
२४ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदहरुले गिट्टी-बालुवा उत्खनन् गरी भारत निकासी गर्ने संघीय सरकारको नीतिप्रति आपत्ति जनाएका छन् । यो नीतिले समग्र प्रदेश २ मा प्रतिकूल असर पर्ने उनीहरुको भनाइ छ ।
सोमबारदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसदहरुले संघीय सरकारले चुरे विनाश गर्न ल्याएको नीति सच्याउनु पर्ने बताए ।
नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतोले चुरे विनाश गर्नका लागि ल्याइएको नीति सच्याउनुपर्ने बताए । चुरेको संरक्षण गर्नुपर्नेमा यसको विनाश गर्नका लागि कदम चाले आफूहरु उक्त विषयलाई जीवनमरणको सवाल बनाउने उनले बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले विनाश हुँदै गएको चुरेको संरक्षण गर्नुपर्नेमा विनाश गर्न खोज्न अन्याय हुने बताए । ‘संघीय सरकारको यो नीतिले प्रदेश २ का जनतालाई विस्थापित हुने अवस्था आउँछ । र, जमिन मरुभूमि बन्छ,’ उनले भने ।
विज्ञहरुसँग छलफल गरेर यस्तो निर्णय लिनुपर्नेमा संघीय सरकारले व्यापार घाटा कम गर्ने भन्दै यस्तो नीति ल्याउनु ठीक नभएको उनले बताए ।
‘पहिला जनकपुरधाममै ५० देखि ६० फिटसम्म पानी आउँथ्यो, अहिले ५ सयदेखि ६ सय फिटसम्म पानी आइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा चुरेको संरक्षण गर्नुपथ्र्यो । तर, विनाश गर्न खोज्ने निर्णय फिर्ता हुनुपर्छ ।’
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले बालुवा, गिट्टी बेचेर व्यापार घाटा कम गर्ने संघीय सरकारको नीतिको आलोचना गरे । उनले चुरेसँग खेल्न खोजे यहाँको मानव जातिमा प्रतिकूल असर पर्ने बताए । ‘अन्न भण्डार हुने मधेशको सुरक्षा कबच नै चुरे हो,’ उनले भने, ‘यहाँको बालुवा, गिट्टी उत्खनन् गरिए मधेश झन् जोखिममा पर्छ ।’
प्रतिक्रिया 4