Comments Add Comment

ओली मनोविज्ञान र उनको विकल्प

प्रधानमन्त्री खड्गप्रसाद ओली सितिमिति सरकारबाट जाँदैनन् । ओलीले अझै राष्ट्रपतिसँग मिलेर केही उत्पात मच्चाउँछन् भन्ने ‘न्यारेटिभहरू’ राजनीतिक वृत्तमा चर्चामा छन् । भारत र जनता समाजवादी पार्टीको महन्थ खेमा पनि ‘ओली–भण्डारी’ गुटसँग समाहित छ भनी विश्वास गरिन्छ ।

यी चारै चोकडी एकै ठाउँ उभिएर बाङ्लादेशमा शेख हसिनाको सरकार जस्तो भारतपक्षीय सरकार अकण्टक नेपालमा राज चलाउने योजनामा छ भनी राजधानीका कोठे बैठकहरूमा बहस र छलफल चलिरहेको छ ।

प्रम ओलीलाई बुझ्न सकेनन्

प्रम ओलीलाई नजिकबाट चिन्नेहरू ‘यिनले सत्ता आफूबाहेक अरूलाई दिनुपरे संविधान च्यात्छन्’ भन्छन् । वर्तमान संविधानका निर्माताहरूमध्ये सबैभन्दा अग्रणी मोर्चामा प्रम ओली थिए । संविधान जारी गरेर प्रम हुने पालो उनकै थियो । तसर्थ ओली जसरी पनि वर्तमान संविधान जारी गर्न चाहन्थे ।

अब तिनै ओली अहिले संविधान मिचिरहेका छन् । यिनले प्रम हुन मात्र संविधान रातारात जारी गरेका रहेछन् भन्ने आधारहरू उनी स्वयम्को व्यवहारले प्रमाणित गर्दैछ । प्रमले संविधान च्यात्छन् भन्ने चर्चालाई उनकै व्यवहारले उदाङ्गो पार्दैछ ।

प्रम ओलीको विश्वसनीयता जोगाउन राष्ट्रपतिलाई रुचि भएन, उनले पनि प्रमसँग मिलेर संविधान मिच्न सहयोग गरिन् । राष्ट्रपति प्रम ओलीको कहिले ‘रबरस्ट्याम्प’ त कहिले ‘अन्तर्राष्ट्रिय लेखनदास’ हुन तयार भइन् । गणतन्त्र नेपालमा यो लज्जाको विषय हो । गणतन्त्र नेपालको उच्चपदमा जिम्मेवारी लिएका यी दुवै पात्र लायक भएनन् भनी नागरिक संकोचरहित रूपमा बोल्न अहिले हिच्किचाउँदैनन् ।

यी तीन हुन् ओलीलाई तानाशाह बनाउने !

प्रम ओलीलाई असंवैधानिक र अराजनीतिक कर्म गर्ने छुट राष्ट्रपतिले मात्र दिएको होइन, उनलाई बेलगाम हुने छुट प्रतिपक्षका नेता शेरबहादुर देउवा र को–पाइलट भनिने पुष्पकमल दाहालले पनि दिएका हुन् ।

प्रम ओली ६ महीनाभित्र चुनाव गराउन किन उद्यत भए होलान् ? नेपालीलाई मृत्युको मुखमा पुर्‍याउने यस्तो परपीडक सोच कुन मनोविज्ञानले निर्माण गर्छ ? नेपालका प्रम नै अहिले अध्ययन र अनुसन्धानको विषय भएका छन् ।

माओवादी नेता दाहाल ‘फुर्के’ रहेछन् । खुला राजनीतिको कच्चा खेलाडी भन्दा पनि हुन्छ दाहाललाई । आज प्रम ओलीले गैरसंवैधानिक रूपमा सत्ता चलाएका छन् भने यो अवस्था आउन प्रचण्डको भूमिका प्रमुख छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहालले ओलीसामु समर्पण नगरेर बेलैमा संविधानको रक्षार्थ उभिएको भए आज ओली तानाशाह हुन संभव थिएन । संवैधानिक परिषदको संरचनामा प्रमले फेरबदल गर्दा अटल, अविचलित र जोशिलो राजनीतिक आवाज उठाउनुपथ्र्यो ।

त्यसो भए ओलीलाई ‘संवैधानिक ट्रयाकमा’ राख्न सम्भव थियो । कांग्रेस नेता देउवा झिनामसिना आफ्ना मान्छे नियुक्ति गर्न बालुवाटार जानाले आज ओली सबैलाई हेपेर बोल्ने भएका हुन् ।

जालझेल र तिकडमको राजनीति गर्दै प्रम ओलीले सत्तामा निरन्तरता अझै दिइरहन सकेका छन् भने राष्ट्रपति भन्दा कम जिम्मेवार मान्न सकिन्न यी दुई पात्रलाई । तर पनि देउवा र प्रचण्ड माथि सम्पूर्ण दोष देखाएर वर्तमान प्रम ओलीको असंवैधानिक र अराजनीतिक बहुलट्ठीपनालाई किमार्थ समर्थन गर्न सकिंदैन ।

ढिलै भए पनि देउवा र प्रचण्ड संविधानको रक्षार्थ एकैठाउँ उभिएका छन् यतिखेर । दुर्भाग्य नै भन्नुपर्छ यी दुई पात्रको चेत खुल्दा पनि राष्ट्रपतिलाई भने आफ्नो पदको गरिमा जोगाउन रुचि भएन ।

त्यस्ता राष्ट्रपतिको पनि स्वाभिमान जाग्यो तर विद्याको जागेन

भारतको सातौैं राष्ट्रपति ज्ञानी जैल सिंह थिए । उनी ‘विचरा’ राष्ट्रपति नामबाट चिनिन्थे । प्रम इन्दिरा गान्धी उनलाई नचाउँथिन् । भनिन्छ उनी धार्मिक ग्रन्थहरूका महान् ज्ञाता थिए र त्यही कारण उनको नाम अगाडि ‘ज्ञानी’ थियो ।

तर पनि भारतमा यस्ता प्रमको आदेशपालक राष्ट्रपति पनि थिए भनेर उनलाई गणतन्त्रको मजाक राष्ट्रपति भनिन्छ । तर त्यही ज्ञानी जैल सिंह पनि एउटा ठाउँमा पुगेपछि इन्दिरा गान्धीसँग भड्किए, उनको स्वाभिमान जाग्यो र अटेरी भएर स्वर्ण मन्दिर गए ।

स्वर्ण मन्दिर त्यो पवित्र तीर्थस्थल थियो जहाँ जैल सिंहको आत्मा बस्थ्यो । त्यो स्वर्ण मन्दिरभित्र गोली चलेको थियो । हज्जारौं शिख मारिएका मात्र थिएनन् ‘अकाल तख्त’ पनि लहुलुहान भएको थियो । ‘अकाल तख्त’ शिखहरूको पवित्र पाँच स्थल मध्ये पहिलो तख्त हो, जहाँबाट शिख धर्म मान्नेहरूलाई आदेश फर्मान गरिन्छ ।

हाम्रो राष्ट्रपतिको अकाल तख्त संविधान हुन सक्थ्यो । संविधानको रक्षक हुँदा उनी नागरिकको रक्षक हुनसक्थिन् । गणतन्त्र र लोकतन्त्रको रक्षक हुनसक्थिन् । नोकर सरह व्यवहार गर्ने इन्दिरा गान्धीसँग एउटा स्टेजमा ज्ञानी जैल सिंहले स्ट्याण्ड लिए ।

उनको विवेक र स्वाभिमानले टाउको उठायो । उनको ज्ञान जाग्यो । हाम्रो राष्ट्रपतिको नाम मात्र विद्या हो कि केही ज्ञानको विद्याबाट स्वाभिमान पनि बाँचेको भए ? नेपालीले गणतन्त्र नेपालमा ज्ञानी जैल सिंह पनि पाएनन् संविधानको रक्षा गर्न ।

संविधानको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दल, सरकार र राष्ट्रपतिबाट संभव भएन । यो फेरि एकपटक सर्वोच्च अदालतमा पुगेको छ । पटक–पटक राजनीतिक विवादमा न्यायालय तानिनु भनेको नेपालका राजनीतिक दलहरू अक्षम छन् भनी प्रमाणित हुनु हो ।

सर्वोच्चको फैसला दुईमध्ये एक आउँछ नै

सर्वोच्च अदालतवाट दुईमध्ये एउटा फैसला आउने छ । पहिलो संविधानतः वर्तमान प्रम ओली विरुद्धको बहुमतीय गठबन्धनलाई सरकार बनाउने बाटो सुगम गर्ने । अर्थात् संसद पुनस्र्थापना गर्ने । र, दोस्रो प्रम ओलीले विघटन गरेको संसदलाई स्वीकृति दिएर निर्वाचनमा जाने ।

दोस्रोबाट अर्थात् चुनावमा जाने परिस्थितिलाई अनुमान गरौं ।

आम निर्वाचन संभव छ ?

चुनावको अनुमान गर्दा सर्वोच्चका न्यायाधीशहरूले कोरोना महामारीलाई कसरी बुझ्दछन् । नेपाल यतिखेर कोरोना महामारीबाट प्रताडित पहिलो राष्ट्र बन्न पुगेको छ । परीक्षणबाट एकतिहाइ कम्तीमा कोरोना पोजेटिभ देखिएका छन् ।

शहरबाट गाउँको समुदायमा पुगेको कोरोना कहर अझै कुन ताण्डव देखाउने हो सर्वत्र त्राहिमाम् छ । प्रम अविवेकी भए । मानसिक सन्तुलन गुमाए र निर्वाचनको रटानबाट एकोहोरिए ।

के नेपालका न्यायाधीशहरू अर्कै ग्रहमा बस्छन् र तिनको परिवार, इष्टमित्र र आफन्त छैनन् भनी बुझ्ने प्रमको जस्तो ? कि सबै न्यायाधीशका छोराछोरी, बुवाआमा र आफन्त अमेरिका वा बेलायत गएका छन् ? जहाँ दोस्रो डोजको खोप पनि धेरैले लगाइसकेको अवस्था छ ।

भारत र अमेरिकामा चुनावको कारण लाखौं मानिस अनाहकमा मृत्युवरण गर्नुपरेको जानकारी यहाँका न्यायमूर्तिहरूमा छैन भनी हामी बुझ्न चाहन्नौं । प्रम ओलीको अबको पाँच महीनामा चुनाव गराउने सनक सन्तुलित दिमागको उपज हुन सक्छ भनी कुनै राजनीतिक, वैज्ञानिक र मनोविज्ञले भन्न सक्तैन ।

सन्तुलित दिमागको प्रमले पाँच महीनाभित्र सबै नेपालीलाई जसरी पनि डबलडोज कोरोनाको भ्याक्सिन लगाउन प्रत्याभूति गर्थे होलान् । यति मात्र गरेको भए उनी जहिले चुनावमा जाँदा पनि जनताको उल्लासमय समर्थन पाउन सक्थे । तर किन त्यो सुल्टो बाटो प्रम हिंड्न चाहेनन् । उल्टो दिशा हिंडेका प्रमको मानसिकताबारे के बुझ्ने, कसरी बुझ्ने ? एउटा कथाबाट बुझौं ।

कुनै गाउँमा हर्कप्रसाद भन्ने महाधूर्त र ठग मान्छे थियो । गाउँघरमा सबैलाई सताउने, हत्या गर्ने, दुःख दिने, काम नगर्ने तर ठूल्ठूला डिंग हाँक्ने उसको नित्यकर्म नै थियो ।

गाउँले हर्कप्रसादबाट पीडित थिए । गाउँको चौतारीमा पीपलको रूख मुनि बसेर परपीडामा रमाउँदै हर्कप्रसाद अट्टहासका साथ हाँस्थे । हर्कप्रसादले दिएको यातना र पीडा छेउछाउका कैयन् गाउँमा चर्चाको विषय थियो ।

अचानक एकदिन हर्कप्रसाद शिथिल बिरामी पर्‍यो । पीपलको बोटमुनि मूढो झैं लडेको हर्कप्रसाद गाउँलेसँग हात जोड्दै ‘अब म मर्दैछु’ भनी रुवावासी गर्‍यो । ‘मैले गाउँवासीलाई धेरै दुःख दिएँ क्षमा पाउँ’ भन्दै कराउँथ्यो ।

‘मेरो मृत शरीरलाई दाहसंस्कार गर्न घाट लैजाँदा कृपया बाटोभरि सबै गाउँलेले लाठीले चुटेर लैजानु, मेरो अन्तिम इच्छा यही छ’ भनी कराउँथ्यो । ‘मेरो पाप तपार्इंहरूको चुटाइबाट केही कम होला र मेरो नर्कवास छोटिएला ममाथि दया गर्नु’ भनी कराउँथ्यो । हर्कप्रसाद अत्यन्त पीडा भोग्दै मर्‍यो ।

मृतकको अन्तिम इच्छा र उसले दिएको दुःख सम्झँदै गाउँलेले हर्कको मृत शरीरलाई लाठीले ‘गोरु चुटाइ’ गर्दै घाटतर्फ लगे । बाटोमा पुलिसको गाडी आयो । उसले सबै मलामीलाई समात्यो ।

अड्डा कचहरी भयो । हर्कप्रसादले प्रहरीमा ‘मलाई गाउँलेले लाठीले कुटीकुटी मार्छन्, यी गाउँले पापी हुन्’ भनेर मर्नुपूर्व नै जाहेरी दिएको रहेछ । मर्दा मर्दै पनि हर्कप्रसादले समस्त गाउँका भद्र भलाद्मीलाई जेल पुर्‍यायो ।

कथाबाट के सन्देश बुझ्ने ? हामी जतिखेर विद्यालय पाठशालामा नैतिक शिक्षा पढ्थ्यौं यस्ता कथाहरू पाठ्यक्रमको विषय हुन्थ्यो । प्रम ओली सबै नेपालीलाई मृत्युको मुखमा पुर्‍याउन ६ महीनाभित्र चुनाव गराउन किन उद्यत भएका होलान् ?

निर्वाचन आयोग र सर्वोच्च अदालतले प्रमको लहडलाई नियन्त्रण गर्न कठोर निर्णय गर्न ढिलो भएको होइन ? प्रमको यस्तो परपीडक सोच र अट्टहासको पछाडि कुन मनोविज्ञानले काम गर्दछ । नेपालको प्रम अध्ययन र अनुसन्धानको विषय भएका छन् ।

हाम्रा प्रम ओलीको अट्टहास मलाई किन हो हर्कप्रसादको अट्टहास झैं लाग्छ । मलाई थाहा छैन प्रम ओलीबाट यो देश कसरी मुक्त हुन्छ । प्रमले सत्ता छोड्नु पर्दा हर्कप्रसादले मृत्युपछि पनि परपीडाका लागि रचेको षड्यन्त्रको पुनरावृत्ति यहाँ हुँदैन भनी ढुक्क हुने स्थिति छैन ।

‘संविधान मान्नेको लागि हो, नमान्नेको लागि संविधान कागजको खोस्टो हो’ भनी बीपी कोइराला भन्नुहुन्थ्यो । अर्थात् म प्रम ओली आजीवन यही पदमा बस्छु भनी हठ गरे र राष्ट्रपतिले पनि समर्थन जारी राखिन् भने नेपालको संविधानले के व्यवस्था गरेको छ हटाउन ? कि सडक मात्र विकल्प रहन जान्छ ? दलहरू यो अवस्थाको लागि पनि तयार रहनुपर्‍यो ।

मार्क्स चिहानबाट निस्केर रुँदैछन्

प्रमको अट्टहास र प्रहसनले नागरिक पीडित छन् । म प्रत्येक घर कोरोनाबाट त्राहि–त्राहि भएको देख्छु । यस्तो समयमा म कसरी निर्वाचनबारे अहिले सुन्न र सोच्न सक्दछु ।

माक्र्सका अनुयायीहरू नेपालमा राज गरिरहेका छन् र चिहानमा माक्र्सलाई धुरुधुरु रुवाइरहेका छन् । के शब्द दिन्थे होलान् माक्र्सले नेपालका कम्युनिष्टको यो चाला देखेर । केही गर्न नसके पनि आइन्दा मेरो फोटो प्रयोग नगर भनी खबरदारी भने पक्कै गर्थे होलान् ।

आर्थिक, सामाजिक र सांस्कृतिक रूपले काठमाडौं तहसनहस भएको छ । ज्याला गरेर खाने श्रमजीवी वर्गको काखको बच्चाले ‘खान देऊ आमा’ भन्दा आमाले बच्चालाई कुट्ने स्थिति आइसक्यो । माक्र्सको ‘सामाजिक एलिनिनेशन’ बाट गुज्रेको र विक्षिप्त बन्दै गएको देख्दछु म नेपालको श्रमजीवी वर्गलाई । किसानको बेहाल निरर्थक छ भन्नलाई चिनियाँ क्रान्तिका नायक माओले पनि रुँदै यहाँका कम्युनिष्टलाई धिक्कार्ने छन् ।

म अस्पताल, डाक्टर, दबाई, अक्सिजन, एकान्तपन र यस्ता अनेकन् शारीरिक र मानसिक पीडाबाट गुज्रिरहेका नेपालीलाई जताततै देखिरहेको छु । यस्तो वेलामा ‘गोरखनाथको चक्की’ले सबै रोग मुक्त हुन्छ भनेझैं प्रम ओलीको यो अर्थहीन निर्वाचन घोषणालाई डटेर बहिष्कार गर्नुको विकल्प केही छ ? चुनावको सक्रिय बहिष्कार गरौं जबसम्म खोप सबै नेपालीको पाखुरामा लाग्दैन ।

अब ओलीको विकल्पलाई हेरौं

निःसन्देह प्रम ओलीसँग नागरिक निराश छन् । मोहभंग भएको अवस्था छ । कैयन् ऐतिहासिक उपलब्धिलाई प्रम ओलीले टुकुचामा बगाए, अझै बगाउँछन् र सबै कम्युनिष्ट मूभमेन्टलाई दक्षिणपन्थी बनाउन लागिपर्छन् । अहिले उनी गोरखनाथ चक्की बेच्ने मदारी झैं भएका छन् ।

प्रमको विकल्पमा जुन राजनीतिको चौकडी सर्वोच्च अदालत पुगेको छ, त्यो कस्तो छ ? ओलीको विकल्प कस्तो छ ? प्रश्न यो चौकडी बीच नहोला किनकि यी पार्टीहरू ‘एक स्टेप’ मात्र सोच्दछन् । तर नागरिकबीच गम्भीर चिन्ता छ ।

ओलीको विकल्प खासै आकर्षक छैन । विकल्प अर्थात् कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वमा बन्ने भावी सरकारप्रति जनअपेक्षा निरपेक्ष होइन अनाकर्षण नै छ । देउवा नेतृत्वले ओलीको विकल्पमा राष्ट्रियस्तरको ओज र प्रभाव छोड्ला भनी सोच्नु मूर्खतापूर्ण हुनेछ । नागरिक पत्याउन तयार छैनन् ।

सार्थक विकल्प छैन । कम्युनिष्ट र जसपाको फुटबाट कांग्रेस नेतृत्वमा सरकार बन्ने अवसर प्रदान गर्न सक्छ । तर प्रम ओलीलाई किन हटाउनुपर्छ भन्ने सार्थक संवाद नागरिकसँग गर्न सक्ने सन्देशवाहक नेता यतिखेर ओली विरोधी गठबन्धनमा कोही देखिंदैन ।

त्यति मात्र होइन विगतमा झैं सर्वोच्च अदालतबाट संसद पुनस्र्थापना भएमा प्रम ओलीको विकल्प संसदले दिनेछ भनी प्रत्याभूति पनि देउवा गठबन्धनले दिनसकेको छैन । देउवाको नेतृत्वमा भएको गठबन्धनमा कम्युनिष्ट बाहुल्य मात्र छैन, ती अझै पनि ‘ओलीको आश र त्रासमा छन्’ कि जस्तो देखिन्छ ।

ओली विरोधी गठबन्धन लुज धरातलमा बनेको छ । यसको आम नागरिकसँग सामान्य रूपमा जोडिन पनि नसकिरहेको अवस्था छ । यो चुनौती देउवालाई चानचुने छैन । कांग्रेस, माओवादी, जसपाको उपेन्द्र खेमा र एमालेको नेपाल–खनाल समूह । यो चौकडीमा सामान्य फेरबदल भएमा देउवा फेरि प्रतिपक्षको नेतामा पुग्छन् ।

देउवा प्रतिपक्षमा रहँदा र अहिले फेरि सरकारको नेतृत्वमा जाने अवसर पाउँदा पनि राजनीतिको केन्द्रमा आउन नसक्नु विडम्बना हो । देउवासँग आफ्ना जे–जस्ता कमी–कमजोरी छन् त्यसको क्षतिपूर्ति उनले सक्षम टीम बनाएर गर्न सक्थे, तर दुर्भाग्य उनको टीम पनि नागरिक बीच स्थापित छैन र देखिंदैन ।

अन्त्यमा, प्रम ओली संविधानको भक्षक भएका कारण हट्नुपर्छ । राजनीतिक रूपले हटाउन सकेनन् प्रचण्ड, माधव नेपाल समूह, देउवा र उपेन्द्र मिलेर । संवैधानिक रूपमा ‘किक्’ गर्न सक्थिन् राष्ट्रपतिले ।

त्यहाँबाट संविधान मिच्न आशीर्वाद नै पाए प्रम ओलीले । अब बल न्यायालयमा पुगेको छ । संविधानको व्याख्या गर्दै चोलेन्द्रशमशेर र टीमको निर्णयबाट प्रम ओलीको हैसियत के होला ? हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
पुरञ्जन आचार्य

बरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेपाली कांग्रेससँग वैचारिक निकटता राख्ने बुद्धिजीवी हुन् ।आचार्यले अनलाइनखबरमा विशेष गरी कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे विश्लेषणात्मक रूपमा कलम चलाउँदै आएका छन् ।

ट्रेन्डिङ

Advertisment