Comments Add Comment
माधव समूहको बैठक : :

‘अलमलमा नबसौं, सहमतिका लागि डेडलाइन तोकौं’

२० जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति हुने नहुने छिनोफानो गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबारदेखि शुरु भएको भर्चुअल छलफलमा अधिकांश नेताहरुले अहिलेको अलमलमा बस्न नहुने बताएका हुन् । ‘हामीले निरन्तर उठाउँदै आएको कुरा पार्टीलाई २ जेठ २०७५ अगाडिको अवस्थामा लैजाने हो । त्यसका लागि केपी ओली सहमत हुनुहुन्छ भने इमान्दार प्रयास गर्न जरुरी छ’, केन्द्रीय सदस्य निरज आचार्यले भने । शीर्ष नेताहरुलाई सुझाव दिएका अधिकांशको लगभग मिल्दो सुझाव रहेको उनले बताए । ‘सहमति जुटाउने हो भने डेडलाइन तोकेर जानुपर्छ भन्ने नै सुझाव दिइएको छ’, आचार्यले भने ।

वार्ता र छलफल भनेर अनन्तसम्म अलमलमा बस्नु उचित नहुनेमा नेताहरु एकमत देखिएका छन् । वार्ता भनिरहने, तर निष्कर्षमा नपुग्दा पार्टी र आन्दोलनलाई फाइदा नपुग्ने नेताहरुले बताएका छन् । ‘वार्ता कहिलेम्म टुंग्याउने भन्ने समय तोक्न बरु ओली पक्षलाई दिने सकिने छलफल भएको छ’, अर्का केन्द्रीय सदस्य राजन राईले भने । पाँच दिन, एक हप्ता कति समय लाग्छ त्यो प्रष्ट पारेर वार्तामा बस्नुपर्नेमा धेरैले जोड दिएको राईले बताए ।

बैठकमा केही नेताहरुले भने वार्ताको प्रलोभनमा फस्न नहुने बताएका छन् । केपी ओलीले वार्ताका नाममा गलाउने योजना मात्र बनाएको उनीहरुको तर्क थियो । ‘ओलीले त्यो (जेठ २ मा फर्किने) गर्दै गर्दैनन् । सहमति जुटाउन गरिएको पनि होइन । अब बाटो तय गर्न ढिलाइ गर्नु हुन्न’ केही नेताहरुको भनाइ थियो । २८ फागुनमा एकलाैटी निर्णय गरेरै अध्यक्ष ओलीले एकता नचाहेको प्रष्ट पारेको उनीहरुको भनाइ थियो ।

तर अहिले केपी ओलीलाई पनि त्यो बाटो सहज नभएकाले एकता चाहन्छन् भन्ने मत छलफलमा आएको छ । ‘हामीलाई कमजोर बनाउन खोज्दा आफैं ठूलो संकटमा पर्दै गएका छन् । त्यहाँभित्र पनि झलनाथ खनाल र माधव नेपाल विनाको पार्टी कस्तो हुन्छ भन्ने चिन्ता छ भन्ने पनि कुरा आयो’, सहभागी एक नेताले भने । त्यसैले एकताको सार्थक पहलमा जोड दिनुपर्ने उनीहरुको भनाइ थियो ।

वार्ता सार्थक नहुने र अध्यक्ष ओली सहमतिका लागि तयार नहुने हो भने अलग पार्टी बनाउने निर्णयमा पुग्न ढिलाइ गर्न नहुनेमा नेताहरुले जोड दिएका छन् ।

भर्चुअल बैठकको शुरुमै ओली समूहका नेताहरुसँग वार्ता गरेका नेताहरुले ब्रिफिङ गरेका थिए । नेताहरु भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले ब्रिफिङ गरेका हुन् ।

‘वार्तामा भएको कुरा हामीले नेताहरुलाई भनेका छौं । र त्यहीअनुसार कुरा राखिरहेका छौं’, रावलले भने । पाण्डे र भुसालले पनि अनौपचारिक र औपचारिक छलफलमा गरिएको सम्वाद सुनाएका थिए । ‘हामी पार्टी एकता जोगाउन इमान्दार प्रयत्न गरिरहेका छौं । हेरौं, बालुवाटारले कसरी लिन्छ’ पाण्डेको ब्रिफिङ थियो, ‘हाम्रो इमान्दार प्रयत्नलाई कसरी लिइन्छ, केही दिनमै थाहा पाइहाल्नु हुन्छ ।’

भुसालले पनि अनौपचारिक सम्वादमा भएको छलफल नेताहरुलाई सुनाएका थिए । छलफलका क्रममा आफूहरुले २ जेठ अगाडिको पार्टी संरचना कायम गर्ने बाहेक अरुमा सम्झौता नहुने अडान नछोडेको बताएका थिए । बरु, संसद् विघटनको निर्णय फिर्ता लिन प्रस्ताव गरेको उनले बताए ।

बिहीबारको छलफलमा ३९ जनाले राय पेश गरेका छन् । केन्द्रीय सदस्यहरुले पछिल्लो अवस्था बुझ्न र आफ्नो राय राख्न भर्चुअल छलफलको माग राखेपछि बैठक शुरु भएको छ । बाँकी केन्द्रीय सदस्यहरुले शुक्रबार राय दिनेछन् ।

पहिलो दिनको बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पनि बोलेका छन् ।

नेता खनालले केपी ओली कम्युनिष्ट समेत नरहेकाले आन्दोलन र पार्टी जोगाउन संघर्षको आवश्यकता रहेको बताएका थिए । खनालले ७० वर्ष हाराहारी पुगेको पुस्तालाई विदा गरेर भए पनि युवा पुस्ताले पार्टी र कम्युनिष्ट आन्दोलन जोगाउने आन्दोलनकाे नेतृत्व लिनुपर्ने प्रस्ताव राखेका थिए । ‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भए पनि युवाहरु अगाडि बढ्नुपर्छ’ उनले भने ।

अर्का वरिष्ठ नेता नेपालले केन्द्रीय सदस्यहरुलाई खुलेर आफ्नो राय राख्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment