Comments Add Comment

‘२०७५ जेठ २ मा फर्केर मात्र पुग्दैन, संसद विघटन गल्ती थियो भनेर ओलीले आत्मालोचना पनि गर्नुपर्छ’

२२ जेठ, काठमाडौं । नेकपा एमाले यतिबेला फुट न जुटको अवस्थामा छ । एकताको गृहकार्य बनेको कार्यदल निष्क्रिय भएपछि दुई पक्षको बीचमा यतिबेला अनौपचारिक कुराकानी भइरहेका छन् । नेताहरू पार्टी एकता बचाउन सकिन्छ कि भनेर लागिपरेका छन् ।

यसै सम्बन्धमा माधव–झलनाथ समूहमा रहेका नेता युवराज ज्ञवालीसँग कमलदेव भट्टराईले एकताको लागि भइरहेका प्रयास र भावी योजनाको बारेमा कुराकानी गरेका छन् ।कुराकानीको क्रममा ज्ञवालीले भने, ‘अब २ जेठ २०७५ मा फर्केर मात्र पुग्दैन । ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्छ ।’

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

केपी ओलीसँग एकताको प्रयास कहाँ पुग्यो ?

अहिले गम्भीर अवस्था छ । किनभने एकताका लागि केपी ओलीले कमरेड माधवकुमार नेपालसँगको कुराकानीमा २ जेठ २०७५ को संरचनामा फर्कने भनेर बारम्बार भन्नुभयो । त्यसपछि हामीले औपचारिक रूपमा कार्यदल बनायौं । हाम्रोतर्फको कार्यदलको संयोजकमा भीम रावल हुनुहुन्थ्यो । त्यो कार्यदल मार्फत वार्ता र कुराकानी अगाडि बढिरहेको थियो । आचारसंहिता बन्दै थियो, त्यहीबीचमा राष्ट्रिय सभाको चुनाव अनि सबैभन्दा ठूलो विषय केपी ओलीजीले फेरि संसद विघटन गर्नुभयो । एकताको लागि कार्यदलले काम गरिरहेको अवस्थामा उहाँले अचानक संसद विघटन गर्ने काम गर्नुभयो ।

संसद विघटनले पार्टी एकताको प्रयासमा कस्तो असर गर्यो ?

संसद विघटनपछि स्थितिले अर्कै मोड लियो । त्यो संसद विघटन सानो कमजोरी र गल्ती होइन । यो धेरै ठूलो बदमासी हो । सर्वाेच्चले संसदको पुनस्र्थापना गर्दा जे कुरा किटानीका साथ भनेको थियो, त्यो पनि मिचेर उहाँले फेरि संसद विघटन गर्ने काम गर्नुभयो । कोरोना महामारीको बेला मध्यावधि चुनावको घोषणा गर्ने जस्तो जो काम गर्नुभयो त्यसलाई हामीले प्रतिगमन भन्यौं । त्यो संविधान र लोकतन्त्रमाथिको आक्रमण थियो । मुलुकमा लोकतन्त्रलाई समाप्त पार्ने फेरि अर्काे कदम उहाँले चाल्नुभयो भन्ने हाम्रो निष्कर्ष भयो । ओलीजीबाट लोकतन्त्र खतरामा पर्न थाल्यो, त्यसैले लोकतन्त्रलाई जोगाउनको लागि लोकतान्त्रिक पार्टीहरूबीचको एकता आवश्यक छ भन्ने हामीले निष्कर्ष निकाल्यौं ।

संसद विघटन गल्ती थियो भनेर उहाँले भन्नुपर्छ र त्यसपछि जेठ २ को संरचनामा पुग्नुपर्छ । वक्तव्य जारी गरेर मात्र हुन्न, २ जेठ २०७५ को स्थायी कमिटीको बैठक नै बस्नुपर्छ

त्यसपछि पाँच दलको गठबन्धन बनेको सबैलाई थाहा छ । पाँच दलको एकतालाई बृहत् लोकतान्त्रिक एलायन्स भन्दा हुन्छ । यसमा पाँच दल मात्र नभएर अन्य दलहरू पनि आउन सक्छन् । लोकतन्त्र पक्षधर जनताले यसलाई समर्थन गर्ने स्थिति हुन्छ र समर्थन पनि हुन्छ । हामी धेरै अगाडि बढिसक्यौं । अब प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाउने पाँच दलको सहमति हो, यो कुनै हामीले मात्र गरेको कुरा होइन । अहिले मुद्दा सर्वाेच्चमा चलिरहेको छ ।

वार्ता संयोजक र पार्टीका नेताहरूलाई गरिएको कारबाहीले चाहिं एकता प्रयासमा कत्तिको असर गरेको छ ? अनौपचारिक वार्ताले कत्तिको नतिजा दिएको छ ?

वार्ता टोलीका संयोजक र पार्टीका नेताहरूलाई कारबाही गरिएको छ । एक किसिमले कार्यदल नै भंग भएको छ । अनौपचारिक रूपमा केही साथीहरूले वार्ता र कुराकानी गरिरहनुभएको छ । त्यो कुरा कमरेड माधवकुमार नेपाल, झलनाथ खनाललाई जानकारी छ । माधव कमरेडको जानकारीमा नै अनौपचारिक कुराकानी भइरहेको छ । तर परिणाम भने निस्केको छैन ।

थप घटनाले के देखिन्छ भने अब २ जेठमा फर्कने भनेर मात्र पुग्दैन । ओलीजीले संसद विघटन गर्नुथियो भने आत्मालोचना गर्दै उहाँले अब यसमा मेरो गल्ती भयो, यो गर्नु हुने थिएन भनेर अगाडि बढ्नुपर्छ । अब यो नयाँ कुरा थपिएको छ ।

ओलीले आत्मालोचना गर्नुपर्छ भन्ने यहाँहरूको बटमलाइन भयो अब ?

मेरो व्यक्तिगत विचारमा त्यही हो । मेरो व्यक्तिगत सोचाइ के हो भने पछिल्लो पटक संसद विघटन गरिसकेर उहाँले प्रतिगमनको यात्रा शुरू गर्नुभएको छ, यो लोकतन्त्र र देशलाई निकै खतरनाक कुरा हो । अब पार्टी एकीकरणको लागि नयाँ शर्त थपियो । संसद विघटन गल्ती थियो, बेठीक थियो भनेर उहाँले भन्नुपर्छ र त्यसपछि जेठ २ को संरचनामा पुग्नुपर्छ । वक्तव्य जारी गरेर मात्र हुन्न २ जेठ २०७५ को स्थायी समितिको बैठक नै बस्नुपर्छ । त्यसले निर्णय गरेर त्यसको आधारमा अगाडि बढ्ने अवस्था रह्यो भने अझै पनि पार्टी एकताको सम्भावना छ । त्यो ढंगले कसैले कुराकानी गर्नु, वार्ता अगाडि बढाउनु उपयुक्त कुरा हो । त्यसो भएन भने पार्टी एकता हुने अवस्था देखिंदैन । त्यसकारण केपी ओलीले गरेका पछिल्ला घटनाक्रमबारे के गर्ने भन्ने अर्काे गम्भीर कुरा थपिएको छ ।

तपाईंहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने र ओली जेठ २ मा फर्कने भन्ने विषय पनि बाहिर आएको छ नि, के हो ?

त्यो कुरा आएको छ भन्ने सुनिएको छ । हामीले फिर्ता गर्ने होइन कि संसद विघटन गर्नु मेरो गम्भीर गल्ती थियो र म त्यसबाट पछि हटें भनेर उल्टै केपी ओलीले भन्नुपर्छ र यससँग २ जेठ २०७५ मा फर्कने कुरा जोडिएको छ । हामीले मुद्दा फिर्ता लिने त प्रश्नै आउँदैन किनभने उहाँले लोकतन्त्र सिध्याउने काम र गतिविधि गर्ने अनि हामीले त्यसलाई रोक्नुपर्ने भयो लोकतन्त्र जोगाउन । यो नेपाली कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउने मात्र कुरा होइन, यो समग्र लोकतन्त्रसँग जोडिएको विषय हो । शेरबहादुरजीलाई प्रधानमन्त्री बनाएर भए पनि लोकतन्त्र र संविधान जोगाउनुपर्ने भयो । यो हाम्रो निष्कर्ष हो । नयाँ परिस्थिति के सिर्जना भयो भने केपी ओलीले आत्मालोचना गर्नुपर्छ ।

केपी ओलीले तपाईंहरूलाई झुलाइरहेको जस्तो देखिन्छ, कहिलेसम्म कुर्नुहुन्छ ?

यो प्रष्ट छ । केपी ओलीले पार्टी एकतालाई आफ्नो दाउपेचको रूपमा बुझ्नुभएको छ । उहाँ उल्टो यात्रामा अगाडि बढिरहनुभएको छ । प्रतिगमनको यात्रामा अगाडि बढिरहनुभएको छ । त्यसलाई सघाउ पुग्ने गरी उहाँले यो सब गतिविधि गर्दै हुनुहुन्छ । हामी प्रतिगमन रोक्नका लागि एकता खोजिरहेका छौं । हामी एकता किन खोजिरहेका छौं भने हामी पार्टी एकता गरेर अगाडि बढ्न सक्यौं भने उहाँको प्रतिगमनको कुरालाई पार्टी भित्रैबाट रोक्ने प्रयास गर्नेछौं । हामी एकताबद्ध भएर जाँदा केपी ओलीजी सुध्रिनुहुन्छ भन्ने होइन, उहाँको प्रवृत्ति कायम रहन्छ तर पनि एकै ठाउँमा बसेर उहाँका गलत प्रवृत्तिहरूको विरुद्ध त्यहींभित्र संघर्ष गर्नेछौं । हामीले त्यो खोजिरहेका छौं । त्यहाँ पनि सही कुराको पक्षमा लाग्नेहरूको संख्या हुनसक्छ ।

केपी ओलीमा परिवर्तन नहुनसक्छ तर सिंगो एमाले भनेको केपी ओलीको पेवा होइन, त्यो हामीले दशकौं दशक रगत–पसिना बगाएर निर्माण गरेको पार्टी हो । त्यो पार्टी निर्माणमा नेतृत्व गरेका झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरू हुनुहुन्छ । त्यो भएको हुनाले त्यो संगठन हामीलाई प्यारो छ, तर केपी ओलीले त्यसलाई ‘हाइज्याक’ गर्नुभयो । केपी ओली र गलत प्रवृत्तिले त्यसलाई कब्जा गर्यो । एकता भयो भने हामी त्यहींभित्र बसेर गलत प्रवृत्तिको विरुद्ध लड्नेछौं ।

एकता हुन सकेन भने तपाईंहरूको अगाडिको बाटो के हो ?

ओलीले छलछाम, षडयन्त्र र गल्ती गर्ने हो भने हामी के प्रष्ट छौं भने अब नयाँ क्रान्तिकारी पार्टीको गठन गर्नुपर्छ । अब ओलीले एकता नचाहने हो भने हामीले स्वाभाविक रूपमा एउटा लोकतान्त्रिक पार्टी, एउटा क्रान्तिकारी पार्टी नयाँ उचाइमा अगाडि बढाउनुपर्छ । एउटा दल र संगठन मात्र बनाउने होइन, हामीले एउटा सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि अगाडि बढ्नुपर्छ । यस बारेमा हामी छलफल र बहस गरिरहेका छौं ।

यो पनि पढ्नुहोस एमाले : वार्ता र विभाजनको प्रयास सँगसँगै

सबै स्पष्ट हुन के आवश्यक छ भने हामी अलमलमा छैनौं । नयाँ पार्टी बनाएर पुनर्गठन गरेर जाने हो भने पनि त्यसको लागि हामी तम्तयार छौं, त्यसको लागि विचार, दृष्टिकोण, सिद्धान्त, पार्टी कस्तो बनाउने भन्ने तयारीमा हामी छौं । छलफल गरिरहेका छौं, वातावरण तयार गरिरहेका छौं ।

अर्काे कुरा पार्टी एकता गर्ने हो भने अझै पनि हामी पार्टी एकताको पक्षमा छौं, प्रयास जारी रहन्छ । तर हामीसँग एकदमै थोरै समय बाँकी छ । अब यसलाई धेरै लम्ब्याएर जानु पनि उपयुक्त छैन ।

नेता झलनाथ खनालले अब पार्टीको जिम्मा नयाँ पुस्तालाई लगाउने भन्नुभएको रहेछ, यसमा तपाईंको धारणा के छ ?

यो राम्रो कुरा हो । वास्तवमा सैद्धान्तिक र वैचारिक रूपमा हेर्ने हो भने नयाँ पुस्तालाई नेतृत्व दिने चाहिं सधैंभरि राम्रो कुरा हो । तर त्यसको व्यावहारिक प्रयोग कसरी हुन्छ, त्यसको पनि एउटा विधि र प्रक्रिया हुन्छ । नेता बनाउने भन्ने कुरा कार्यकर्ताले महाधिवेशनबाट बनाउने हो । महाधिवेशनले कुनै अमूक व्यक्तिलाई नेता बनाउन स्वीकार गर्नुपर्छ । नयाँ नेतृत्वलाई अगाडि बढाउनुपर्छ, यो एकदम ठीक हो । तर त्यो व्यावहारिक रूपमा कसरी लागू हुनसक्छ भन्ने अर्काे पक्ष छ । यी कुराहरूलाई ख्याल गर्नुपर्छ ।

केपी ओलीसँगको वार्ता अब तपाईंहरूले कति कुर्ने हो, कुनै समयसीमा छ ?

अब उहाँहरू धेरै कुर्नुहुन्छ । प्रष्ट रूपमा उहाँहरूलाई बताउनुपर्छ । गर्ने हो भने समयमा गरौं, हाम्रा एजेण्डा प्रष्ट छन् । नगर्ने हो भने अहिले छोडौं, आ–आफ्नो तरिकाले अगाडि बढौं । अर्काे पार्टी बनाएपछि पनि हामी फेरि एकताबद्ध हुनसक्छौं । एकताको ढोका सधैं बन्द हुँदैन । अब ओलीलाई धेरै कुर्ने पक्षमा छैनौं किनभने उहाँको प्रतिगमनको यात्रा निरन्तर जारी छ ।

अब माधवकुमार नेपाल, झलनाथ खनाल लगायत हामी कसैको पनि उहाँलाई आवश्यकता छैन । राजेन्द्र महतो र महन्थ ठाकुरजी सबैभन्दा नजिकको मित्र शक्तिको रूपमा उहाँले ठान्नुभएको छ । हामीलाई पाखा पारेर महन्थ र राजेन्द्रलाई सँगै लिएर उहाँ अगाडि जान चाहनुहुन्छ । उहाँले के गर्न खोज्दै हुनुहुन्छ भन्ने कुराको योभन्दा ठूलो प्रमाण केही चाहिन्छ र ?

यो पनि पढ्नुहोस माधव समूहको निचोड : एकताको प्रयास गर्ने, तर वार्ता नलम्ब्याउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment