताए । ‘कुवेतको मौसममा खेल्न सजिलो हुँदैन । र यो खेल दुवै टिमको लागि कठिन हुनेछ ।’

नेपाली टोली इराकमा मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको हो । शनिबार भएको खेलमा नेपाल इराकसँग ६–२ गोलले पराजित भएको थियो । इराक र कुवेतको वातावरण उस्तै रहेकाले नेपाललाई केही सहज हुन सक्नेछ ।

प्रशिक्षक अलमुताइरीले इराक विरुद्ध खेल हारेपनि त्यसबाट धेरै सकारात्मक कुरा लिन सकिने बताए ।

उनले चाइनिज ताइपेई विरुद्ध जितकै लागि खेल्ने बताए । ‘हामी भोलिको खेलमा जितका लागि जानेछौं किनकि हामी एएफसी एसियन कप क्वालिफायरमा चौथो स्थान पक्का गर्न चाहन्छौं,’ उनले भने ।

प्रशिक्षक अलमुताइरी विपक्षी टिमबाट पनि होसियार छन् । चाइनिज ताइपेईमा पनि नयाँ खेलाडीहरु धेरै छन् । ‘उनीहरुको टिममा नयाँ खेलाडीहरु छन् र प्रशिक्षक पनि नयाँ छन्,’ उनले भने ।

चाइनिज ताइपेई प्रशिक्षक भोम कानहमको प्रशिक्षणमा पहिलो पटक खेल्दैछ । भोमले कुवेतको गर्मीमामा खेल्न कठिन हुने बताए । ‘हामीलाई यहाँको मौसममा अभ्यस्त हुन गाह्रो भइरहेको छ र हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको मौसम नै हो,’ उनले भने ।

उनले नेपाली टिम सन्तुलित रहेको बताए । साथै नेपाल अट्याक र डिफेन्स दुवैमा राम्रो रहेको पनि उनले बताए । भोमले आफ्नो विदेशमा रहेका खेलाडी र मुख्य खेलाडीहरु कोभिडको अवस्थाका कारण टिममा सामेल हुन नसकेको बताए ।

नेपाल र चाइनिज ताइपेईबीचको खेल जाबेर अल हमाद इन्टरनेशनल स्टेडियममा बिहीबार राति नेपाली समय अनुसार ९:४५ बजे सुरु हुनेछ । यस्तै नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment