Comments Add Comment

कोपा अमेरिकाको विपक्षमा खेलाडी

२३ जेठ, काठमाडौं । यही जुन १३ देखि ब्राजिलमा तय गरिएको कोपा अमेरिका फुटबल तोकिएको मितिमा सुरु हुनेमा अझै अन्योल छ ।

दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो र विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७औं संस्करण आयोजनाको विपक्षमा खेलाडीहरु नै छन् ।

यसअघि अर्जेन्टिनामा हुने भनिएको कोपा कोरोनाको कारण ब्राजिलमा सारिएको थियो । तर ब्राजिलकै कप्तान कासेमिरोसहित खेलाडीहरु र अन्य देशका खेलाडीहरु पनि यसको विपक्षमा छन् ।

प्रतियोगिता सुरु हुनु एक साता बाँकी रहँदा यसको अनिश्चितता बढेको छ । सुरुमा अर्जेन्टिना र कोलम्बिया आयोजकको रुपमा थिए । राष्ट्रपतिविरुद्ध प्रदर्शनका कारण कोलम्बयालाई आयोजकबाट हटाइएको थियो ।

केही देशका कप्तानहरु कोपा अमेरिका अहिलेको अवस्थामा रोक्न चाहन्छन् । ब्राजिलका कप्तान कासेमिरो यसअघि विश्वकप छनोट अन्तर्गत इक्वेडरविरुद्धको खेलअघि प्रिम्याच कन्फ्रेन्समा पनि उपस्थित भएनन् ।

कासेमिरोसँगै नेमारले प्रतियोगिता तोकिएकै समयमा सुरु गर्ने वा नगर्ने भनेर अन्य देशका कप्तानहरुसँग छलफल गरेका थिए ।

यस्तै कोलम्बियाका जुवान क्वाड्राडोले पनि प्रतियोगिताको विपक्षमा छन् । कोलम्बियन एसोसिएसन अफ प्रोफेसनल पुटबलर्सले स्टेटमेन्ट जारी गर्दै कोभिड-१९ को चुनौतीका बेला प्रतियोगिता गर्ने विषयमा चिन्ता व्यक्त गरेको छ । त्यसलाई क्वाड्राडोले सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन् ।

यसैगरी उरुग्वेका खेलाडी लुइस सुआरेज, एडिनसन कभानी र फर्नान्डो मुस्लेराले सार्वजनिक रुपमै प्रतियोगिताको विषयमा आपत्ति जनाएका छन् । ‘तपाईंले स्वास्थ्यमा प्राथमिकता दिनुपर्छ । म कोपा अमेरिका खेलाउने विपक्षमा छु,’ सुआरेजले भनेका छन् ।

अर्जेन्टाइन कप्तान लिओनल मेस्सीले भने अहिलेसम्म यसबारे सार्वजनिक रुपमा धारणा राखेका छैनन् । तर मुन्डो डेपोर्टिभोका अनुसार मेस्सीले ब्राजिलियन खेलाडीहरुसँग उस्तै विचार राखेका छन् ।

स्पेनबाट अर्जेन्टिना पुगेपछि सर्जियो अगुएरोले यसअघि नै ब्राजिलमा प्रतियोगिता गर्न गाह्रो भए त्यहाँ खेल्न नसकिने प्रतिक्रिया दिएका थिए ।

दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले भने ब्राजिलमा जुन १३ देखि नै प्रतियोगिता सुरु गर्न योजना अघि बढाइसकेको छ र चार शहरमा कोपा अमेरिका गर्ने जनाएको छ ।

उद्घाटन खेल जुन १३ मा ब्राजिल र भेनेजुएलाबीच हुने तय छ ।

(मार्काको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment