Comments Add Comment
अन्तर्वार्ता :

एमालेका दुई समूह मिले हामीलाई आपत्ति छैन

६ जेठमा सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दियो । यससँगै एकीकृत माओवादी केन्द्रबाट नेकपा एमाले गएका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा पदमुक्त भए ।

यस बीचमा संसद विघटन भएको छ, त्यसैले उनीहरू पुनः मन्त्री हुने आशामा छन् । तर, उनीहरू विरुद्ध सर्वोच्चमा परेको मुद्दाको किनारा लागिसकेको छैन । यसैबीच शुक्रबार प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतोलाई सरकारमा सामेल गरेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै माओवादीबाट एमाले प्रवेश गरेका सातै माओवादी नेता मन्त्री हुने सम्भावना क्षीण भएको छ ।

यसै सन्दर्भमा सो समूहको प्रधानमन्त्री केपी ओलीसँग भइरहेको वार्ता र उनीहरूको योजनाको विषयमा निवर्तमान मन्त्री मणि थापासँग कमलदेव भट्टराईले गरेको कुराकानी :

जसपाका केही नेता सहभागी भएर मन्त्रिमण्डल विस्तार भएको छ, तपाईंहरू फेरि सरकारमा जाने विषयमा प्रधानमन्त्रीसँग केही कुरा भएको छ ?

यो विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चबाट निर्णय भइसकेपछि मन्त्रिमण्डल पुनर्गठन गर्दा राम्रो हुन्थ्यो भन्ने हाम्रो राजनीतिक सुझाव रह्यो प्रधानमन्त्रीज्यूलाई । मुख्यतः चासो छैन भन्ने होइन, सर्वोच्चको अन्तरिम आदेशले नै हामीलाई रोक्यो ।

प्रधानमन्त्रीसँग के कुराकानी भइरहेको छ ?

हाम्रो व्यक्तिगत कुराकानी भएको छैन । हामी व्यक्तिगत रूपमा त्यति इच्छुक पनि छैनौं । सर्वोच्चको निर्णयपछि गर्दा नै राष्ट्रिय राजनीतिमा यसको इम्प्रेसन राम्रो हुनेथियो भन्ने हाम्रो लजिक छ । दोस्रो चाहिं यो वामपन्थीहरूको जनमत हो । वामपन्थीहरूलाई अलिकति सुदृढ गर्ने कुरा गर्दा पनि राम्रो हुन्छ भन्ने खालको सुझाव थियो हाम्रो । एउटा सर्वोच्चको मुद्दाको विषय हो, अर्को राजनीतिक अवस्थामा हतारिनुहुन्न भन्ने छ ।

ठूलो संख्यामा जसपाबाट मन्त्रीहरू बनेपछि तपाईंहरू सात जनालाई नै सरकारमा समेट्न सकिने अवस्था त अब क्षीण भयो नि ?

यसलाई हामीले त्यति ठूलो विषय बनाएका छैनौं । त्यो बेलामा एउटा क्रिटिकल अवस्था थियो, हामीले केपी कमरेडलाई समर्थन गर्‍यौं । अवस्था अलिक फरक भयो । सर्वोच्चले के निर्णय गर्छ, त्यो आफ्नो ठाउँमा छ । उहाँलाई हामीले अहिले नेतृत्व मानिसकेपछि अब भागबण्डा हुनुपर्छ भन्ने चाहिं हाम्रो धारणा छैन ।

तर तपाईंहरू माओवादीबाट एमालेमा आएपछि सन्तुलनको हिसाबले पनि सरकारमा निरन्तरता हुनुपर्ने हो भन्ने तपाईंहरूको सोचाइ हो ?

त्यो त चाहियो । यो नेतृत्वले सोच्ने विषय हो । नेतृत्वले कति दूरदर्शी भएर रणनीतिक हिसाबले सोच्छ, कति राजनीतिक रूपमा सोच्छ त्यो नेतृत्वको विषय भयो । तर हाम्रो माग के हो भने वामपन्थी आन्दोलन कमजोर नहोस् र नयाँ खालको ध्रुवीकरणको आवश्यकता छ भन्ने हो ।

एमालेभित्र एकताको लागि २ जेठ २०७५ मा फर्कने विषयमा कुराकानी भइरहेको छ, यसमा तपाईंहरूको धारणा के छ ?

हामीले २ जेठ २०७५ मा नै तपाईंहरूको कुरा मिल्छ भने तपाईंहरू मिलाउनुस् भनेका छौं । बरु अहिले हामी बाहिर बस्न तयार छौं । हामीले प्रधानमन्त्रीलाई माधव कमरेडहरूलाई कसरी मिलाउने हो, त्यो तपाईंहरूको आन्तरिक कुरा हो भनेका छौं ।

हाम्रो कारणले अथवा पूर्व माओवादी आए त्यसकारण हामी आउन पाएनौं भन्नुभयो भने त्यो माधव कमरेडको पनि दृष्टिदोष हुन्छ । अहिले भन्दा २० दिन अगाडि नै हामीले हामी बाधक हुँदैनौं भनेका छौं । २ जेठ २०७५ मा आउने भए आउनुस् र तपाईंहरूको भित्री समस्या के छ हल गर्नुस् भनेका छौं । २ जेठ २०७५ मा फर्कन हामी बाधक हुँदैनौं भनेर टोपबहादुरजीले १५–२० दिन पहिले नै प्रधानमन्त्रीलाई भन्नुभएको थियो । हामी दुई–चार महीना नै बाहिर बस्न तयार छौं ।

नेकपा फुट्यो, नेकपा फुट्दा हामीले पहिलो अध्यक्षलाई समर्थन गरेका हौं । एमाले र माओवादीको अस्तित्व सिर्जना गर्ने काम अदालतले गर्‍यो । राजनीतिक निर्णय के हो भने नेकपा बन्यो र नेकपा फुटेको हो । त्यसैले हामीले पहिलो अध्यक्षलाई समर्थन गरेको हो ।

अहिले जुन जनमत आएको छ, त्यो नेकपाको जनमत हो । अहिलेको हाम्रो उद्देश्य वामपन्थी सरकार बचाउने हो र त्यसलाई जोगाउन दक्षिणपन्धीहरूको पनि सहयोग लिनुपर्छ । तर वामपन्थीहरूलाई नै बलियो नबनाई वामपन्थी सरकार स्थायी चाहिं हुँदैन । तर रणनीति साझेदार को हुन् र कार्यनीति साझेदार को हुन् भन्ने चाहिं स्पष्ट हुनुपर्छ ।

भनेपछि एमालेको दुई समूह २ जेठ २०७५ मा फर्केमा तपाईंहरूको कुनै अब्जेक्सन हुन्न ?

त्यसमा हाम्रो कुनै पनि खालको अब्जेक्सन हुन्न । हामी बाहिर नै बस्न तयार छौं । उहाँहरूको एकतामा हामी बाधक बन्दैनौं ।

तपाईंहरू केपी ओलीसँग नै रहने हो, त्यसमा दायाँ–बायाँ हुँदैन ?

अहिलेको समकालीन नेताहरूमा अलिकति राष्ट्रवादी, विकासप्रेमी र बलियो नेताको रूपमा केपी ओली हुनुहुन्छ । त्यो लेबलको अरू नेता छैन, उहाँलाई बचाउनुपर्छ । उहाँलाई हाम्रो समर्थनमा दायाँ–बायाँ हुँदैन ।

एमालेमा तपाईंहरूले कुनै खालको असजिलो त महसूस त गर्नुभएको छैन नि ?

अहिले त्यस खालको अवस्था छैन । नेपालका कम्युनिष्ट पार्टीहरू गुटहरूको महासंघ जस्तो छ । यहाँ जता पनि गुटहरू छन् । गुटहरू विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय केन्द्रसँग जोडिएको जस्तो देखिन्छ । त्यो भएको हुनाले काम गर्ने शैली नमिल्न सक्छ ।

हामी माओवादीहरू आन्दोलनबाट आएका हौं, एमालेका साथीहरू लामो संसदीय प्रणाली पार गरेर आएका हुन् । संसदीय प्रणाली धेरै नबुझेका हामी माओवादी छौं । हामीलाई संसदीय प्रणालीप्रति आसक्ति छैन, एमालेलाई संसदीय प्रणाली नै युनिभर्सल हो भन्ने छ । यहाँ काम गर्ने मामिलामा केलाई प्राथमिकता दिने, केलाई गौण मान्ने भन्ने विषयमा केही मतान्तरहरू हुनसक्छन् । तर समकालीन नेताहरूको तुलनामा केपी ओलीले नै सबैलाई जोगाएर लैजान सक्छन् ।

समग्र वामपन्थी एकताको बारेमा तपाईंहरूको धारणा के छ ?

यो हामीले भन्दै आएका छौं । नेपालका सबै वामपन्थीहरूको बीचमा एकता खोजिनुपर्छ । नेपालका वामपन्थी जनताको रक्षा गर्न सकेनौं भने भारतको पश्चिम बंगालको दिशामा जान्छ । पार्टी र नेताको स्वार्थ भन्दा पनि जनमतलाई बलियो बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment