Comments Add Comment

सामाजिक सञ्जालको अभियानले पुनर्जीवन पाएको एउटा स्वास्थ्य चौकी

२० जेठ, काठमाडौं । सामाजिक सञ्जालको रचनात्मक प्रयोग गर्दा कति महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने कुरा कालीगण्डकी गाउँपालिका बिर्घाका स्थानीय युवाहरुले देखाएका छन् ।

सामाजिक सञ्जाल युवाहरुको अमूल्य समय खेर फाल्ने प्लेटफार्म मात्रै नभएर सामाजिक परिवर्तनको एउटा मियो पनि बन्न सक्छ भन्ने कुरा बिर्घाका स्थानीय एवं बिर्घालाई माया गर्नेहरुले चलाएको एउटा अभियानले प्रमाणित गरिदिएको छ ।

कोरोना भाइरसको दोस्रो लहर फैलिनु अघिसम्म बिर्घाको करन डाँडामा रहेको स्वास्थ्य चौकी अन्य स्वास्थ्य चौकी जस्तै सामान्य बिरामीको उपचारमा मात्रै सीमित थियो ।
स्याङ्जाको बिकट गाउँ भएकोले कोरोना संक्रमितलाई उपचारका लागि अस्पताल ल्याइपुर्‍याउँदासम्म ज्यानै गुमाउनु पर्ने अवस्था थियो । यो बाध्यतालाई चिर्नको लागि स्थानीय युवाहरु एवं रोजगारीको सिलसिलामा विभिन्न ठाउँमा पुगेका बिर्घावासीहरुले फेसबुक मार्फत् नै स्वास्थ्य चौकी सुधार गर्ने अभियान चलाए ।

सन् २०१० देखि स्थानीय अनन्त पाण्डे, सन्तोष पाण्डे, गोपी कृष्ण पाण्डे र सुभाष भट्टराईले सञ्चालन गरेको ‘हेलो बिर्घा’ अभियानमा अहिलेसम्म करिब ११ हजार जना जोडिएका छन् ।

यो अभियानका सदस्यलाई केन्द्रित गरेर वैशाख १४ गतेदेखि सुरु भएको आर्थिक सहयोग संकलन अभियानमा सुरु गरियो । यसको उद्देश्य थियो गाउँपालिकाको वडा नं ४ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर सुविधासम्पन्न बनाउने । सो अभियानमा अहिलेसम्म २५ लाख रुपैयाँ नगद संकलन भइसकेको छ भने ५ लाखभन्दा बढीको अक्सिजन सिलिण्डर, कन्सन्टेटरलगायतका स्वास्थ्य सामग्री संकलन भइसकेको अभियानका लागि काठमाडौंबाट सहजीकरण गरेका स्थानीय टोकराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार यो अभियानमा खास गरेर गाउँबाट वैदेशिक रोजगारीको लागि मलेसिया, दुबई, कतार, बहराइन, पोर्चुगल, बेलायत अमेरिका, कोरिया अष्ट्रेलिया, भारत लगायतका देशमा पुगेका बिर्घावासी युवाहरुको सक्रिय सहभागिता छ । ती युवाहरुले आफ्नो क्षमता अनुसार एक हजारदेखि १ लाख २५ हजार रुपैयाँसम्म सहयोग गरेका छन् ।

अभियानका लागि सांसद मोहन प्रसाद पाण्डेले आफ्नो पारिश्रमिकबाट एक लाख रुपैयाँ सहयोग गरेका छन् । अन्य विभिन्न व्यक्तिहरुबाट पनि यसमा सहयोगहरु जुटेको छ । जस्तै, केन्द्र सरकारका कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालद्वारा ७ थान अक्सिजन सिलिण्डर सोही अभियानमार्फत् सहयोग गरेकी छन् । अभियानमा राज्यको उपल्लो तहमा रहेका माननीयदेखि गाउँमै खेती किसानी गरेर बस्नेहरु सम्म यसमा संलग्न रहेको पाण्डेले जानकारी दिए ।

अहिले त्यहाँका स्थानीय युवाहरुले कोभिड १९ का महामारीका बीच गाउँमा रहेका बृद्धवृद्धा, कोभिडको त्रासले गाउँ फर्किएका युवा र अन्य नागरिकहरुलाई गाउँमै सुलभ सेवा दिनको लागि स्वेच्छिक रुपमा सुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले आर्थिक संकलन अभियान चलाएको बताएका छन् ।

छोटो समयमा नै स्थानीयको उच्च सहभागिता रहेपछि अभियानका अभियान्ताहरुले झण्डै ५० लाख जतिको आर्थिक संकलन र ५० लाख जतिको स्वास्थ्य सामग्री संकलन हुने आकलन गरेका छन् । सो राशिमा आर्थिक सहयोग संकलन हुन सक्यो भने स्थानीयले सामान्य स्वास्थ्य उपचारको लागि बजारसम्म आउनुपर्ने आवश्यकता नहुने अभियान्ताको दाबी छ ।

अहिले स्वास्थ्य चौकीको स्तरवृद्धिका लागि स्थानीयस्तरबाट नारायण पाण्डे, सुन्दर पाण्डे लगायत युवाहरुले मद्दत गरिराखेका छन् भने काठमाडौंमा विशेष गरी मोहन प्रसाद पाण्डे, डा. धनबहादुर राना, जलेश्वर पाण्डे र टोकराज पाण्डेलगायतले सहजीकरण गरेको हेलो बिर्घा अभियानले जनाएको छ ।

अहिले राष्ट्रिय आविष्कार केन्द्रले दिएको ५ थान अक्सिजन सिलिण्डर, मन्त्री अर्यालले उपलब्ध गराएको ७ थान अक्सिजन सिलिण्डर एवं अन्य शुभेच्छुकहरुले दिएको अक्सिजन कन्सन्टेटर समेत बिर्घा पठाइएको पाण्डेले जनाएका छन् ।

सोही सहयोग अभियानबाट संकलित रकमबाट कोरोना लागेर अक्सिजनको कमी भएको एवं उपचारको लागि बाहिर जाने अवस्था नभएकाहरुको लागि सहजीकरण गर्न अहिले स्वास्थ्य केन्द्रमा १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । १० वटा शय्यामा कहिलै पनि अक्सिजनको अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको स्वास्थ्य चौकीले जनाएको छ ।

स्वास्थ्य चौकीको स्तरोन्नतिको लागि स्थानीय तहले समेत पहिलेदेखि नै चासो लिँदै आएको भए पनि अहिले स्थानीय युवाहरुको सहभागिताले स्वास्थ्य चौकीले पुनर्जन्म पाएको स्थानीय बताउँछन् । अहिले स्वास्थ्य चौकीबाट कोरोना पोजिटिभ देखिएकालाई मास्क, स्यानिटाइजर, भिटामिन सी, जिंक चक्की आदि घरघरमै पुरयाउने गरिएको छ ।

अहिले उक्त स्वास्थ्य चौकीमा दैनिक २५० वटा नमुना परीक्षण गर्ने क्षमताको प्रयोगशालासमेत सञ्चालनमा ल्याइएको छ । अभियानमार्फत् नगद र जिन्सीसहित एक करोडको सहयोग प्राप्त भएपछि त्यहाँ सुविधासम्पन्न फार्मेसी समेत चलाउने तयारी गरिएको अभियान्ताहरुले जनाएका छन् ।

यो अभियानमा सोचेभन्दा धेरैको सहभागिता भएको र सामाजिक सञ्जालबाटै गाउँको एउटा स्वास्थ्य चौकीले काँचुली फेरेपछि अभियानमा जोडिएका पाण्डे सामाजिक सञ्जाललाई रचनात्मक काममा प्रयोग गर्दा यसैलाई प्रयोग गरेर समाज परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण यसबाट पाउन सकिने बताउँछन् ।

युवाहरुले सुविधासम्पन्न अस्पताल बनाएपछि स्थानीयस्तरमा खुलेका आमा समूहलगायतले जनश्रमदानमा अस्पतालको सरसफाइ गर्ने गरेका छन् । स्वास्थ्य चौकीसम्म पुग्नेबाटो सबै मिलेर बनाइएको छ । यसलाई आदर्श मानेर अघि बढ्दा गाउँलेहरुको एकताबद्ध अभियानले गाउँकै काँचुली फेर्न सकिने अभियान्ताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment